काठमाडौँ । नेकपा (एमाले) ले आज आफ्नो ७७ औँ पार्टी स्थापना दिवस मनाउँदै छ। सो अवसरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार दिउँसो २ बजे सुरु हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको छ। हालैको राजनीतिक घटनाक्रम र स्वास्थ्य उपचारपछि ओलीको यो सम्बोधनलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।
स्वास्थ्य लाभपछि पहिलो सार्वजनिक सम्बोधन
गत चैत १४ गते सरकारद्वारा गिरफ्तार भई चैत २६ गते रिहा भएका अध्यक्ष ओलीले हालै स्वास्थ्य उपचार गराएका थिए। पित्तथैलीको पत्थरीको शल्यक्रियापछि वैशाख ५ गते अस्पतालबाट घर फर्किएका ओली पूर्ण स्वास्थ्य लाभको क्रममै रहेका बेला पार्टी स्थापना दिवसको अवसर पारेर कार्यकर्तालाई भेट्न र सम्बोधन गर्न लागेका हुन्।
एमालेले काठमाडौँ उपत्यकामा रहेका पार्टीका केन्द्रीय नेताहरू, जनसङ्गठनका पदाधिकारी, केन्द्रीय सदस्य तथा शुभेच्छुकहरूलाई दिउँसो २ बजे च्यासल पुग्न आग्रह गरेको छ।
नेपालमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। सोही ऐतिहासिक दिनको सम्झनामा एमालेले हरेक वर्ष वैशाख ९ गतेलाई स्थापना दिवसका रूपमा मनाउँदै आएको छ।