बैशाख २४ गते, बिहीबार (आज) संवैधानिक परिषद्को बैठक अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको छ। संवैधानिक परिषद् सचिवालयले बुधबार पत्र जारी गर्दै बैठक बोलाएको हो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बैठक बोलाइएको हो। बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी सहभागी हुनेछन्।
हाल सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदहरू रिक्त छन्। संवैधानिक परिषद् बैठक नबस्दा प्रधानन्यायाधीशको जिम्मेवारी कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्लले सम्हाल्दै आएकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्का अध्यक्षको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। नयाँ अध्यादेशअनुसार संवैधानिक परिषद् बैठकको गणपूरक संख्या चार कायम गरिएको छ भने गणपूरक संख्याको बहुमतबाट निर्णय गर्ने प्रावधान राखिएको छ।