प्रधानमन्त्री बालेन्द्र शाहले गृह मन्त्रालय तत्कालका लागि आफैंसँग राख्ने भएका छन्।
बुधबार गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले भर्खरै प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाएको प्रधानमन्त्री शाहकी अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्। “गृहमन्त्रीज्यूले भर्खरै प्रधानमन्त्रीज्यूसमक्ष राजीनामा दिनुभएको हो,” दाहालले भनिन्।
गुरुङको राजीनामासँगै गृह मन्त्रालयको जिम्मेवारी हालका लागि प्रधानमन्त्री शाहकै मातहत रहनेछ। “तत्कालका लागि गृह मन्त्रालय प्रधानमन्त्रीज्यूले नै सम्हाल्नुहुनेछ,” दाहालले बताइन्।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गुरुङको व्यापारिक साझेदारी रहेको खुलेपछि उनी विवादमा तानिएका थिए। जेनजी आन्दोलनपछि उनले ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको विवरण सार्वजनिक भएको थियो।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र बाहिरबाट उनीमाथि दबाब बढेको थियो। विपक्षी दलहरूले पनि उनको राजीनामाको माग गरेका थिए।