काठमाडौँ, ११ वैशाख २०८३ – सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनारमा रहेका अवैध बस्ती खाली गर्ने तयारी गरेपश्चात् प्रभावित सुकुमबासीहरू विरोधमा उत्रिएका छन्। उनीहरूले डोजर चलाउने सरकारी निर्णय तत्काल रोक्न माग गर्दै शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।
प्रदर्शनलाई मध्यनजर गर्दै कार्यालय परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति राखिएको छ। प्रहरीले स्थानीय प्रशासनको निर्देशनअनुसार बिहीबार साँझदेखि नै प्रभावित क्षेत्रमा माइकिङ गरी बस्ती खाली गर्न सूचना जारी गरिसकेको छ। सुकुमबासीहरूलाई शुक्रबार साँझसम्म क्षेत्र खाली गर्ने अल्टिमेटम दिइएको छ। शनिबार बिहानैदेखि डोजर चलाउने प्रशासनको तयारी रहेको जनाइएको छ।
रास्वपा कार्यालय अगाडि पुगेका प्रभावित सुकुमबासीले विकल्प दिनुपर्ने, प्रहरी कारबाही नचलाउनुपर्ने र पुनर्वासको व्यवस्थापछि मात्र बस्ती हटाउनुपर्ने माग राखेका छन्। पार्टी नेतृत्वले भने माग सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाएको छ।