१२ वैशाख, काठमाडौं । बागमती नदी किनारलाई अतिक्रमणमुक्त बनाउने अभियानअन्तर्गत काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीका अनधिकृत संरचना हटाउन सुरु गरिएको छ। सार्वजनिक जग्गा र नदी कोरिडोर मिचेर बनाइएका संरचना खाली गराउन शनिबार बिहानैदेखि सो क्षेत्रमा डोजर चलाइएको हो।
विगतमा डोजर चलाउँदा तनावपूर्ण झडप हुने गरेको थापाथलीमा यसपटकको दृश्य भने निकै फरक र मानवीय देखिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि स्थिति शान्त छ।
विशेष गरी, बस्ती हटाउने क्रममा नेपाल प्रहरी र नगर प्रहरीका जवानहरू आफैँले सुकुम्बासीहरूका घरभित्रका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर र ओछ्यान जस्ता सामान सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्। सामान नपुरिऊन् र सर्वसाधारणको क्षति कम होस् भन्ने उद्देश्यले प्रशासनले यसपटक ‘सहयोगात्मक रणनीति’ अपनाएको देखिएको छ।
बागमती सभ्यता संरक्षण र नदी कोरिडोर निर्माणको दीर्घकालीन योजना अनुसार यसअघि नै पटक–पटक सूचना जारी गरिएको थियो। सोही निर्देशन पालना नभएपछि अहिले सरकारी अभियान अन्तर्गत संरचना भत्काउन लागिएको हो।