काठमाडौँ । बागमती नदी किनारस्थित थापाथलीको अव्यवस्थित बस्ती हटाउने कार्य सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिकाले शनिबार बिहान ८ बजेदेखि डोजर प्रयोग गरी संरचनाहरू भत्काउन सुरु गरेसँगै उक्त क्षेत्र पूर्ण रूपमा खाली भएको हो।
महानगर स्रोतका अनुसार बस्तीमा बसोबास गर्दै आएका अधिकांश परिवारहरू आफैँले वैकल्पिक व्यवस्था गरी कोठा खोजेर वा आफन्तकोमा सरेका छन्।
व्यवस्थापन र सहयोग
बस्तीका टहरा हटाउनुअघि आफैँ स्थानान्तरण हुन चाहने परिवारहरूलाई महानगर प्रहरी बल र नेपाल प्रहरीले गन्तव्यसम्म पुग्नका लागि मानवीय श्रम, सवारी साधन र अन्य व्यवस्थापकीय सहयोग उपलब्ध गराएको थियो।
जसमध्ये, आफ्नो कुनै पनि वैकल्पिक ठेगाना नभएका र पूर्ण रूपमा घरबारविहीन भएका ६ परिवारलाई महानगरले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुर्याएको छ। ती परिवारहरूलाई तत्कालका लागि त्यहाँ राखिएको र आवश्यक ‘स्क्रिनिङ’ पछि मात्र दीर्घकालीन व्यवस्थापन गरिने महानगरले जनाएको छ।
सरकारको आगामी योजना
सरकारले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सरकारी जग्गा खाली गराउने अभियानलाई तीव्रता दिएको छ। यस प्रक्रियामा वास्तविक भूमिहीन प्रमाणित भएकाहरूका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने तयारी गरिएको छ:
नागार्जुन (इचङ्गु), कीर्तिपुर,बोडे,खरीपाटी,चाँदबाग
वास्तविक सुकुम्वासी पहिचान गर्न र उनीहरूको अवस्था बुझ्नका लागि नै हाल रङ्गशालामा राखेर प्रक्रिया अगाडि बढाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।