गुल्सनको घातक बलिङपछि ओमन बिरुद्ध नेपालको शानदार जीत

गुल्सनको घातक बलिङपछि ओमन बिरुद्ध नेपालको शानदार जीत

  • मङ्लबार, बैशाख २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

२३ वैशाख, काठमाडौं । आसिफ शेखको अर्धशतकीय ९४ रन र गुल्सन झाको ओडीआई करियरकै उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतमा नेपालले ओमानमाथि ८१ रनको शानदार जित हात पारेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टु सिरिजको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २५६ रनको लक्ष्य दिएको थियो। जवाफमा ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो।

नेपालका स्टार स्पिनर गुल्सन झा ओमानका लागि घातक सावित भए। उनले ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए। यो उनको ओडीआई करियरमा दोस्रो पटक पाँच विकेट लिएको सफलता हो। यसअघि पनि सन् २०२४ सेप्टेम्बरमा क्यानडामा ओमानविरुद्ध नै उनले ५ विकेट लिएका थिए।

गुल्सनको यो उत्कृष्ट बलिङका कारण ओमानले ४० ओभर पनि पूरा ब्याटिङ गर्न सकेन। ओमानका लागि विकेटकिपर विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाए भने हम्मद मिर्जाले ३४ तथा हसनैन वाहावले २९ रन जोडे। तर, अघिल्लो खेलमा नेपालविरुद्ध शतक बनाएका कप्तान जतिन्दर सिंह १२ रनमा मात्रै आउट भए, भने वासिम अली १० रनमा सीमित भए।

नेपालका लागि करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र उपकप्तान दीपेन्द्र सिंह ऐरीले समान एक÷एक विकेट लिए।

ब्याटिङमा आसिफ र अर्जुनको ठूलो साझेदारी, आरिफको केमियो प्रदर्शन

टस जितेर पहिला ब्याटिङ गरेको नेपालका ओपनर विनोद भण्डारी दोस्रो ओभरमै खाता नखोली आउट भए। तर, त्यसपछि अर्का ओपनर आसिफ शेखले अर्जुन कुमालसँग मिलेर दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरे।

आसिफले ९७ बल खेल्दै ७ चौका र एक छक्काको मद्दतमा ९४ रन बनाए। शतक बनाउनबाट ६ रनले चुकेका उनी ३५औं ओभरको तेस्रो बलमा बाउन्ड्री लाइन नजिक क्याच आउट भए। यो ओडीआईमा आसिफको १४औं अर्धशतक हो। उनले ६६ ओडीआई खेलमा एक शतक र १४ अर्धशतक बनाइसकेका छन्।

अर्जुन कुमालले संयमित ब्याटिङ गर्दै ८७ बल खेलेर ४ चौकाको मद्दतमा ४८ रन बनाए, तर अर्धशतकबाट २ रनले चुके। उपकप्तान दीपेन्द्र सिंह ऐरीले ४२ बलमा एक चौकासहित ३३ रन बनाए भने गुल्सन झाले २३ बलमा २ चौका प्रहार गरी १७ रन जोडे।

नेपालको अन्तिम ओभरको रोमाञ्चक ब्याटिङले टोलीलाई सम्मानजनक स्कोरमा पुर्यायो। ४९ ओभरमा २३७/९ को अवस्थामा रहेको नेपाललाई आरिफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेर बलियो स्थितिमा ल्याइदिए। उनले २४ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरी ४३ रन बनाए। तर, अन्तिम ओभरको पाँचौ बलमा आरिफ आउट भएपछि नेपाल एक बल अगाडि नै अलआउट भयो।

यो जितसँगै नेपालले चार खेलको सिरिजमा तेस्रो जित हात पार्दै ६ अंक जोडेको छ। यसअघि नेपालले युएईलाई ३६ रन र ६ रनले हराएको थियो भने ओमानसँग १०२ रनले पराजित भएको थियो। आजको जितले नेपालले ओमानविरुद्धको अघिल्लो हारको बदला पनि लियो।

२४ खेलमा १८ अंक जोडेको नेपाल ८ टोलीको लिग टुमा सातौं स्थानमा यथावत रहेको छ। अब नेपालले अमेरिका र स्कटल्यान्ड सम्मिलित लिग टु को अर्को शृंखला यही वैशाख २९ गतेदेखि घरेलु मैदानमै खेल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी