गण्डक नहर क्षेत्रको अतिक्रमण हटाइयो

गण्डक नहर क्षेत्रको अतिक्रमण हटाइयो

  • आइतवार, बैशाख १३, २०८३
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

वीरगञ्ज (पर्सा), १३ वैशाखः
जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आइतबारदेखि सुरू गरिएको अभियानअन्तर्गत पहिलो दिन गण्डक नहर क्षेत्र अतिक्रमण गरेर बनाइएका ३ सय २५ भौतिक संरचनाहरू हटाइएका छन्। बिहानैदेखि डोजर प्रयोग गरी यो अभियान सुरू गरिएको थियो। यस क्रममा पहिलो दिन पर्सा जिल्लाका विभिन्न स्थानीय तहमा अतिक्रमित गण्डक नहरको जग्गालाई अतिक्रमणमुक्त बनाइएको हो।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत इन्जिनियर सुरेश साहका अनुसार, यो अभियानमा कार्यालयको एउटा, यान्त्रिक सिँचाइ व्यवस्थापन कार्यालयको एउटा र विभिन्न स्थानीय तहका २ गरी चार डोजर परिचालन गरिएको थियो।

नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको कार्यालयले जनाएको छ । आज बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको सुरक्षामा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने काम भइरहेको छ ।

कार्यालय प्रमुख मनोजप्रसाद पटेलले पर्सा जिल्लामा पर्ने नहरको करिब २६ किलोमिटर क्षेत्रफलमा अतिक्रमण हटाउने कार्य सुरुआत गरिएको जानकारी दिनुभयो । “गण्डक नहरको दुवैतर्फ चार वटा ‘एस्काभेटर’ प्रयोग गरेर अतिक्रमण हटाउने कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “हाल पर्सामा हुरीसहितको पानी परेर प्रतिकूल मौसम भए पनि बिहानैदेखि अतिक्रमण हटाउने काम सुरु गरेका हौँ ।”

नेपाल र भारतबीच सन् १९५६ डिसेम्बर ४ तारिखमा गण्डक सिँचाइ तथा जलविद्युत् आयोेजना सम्झौता भएको थियो । सम्झौताअनुसार दुवै मुलुकमा सिँचाइ गर्र्ने उद्देश्यसहित भारत सरकारद्वारा नारायणी नदीमा ब्यारेज निर्माण गरी सिँचाइ प्रणाली विकास गरिएको थियो ।

उक्त सिँचाइ योजनाअन्तर्गत पर्सा, बारा र रौतहटका दक्षिणी भेगको ३७ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइका लागि भारतीय पक्षले आठ सय ५० क्युसेक क्षमताको पानी आउने गण्डक नहर निर्माण गरेर सन् १९७५ र १९७६ मा नेपाललाई हस्तान्तरण गरेको थियो ।

गण्डक नहर भारतीय भूमि हुँदै नेपाल–भारतको सीमाक्षेत्र जानकीटोला हुँदै पर्सामा पानी भित्रिने गर्छ । यो नहर नेपालतर्फ ८१ किलोमिटर लम्बाइ रहेको छ भने नहरको नौ वटा वितरण संरचना र ८७ वटा अन्य संरचनामार्फत पर्सा, बारा र रौतहटमा सिँचाइ गर्ने गरिन्छ ।

कार्यालय प्रमुख पटेलले सम्झौताअनुसार तीन जिल्लाको ३७ हजार ४०० हेक्टर क्षेत्रमा सिँचाइ हुनुपर्ने भए पनि हाल २८ हजार हेक्टर क्षेत्रफलमा मात्रै सिञ्चित हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी