१० वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं गृहमन्त्रीको कार्यभार सम्हाल्नुभएका बालेन शाहले अतिक्रमित सुकुमवासी बस्तीहरू खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनप्रति ‘जेनजी’ अगुवा रक्षा बमले कडा आपत्ति जनाएकी छन् ।
यो कदम प्रधानमन्त्रीको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘राजनीतिक बेइमानी’ भएको टिप्पणी उनले गरेकी छन् ।
प्रधानमन्त्री शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गर्न निर्देशन दिएका थिए । सोही समाचारको अंश फेसबुकमा सेयर गर्दै रक्षा बमले लेखेकी छन्, ‘बालेन, तपाईंले जानेकै यत्ति हो? यदि यस्तै हो भने, यो तपाईंको अपरिपक्वता मात्र होइन, जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो ।’ उनले सामाजिक सञ्जालमार्फत रास्वपालाई आफ्नो चुनावी बाचा पत्र पुनः पढ्न समेत सुझाव दिएकी छन् ।
यसअघि रास्वपा सभापति रवि लामिछानेले सुकुमवासी बस्ती हटाउने विगतका प्रयासहरूको कडा विरोध गर्दै “डोजर चलाउने भए मेरो छातीमाथि चलाउनुस्” भनेको भिडियो अहिले सामाजिक सञ्जालमा पुनः भाइरल भइरहेको छ ।
सुदन गुरुङले बुधबार राजीनामा दिएपछि गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शाहले बुधबार साँझ सबै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती हटाउने काम काठमाडौं उपत्यकाबाट सुरु गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
यसअघि काठमाडौं महानगरको मेयर हुँदा पनि शाहले सुकुमवासी बस्ती हटाउने प्रयास गरेका थिए, तर त्यसबेला सुकुमवासीहरूको कडा प्रतिवादका कारण सो प्रयास सफल हुन सकेको थिएन । अहिले प्रधानमन्त्री बनेपछि उनले पुनः सोही प्रक्रियालाई अघि बढाउन खोजेका हुन् ।