काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अनुशासनहीनता प्रदर्शन गर्ने र अनावश्यक कलह सिर्जना गर्नेहरूलाई मार्गप्रशस्त गर्न चेतावनी दिनुभएको छ। बुधबार पार्टी कार्यालयमा आयोजित ‘पार्टी स्थापना दिवस’ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।
संयोजक प्रचण्डले पार्टीलाई नयाँ उचाइमा पुर्याउन वैचारिक स्पष्टता र सकारात्मक ऊर्जा आवश्यक रहेको उल्लेख गर्दै निराशा बाँड्ने तत्वहरूबाट पार्टी चल्न नसक्ने बताउनुभयो।
प्रचण्डले राजनीतिमा सकारात्मकताको खाँचो औँल्याउँदै निराशा व्यक्त गर्ने र नकारात्मकता फैलाउने व्यक्तिहरूलाई निरुत्साहित गरिने बताउनुभयो। “निराशाको कुरा सुनाउने मान्छे आफ्ना अगाडि नआए हुन्थ्यो जस्तो लाग्छ,” उहाँले भन्नुभयो।
पार्टीलाई सुदृढ बनाउन पहिला आफैँभित्रबाट रूपान्तरण सुरु गर्नुपर्नेमा उहाँको जोड थियो। पार्टीमा बसेर अनावश्यक ‘रडाको’ वा बखेडा झिक्नेहरूलाई लक्षित गर्दै उहाँले सच्चिएर काम गर्न वा विकल्प रोज्न सुझाव दिनुभयो।
“सच्चिन चाहनेहरूका लागि ढोका सधैँ खुला छ, तर यहाँ बसेर उपद्रो गर्नेहरू आफ्नै बाटो लागे हुन्छ,” प्रचण्डको चेतावनी थियो। उहाँले पार्टी एकतालाई जोगाउन अधिकतम लचकता अपनाए पनि अराजकतालाई छुट दिन नसकिने स्पष्ट पार्नुभयो।
वर्तमान सरकारका काम र राजनीतिक घटनाक्रमले जनस्तरमा पुनः कम्युनिस्ट लहर आउने संकेत गरेको दाबी गर्दै उहाँले कार्यकर्तालाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभयो।
प्रचण्डले समाज र पार्टी दुवैमा सबै पुस्ताको भूमिका अपरिहार्य रहेको भन्दै युवा र पुराना पुस्ताको संयोजनबाटै पार्टी पुनर्गठनको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो।