रूवाण्डामा जारी पहिलो संस्करणको आईसीसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।
बुधबार किगालीमा भएको खेलमा नेपालले घरेलु टोली रूवाण्डालाई २ विकेटले पराजित गर्यो।
रवाण्डाले दिएको ८९ रनको लक्ष्य नेपालले २ बल बाँकी रहँदा ८ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा ओपनर सम्झना खड्काले उत्कृष्ट ४८ रनको योगदान दिइन्। उनले ४२ बलमा ७ चौका प्रहार गरिन् ।
विन्दू रावालले १० रन र पूजा महतोले १३ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। ७४ रनसम्म दुई विकेट मात्र गुमाएको नेपालले त्यसपछि छोटो अन्तरालमै थप ६ विकेट गुमाउँदा खेल निकै तनावपूर्ण बनेको थियो। विशेषगरी १८ र १९ औं ओभरमा रन नजोडी दुई विकेट गुमाउँदा दबाब बढेको थियो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रूवाण्डा २ बल बाँकी रहँदा ८८ रनमै अलआउट भयो। उसका लागि एलिसले सर्वाधिक १७ रन बनाइन्।
बलिङतर्फ नेपालकी रचना चौधरीले ३ विकेट लिइन्। कविता कुँवर र पूजा महतोले समान २–२ विकेट लिँदा मनिषा उपाध्याय र रिया शर्माले १–१ विकेट हात पारे।
यसअघि नेपालले इटालीलाई ५० रनले हराएको थियो भने पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो।
नेपाल, रूवाण्डा, अमेरिका, इटाली र भानुआटु सहभागी प्रतियोगितामा सबै टोलीले एक–आपसमा दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्।