११ बैशाख, काठमाडाैं । बागमती नदी किनारकाे शान्तिनगर-गैरीगाउँमा सडक अवरूद्ध हुने गरी सार्वजजिक जग्गामा घर टहरा बनाई वर्षाैंदेखि बस्दै आइरहेका सुकुम्वासीहरूले पनि शुक्रबार आफैंले बस्ती खाली गरेका छन् । आजै मात्र थापाथलीस्थित बस्तीका सुकुम्वासीहरूले आफैंले बस्ती खाली गरेका छन् ।
सरकारले खाली गराउन बिहीबार साँझ माइकिङ गरेर बागमती किनारका थापाथली, गैरीगाउँ र मनाेहरा खाेला किनारका अवैध बस्तीका मानिसहरूलाई शनिबार बिहान ६ बजेसम्ममा बस्ती खाली गर्न उर्दी जारी गरेका थियाे ।
साेही मुताविक उनीहरूले बस्ती छाडेर सरसामन, लत्ताकपडा, फर्निचर, सवारीसाधन लिएर गएका छन् । शुक्रबार साँझ गैरीगाउँकाे नदी छेउका घरटहराका मानिसहरू भित्रबाट सामन बाहिर निकाल्न र र गाडीमा लाेड गर्न भ्याइनभ्याई देखिन्थे । ढुवानीका साना ठूला गाडीले बस्तीका साँघुरा बाटाे भरिभराउ थियाे । उनीहरू सबैजना लुभु, बाैद्ध, पेप्सीकाेला, बालाजु, थली, साँखु, कलंकी लगायत विभिन्न क्षेत्रमा जाने कुरा गरेका सुनिन्थ्याे । एकै खेपमा सामन नअटाएपछि गाडीलाई दाेहाेर्याई दाेहाेर्याई बाेलाउँथे । रातभरि ओसार्ने कुरा गर्नेहरू पनि सुनिन्थे । कुनै काेठा नपाएकाे पीडा सुनाउँदै थिए ।साँझ ८ बजेतिरसम्म दुईतिहाइले बस्ती छाडिसकेका छन् । यसबाट बस्तीमा धेरैजसाे नक्कली सुकुम्वासी रहेकाे सरकारकाे दाबीलाई बल पुगेकाे छ ।
सुकुम्वासीकाे रूपमा बसेका केहिले पक्की घर नै बनाएर वर्षाैंदेखि भाडामा समेत लगाएकाे पाइएकाे छ । करिब ६०० मिटर लामाे क्षेत्र ओगटेर बसेका उनीहरूमध्ये एक तिहाई संख्या भाडामा बसेकाे चर्चा सुनिन्छ । कात्यायनीमा घर भएका स्थानीय नेवार समुदायका केही व्यक्तिले त्यहाँ सुकुम्वासी बनेर सार्वजनिक जग्गा अतिक्रमण गरी धेरै वटा काेठासहितकाे भुईँतले घर बनाएर वर्षाैंदेखि भाडा उठाउँदै आइरहेकाे बताएका छन् ।
सरकारले गैरसुकुम्वासी हटाउने र वास्तविक सुकुम्वासी पहिचान गरी अन्यत्र लगेर तत्कालिक आधारभूत सुविधा र छिट्टै कानुनी अधिकारसहितकाे जग्गामा राख्ने बताइरहेकाे छ ।
यसअघि किरब दुई वर्षपहिले काठमाडाैं महानगरपालिकाले सार्वजनिक सूचनासहित डाेजर लगाएर बस्ती खाली गराउन खाेजेकाे थियाे । तर महानगरलाई केन्द्र सरकारकाे असहयाेग र मानिसहरूलाई दलहरूले बस्ती नछाड्न साथ दिएका कारण प्रतिकारमा उत्रदा हटाउन असफल भएकाे थियाे । यसपटक भने केन्द्र सरकारकै याेजनामा हटाउन लागिएकाे हाे ।
