सुकुम्वासी बस्तीमा डोजर आतंक नचलाउन काँग्रेसको चेतावनी

सुकुम्वासी बस्तीमा डोजर आतंक नचलाउन काँग्रेसको चेतावनी

  • मङ्लबार, बैशाख २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले सुकुम्बासी व्यवस्थापनको नाममा ‘डोजर आतंक’ मच्चाएको आरोप लगाउँदै सच्याएन भने प्रतिकार गर्ने चेतावनी दिएका छन्।

पार्टीको संसदीय समन्वय बोर्डको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता आङदेम्बेले सरकारको कार्यशैली मानवीय मूल्य र मान्यताविपरीत रहेको बताए।

उनले सुकुम्बासी बस्ती हटाउने नाममा राज्यले जनतालाई मर्न बाध्य पारेको भन्दै चिन्ता व्यक्त गरे। वास्तविक सुकुम्बासीको लगत संकलन नगरी हचुवाका भरमा डोजर चलाउँदा होल्डिङ सेन्टरहरूमा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था दयनीय बनेको र केही व्यक्तिको मृत्युसमेत भइसकेको उनले उल्लेख गरे। राज्यले आफ्नो व्यवहार नसच्याए सहयोगी हातहरू प्रतिवाद र प्रतिकारमा उत्रने चेतावनी दिँदै उनले यसको जिम्मेवार सरकार नै हुनुपर्ने बताए।

उनले भने, “नदी किनारालाई व्यवस्थित गर्ने र सफा बनाउने कार्यमा हाम्रो सकारात्मक सहयोग रहन्छ, तर सुकुम्बासी उठाउने नाममा राज्यले जसरी आतंक मच्चाइरहेको छ, यसले मानवीय संवेदना र कानूनी पाटो दुवैलाई उल्लंघन गरेको छ। संवैधानिक आयोगहरूलाई आफ्नो नियन्त्रणमा राख्ने ढंगबाट सरकार अगाडि बढेको छ, यसको विरुद्ध हामी संसदमा संशोधन प्रस्तावसहित संसदीय प्रक्रियाअनुसार सशक्त रूपमा प्रस्तुत हुनेछौँ।”

नेता आङदेम्बेले सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक निकायहरूमा आफ्नो अनुकूलका व्यक्ति नियुक्त गर्न खोजेको भन्दै आपत्ति जनाए। उनले संसद छलेर अध्यादेशमार्फत शासन चलाउन खोज्नुले सरकारको ‘कुनीयत’ स्पष्ट भएको टिप्पणी गरे।

संसद अधिवेशनको मिति पटक–पटक सार्ने र हठात् आह्वान गर्ने कार्यले जनभावनाको अपमान गरेको उनको ठहर छ। सरकारका जनविरोधी निर्णयको विरुद्ध संसदमा रहेका अन्य विपक्षी दलहरूसँग पनि समन्वय भइरहेको नेता आङदेम्बेले जानकारी दिए। मुद्दाका आधारमा विपक्षी दलहरू एकै ठाउँमा आउने पहल भइरहेको र संसदमा सामूहिक रूपमा सरकारको कार्यशैलीको प्रतिवाद गरिने उनले बताए।

संसदीय समन्वय बोर्डको अभ्यासबारे प्रष्ट्याउँदै उनले पार्टीले यसअघि गरेका निर्णयहरूको कार्यान्वयन र आगामी संसदीय रणनीतिबारे बोर्डमा गहन छलफल भएको जानकारी समेत दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ