बैशाख ९, २०८३ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता अपरिहार्य भएको बताएका छन्।
नेकपाको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले वामपन्थी शक्तिहरूबीच एकतामा जोड दिएका हुन्।
उनले भनेका छन्, “नेपाली क्रान्तिलाई अगाडि बढाउँदै सबैखाले विभेदको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न समाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ।”
प्रचण्डले कम्युनिष्ट आन्दोलनले उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार तथा राष्ट्रिय स्वाधीनताको संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्। साथै, विगतका बलिदानीपूर्ण संघर्षका उपलब्धिहरूको रक्षा गर्दै किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अघि बढाउने जिम्मेवारी अझ बढेको बताएका छन्।
उनले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि सबै पक्षलाई आह्वान गर्दै पहिलो पर्चा, घोषणापत्र र विकसित विचारहरूको संश्लेषण आवश्यक रहेको औंल्याएका छन्।
प्रचण्डले शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा विकासका लागि ती पक्षधर शक्तिहरूबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा समेत जोड दिएका छन्।
यस अवसरमा उनले न्याय, स्वतन्त्रता र समानताको सङ्घर्षमा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्ग तथा शहीद परिवारप्रति सम्मान व्यक्त गरेका छन्।
वि.सं. २००६ साल वैशाख ९ गते स्थापना भएको नेकपाले सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी सत्ता स्थापनाको लक्ष्य लिएको थियो।
प्रचण्डले सन्देशमा भनेका छन्, “आज शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखा परेका छन्। साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन सकेको छैन।” उनले समाजमा विभेद रहिरहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य कायम रहने पनि बताएका छन्।
विश्व परिवेशतर्फ संकेत गर्दै उनले साम्राज्यवाद झन् आक्रामक र फासिवादी दिशातर्फ उन्मुख भएको उल्लेख गरेका छन्। यस्तो अवस्थामा महान् लेनिनका शिक्षा र आदर्श अझ सान्दर्भिक बनेको उनको भनाइ छ।
प्रचण्डले वामपन्थी आन्दोलनको पुनर्गठनका लागि सबैलाई पुनः आह्वान गरेका छन्।