काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाका तीन प्रमुख स्थानमा रहेका सुकुमबासी बस्तीका टहराहरू आगामी शनिबार (वैशाख १२ गते) देखि भत्काउने निर्णय गरेको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो।
हटाउन लागिएका स्थानहरू:
१. थापाथली
२. गैह्रिगाउँ
३. जडीबुटीस्थित मनहरा खोला किनार
सुरक्षा समितिको बैठकपश्चात् काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसँगको छलफलपछि पहिलो चरणमा यी तीन स्थान खाली गराउने टुङ्गो लागेको हो।
शनिबार बिहान ६ बजेदेखि डोजर चल्ने
प्रशासनले वैशाख ११ गते साँझ ७ बजेभित्र आफ्ना सामान, चौपाया र परिवारका सदस्यहरू (विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती) लाई सुरक्षित स्थानमा सारिसक्न आग्रह गरेको छ। शनिबार बिहान ६ बजेदेखि डोजर चलाएर संरचनाहरू भत्काउन सुरु गरिनेछ।
प्रशासनले माइकिङमार्फत चेतावनी दिँदै भनेको छ, “घर टहरा भत्काउँदा वा जग्गा खाली गर्दा कुनै पनि प्रकारको व्यवधान सिर्जना गरेमा कानुन बमोजिम कडा कारबाही गरिनेछ।”
सुरक्षा व्यवस्था र व्यवस्थापन
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार सुरक्षा व्यवस्थाका लागि प्रहरी र सशस्त्र प्रहरीको टोली तयारी अवस्थामा राखिएको छ। यता, आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीनहरूको पहिचान गरी उनीहरूको बसोबासका लागि उचित प्रबन्ध मिलाउने विषयमा पनि छलफल भइरहेको प्रशासनले जनाएको छ।
मनहरा खोलाको भक्तपुरतर्फको भाग खाली गराउने विषयमा भने भक्तपुर प्रशासनसँग समन्वय भइरहेको बुझिएको छ।
सुकुम्वासी सम्बद्ध विभिन्न संघ संगठनले भने जबरजस्ती हटाउन खोजिए प्रतिरोध गर्ने चेतावनी दिएको छ ।