नागरिकलाई युद्धअपराधी जस्तो व्यवहार नगर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी

नागरिकलाई युद्धअपराधी जस्तो व्यवहार नगर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी

  • शुक्रबार, बैशाख १८, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैली र लोकतान्त्रिक मूल्यमान्यताप्रति गम्भीर प्रश्न उठाएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले सरकारलाई विधि र प्रक्रियाको सम्मान गर्न सचेत गराए ।

पछिल्लो समय आफ्नो मौनतालाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रतिपक्षी दलको हैसियतले अब ‘मौनता तोड्ने’ बेला आएको बताए । सरकारलाई बहुमतको अहङ्कारमा नअल्झिन चेतावनी दिँदै उनले ‘कानुनको शासन’ र ‘कानुनद्वारा शासन’ बिचको भिन्नता बुझ्न आग्रह गरे ।

‘लोकतन्त्रमा सरकार कानुनको सेवक हुनुपर्नेमा वर्तमान सरकारले कानुनलाई ‘लठ्ठी’ बनाएर नागरिकमाथि प्रहार गर्न खोजेको छ,’ थापाले भने, ‘अतिक्रमण हटाउने अधिकार सरकारलाई छ, तर आफ्ना नागरिकसँग युद्ध अपराधीजस्तो व्यवहार गर्न मिल्दैन ।’ उनले कानुनको शासनमा परिणामजत्तिकै प्रक्रिया पनि महत्त्वपूर्ण हुने बताउँदै भने, ‘हामी सभ्य र विनम्र भएर प्रश्न गर्छौँ, खबरदारी गर्छौँ र विकल्प पनि सुझाउँछौँ । तर, सरकारले हाम्रो विनम्रतालाई कमजोरी नठानोस् । हामी नम्र छौँ तर कमजोर छैनौँ ।’

संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशप्रति लक्षित गर्दै उनले संवैधानिक संरचनाको सन्तुलन बिगार्न खोजिएको आरोप लगाए । संवैधानिक परिषद् राज्यको अङ्ग भएको र यसमा प्रतिपक्षी दलको पनि भूमिका हुने भएकाले यसको बनोट फेर्न खोज्नु अलोकतान्त्रिक भएको उनको तर्क छ । निर्वाचनले रास्वपालाई सरकार चलाउने र कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको उल्लेख गर्दै उनले कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।

देशको वर्तमान आर्थिक अवस्थाप्रति इङ्गित गर्दै थापाले अर्थतन्त्र ‘कोमा’मा जान लागेको संकेत गरे । ‘दैनिक ज्यालादारी गर्ने मजदुरदेखि ठूला व्यवसायीसम्म आर्थिक मन्दीको चपेटामा छन्,’ उनले भने, ‘तर सरकार परिणाममुखी काममा लाग्नुको सट्टा प्रचारमुखी कार्यमा रमाएको छ ।’ सुशासनका लागि गरिने हरेक सकारात्मक कार्यमा कांग्रेसको साथ रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

कूटनीतिक विषयमा बोल्दै थापाले भारतले नेपाली चियामा लगाएको कर र चीनसँगको नाकामा देखिएको अवरोधले नेपाली उद्यमी मारमा परेको बताए । प्रभावकारी कूटनीतिक संवादमार्फत नेपाली उत्पादनलाई सहुलियत दिलाउन उनले सरकारलाई आग्रह गरे । लिपुलेक हुँदै मानसरोवर जाने बाटो खोल्ने सन्दर्भमा नेपालको उपस्थिति र अडान स्पष्ट हुनुपर्नेमा उनले जोड दिए ।

ट्रेड युनियनहरू राजनीतिक दलको प्रभावबाट मुक्त भई श्रमिकको मुद्दामा केन्द्रित हुनुपर्ने बताउँदै थापाले भने, ‘युनियनको नेतृत्वले पार्टीको मुख ताक्ने होइन, तल श्रमिकको अवस्था हेर्ने हो ।’ गिग इकोनोमी र अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्नुपर्ने तथा न्यूनतम पारिश्रमिकमा काम गरिरहेका स्वास्थ्य, शिक्षा र सेवाका श्रमिकलाई संगठित गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए । पार्टीभित्र आत्मचिन्तन भइरहेको उल्लेख गर्दै उनले आगामी महाधिवेशनमा सदस्यता र कार्यशैलीमा व्यापक परिवर्तन हुने प्रतिबद्धता व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ