काठमाडौँ । जेनजी मुभमेन्ट, नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गर्दै प्रहरी प्रधान कार्यालयमा उजुरी दिएको छ। मंगलबार मुभमेन्टका प्रवक्ता विजय शाहले प्रहरी महानिरीक्षकलाई सम्बोधन गर्दै निवेदन दर्ता गराएका हुन्।
मुभमेन्टले गृहमन्त्री गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिनका लागि उनी पदमा बहाल रहनु ‘स्वार्थको द्वन्द्व’ (Conflict of Interest) हुने दाबी गरेको छ।
जेनजी मुभमेन्टले गृहमन्त्रीलाई पक्राउ गर्नुपर्ने पक्षमा तीनवटा प्रमुख तर्कहरू अघि सारेको छ:
१. तथ्यगत आधार र स्वार्थको द्वन्द्व:
निवेदनमा भनिएको छ, “गृहमन्त्री पदमा बहाल रहेर आफ्नै विरुद्ध छानबिन प्रक्रिया अघि बढाउनु कन्फ्लेक्ट अफ इन्टेरेस्टको स्पष्ट उदाहरण हो। पदको ओहदामा रहेर आफ्नै विरुद्ध अनुसन्धान हुन सक्दैन भन्ने आधारभूत कानुनी सिद्धान्तविपरीत छ।”
२. कानुनी आधार:
मुलुकी फौजदारी संहिताको हवाला दिँदै मुभमेन्टले गम्भीर आरोप लागेका व्यक्तिले पदमा बसेर अनुसन्धान प्रभावित पार्न सक्ने (Obstruction of Justice) र प्रमाण नष्ट गर्न सक्ने (Evidence Tampering) जोखिम औँल्याएको छ। निष्पक्ष अनुसन्धानका लागि उनलाई तत्काल हिरासतमा लिन माग गरिएको छ।
३. राजनीतिक र नैतिक आधार:
मुभमेन्टले गृहमन्त्री गुरुङमाथि आन्दोलनलाई दुरुपयोग गरेको गम्भीर आरोप समेत लगाएको छ।
स्वयंसेवकको बहानामा आन्दोलनलाई ‘हाइज्याक’ गरी हिंसात्मक बनाएको।
आन्दोलनको बलमा बिचौलिया र दलालहरूसँग मिलेर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको।
७६ जना सहिदको बलिदान र घाइतेहरूको अपमान गरेको।
प्रवक्ता विजय शाहका अनुसार यो निवेदन नेपाल प्रहरी ऐन, २०१८ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम दर्ता गरिएको हो। मुभमेन्टले उक्त निवेदनको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई समेत पठाएको जानकारी दिएको छ।
गृहमन्त्रीमाथि लागेका यी आरोप र उजुरीका सम्बन्धमा सरकारी पक्षबाट हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन।