विद्यार्थीले राजनीति गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री बालेन

विद्यार्थीले राजनीति गुरुबाट सिकून्, नेताको भीडबाट होइन : प्रधानमन्त्री बालेन

  • मङ्लबार, बैशाख २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

काठमाडौँ, वैशाख २२ । प्रधानमन्त्री बालेन शाहले विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिक्नुपर्ने, नेताको भीडबाट होइन भन्ने चाहना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा मङ्गलबार एक स्ट्याटस लेख्दै उनले यस्तो धारणा राखेका हुन्।

प्रधानमन्त्री शाहले भनेका छन् :
“विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन। कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन। हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून्, कुनै दलको होइन।”

अध्यादेशमार्फत दलगत कर्मचारी संगठन तथा विश्वविद्यालयमा विद्यार्थी संघ–संगठन हटाउने सरकारको निर्णयको प्रतिरक्षा गर्दै उनले ती संस्थाहरू दलहरूको ‘स्लिपर सेल’ (गुप्त इकाई) भएको समेत टिप्पणी गरे। उनका अनुसार यी संरचना दलको छत्रछायामा हुर्किए, जसले प्रणालीलाई नै कमजोर बनायो।

प्रधानमन्त्री बालेनले लेखेका छन् :
“धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन् – विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगाऱ्यो। वर्षौंदेखि धेरैजसो संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका स्लिपर सेल बने। योग्यताभन्दा पहुँच, क्षमताभन्दा झोला र झण्डाको मूल्य बढाइयो। यसले प्रणालीप्रति जनताको विश्वास कमजोर बनायो।”

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउन चाहेको तर संगठन बनाउन नसकेर नगरेको आरोप गलत भएको उनको भनाइ छ। चाहेको भए आजै ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सकिने पनि उनले बताए।

“तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ – विगतले यही देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो : शिक्षालयमा दलको झण्डा निषेध, कर्मचारीतन्त्रमा दलको झोला निषेध। यसले अधिकार खोस्दैन, बरु पेसागत स्वतन्त्रता बलियो बनाउँछ। अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता हुनुपर्छ।”

आफूहरूको यो प्रयास कुनै पार्टीविरुद्धको लडाइँ नभई प्रणाली र भविष्य बचाउने अभियान भएको उनले जिकिर गरेका छन्। अन्त्यमा उनले भनेका छन् :

“यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो। तपाईंको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाईंहरूकै जनचाहनाबमोजिम काम गर्न सरकारमा आएका हौं। तपाईं ढुक्क हुनुहोस्, हामी जे गर्छौं आम नेपाली जनताकै हितमा गर्छौं।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ