पुराना सबै खराब हुन् भन्ने भाष्य समाजका लागि घातक : गगन थापा

पुराना सबै खराब हुन् भन्ने भाष्य समाजका लागि घातक : गगन थापा

  • शनिबार, बैशाख १९, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

२० वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गौरवशाली इतिहास, मूल्यमान्यता तथा पुराना नेताहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

शनिबार नेता दमन पाख्रिनको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले समाजमा स्थापित गर्न खोजिएको ‘पुरानो हुनु भनेको खराब हुनु हो’ भन्ने भाष्य राष्ट्र र समाजका लागि घातक हुने बताए।

“पुरानोलाई थोत्रो वा खराब मान्ने र नयाँलाई मात्र असल ठान्ने प्रवृत्तिले समाजको अनुभव र विवेक (विजडम) नष्ट गर्छ,” सभापति थापाले भने, “यदि नयाँ पुस्ताले आफ्नो इतिहास, संस्कृति र पुर्खाको योगदानमा गर्व गर्न छाड्यो भने राष्ट्रको अस्तित्व नै सङ्कटमा पर्न सक्छ।”

उनले नेपाली कांग्रेसको विरासत दमन पाख्रिन, दुर्गानन्द झा, रामनारायण मिश्रजस्ता योद्धा र विद्रोहीहरूको बलिदानीपूर्ण इतिहासमा आधारित रहेको स्मरण गर्दै यसको जगेर्ना गर्ने मुख्य जिम्मेवारी पार्टीकै रहेको स्पष्ट पारे।

पार्टीको आन्तरिक सुदृढीकरणका विषयमा बोल्दै सभापति थापाले सार्वजनिक पदमा रहेका कांग्रेसका प्रतिनिधिहरूलाई सुशासन कायम गर्न निर्देशन दिए। पार्टी सञ्चालनका लागि कसैले पनि नेता वा पार्टी खातामा अवैध रकम जम्मा गर्न नपर्ने र लेभी (अङ्कित दस्तुर) प्रणालीबाटै पार्टी चल्नुपर्ने धारणा राखे।

“स्थानीय तहदेखि प्रदेश सरकारसम्म जिम्मेवारीमा रहेका कुनै पनि व्यक्तिले एक सुक्का पनि तलमाथि गरेको कुरा स्वीकार्य हुँदैन,” उनले भने, “सुशासनको सन्दर्भमा पार्टीले शून्य सहनशीलताको नीति लिनेछ।”

सभापति थापाले आगामी हप्तादेखि सातै प्रदेशको भ्रमण गर्ने र प्रदेश तथा स्थानीय सरकारका प्रमुखहरूसँग नीति, कार्यक्रम, बजेट र सुशासनका विषयमा छलफल गर्ने जानकारी दिए। सातै प्रदेशका स्थानीय सरकारका प्रतिनिधिहरूलाई बोलाएर अर्थतन्त्रमा विद्यमान सङ्कट र प्रदेशस्तरीय प्राथमिकताका विषयमा पार्टीले ठोस संवाद गर्ने उनको भनाइ थियो।

पार्टीभित्र बृहत्तर एकताको आवश्यकता औँल्याउँदै सभापति थापाले नेतृत्वको हैसियतले सबैलाई समेट्न आफू उदार र लचिलो हुन तयार रहेको बताए।

“घरभित्रका साथीहरूलाई मात्र होइन, कांग्रेस बाहिर रहेको ठूलो जमात र नयाँ पुस्तालाई पनि पार्टीमा जोड्नुपर्ने छ,” उनले थपे, “८० वर्षका वृद्धदेखि २५–३० वर्षका युवाहरूसम्मलाई उचित स्थान दिएर कांग्रेसलाई सबै जाति, समुदाय र उमेर समूहको साझा पार्टी बनाउनु हाम्रो प्राथमिकता हो।”

विभिन्न नेताहरूको नाममा स्थापित प्रतिष्ठानहरूलाई व्यवस्थित बनाउन पार्टीले नै विशेष पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ