नेपाली क्रिकेटका लागि आज (सोमबार) को साँझ ऐतिहासिक बन्दै छ। घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले आफ्नो चीर प्रतिद्वन्द्वी यूएईविरुद्ध दुई खेलको टी-२० आई सिरिजको पहिलो खेल खेल्दै छ। साँझ ५ बजे सुरु हुने यो खेल धेरै अर्थमा विशेष रहनेछ। त्रिवि मैदानको स्तरोन्नतिपछि पहिलो पटक नेपाली पुरुष टोलीले ‘डे-नाइट’ संरचनामा फ्लडलाइट मुनि अन्तर्राष्ट्रिय खेल खेल्दै छ।
कप्तान रोहित पौडेलसहित अनुभवी बलरद्वय सोमपाल कामी र करण केसी टोलीमा छैनन्। अनुभवी खेलाडीको अनुपस्थितिमा हेमन्त धामी, नन्दन यादव र सन्तोष यादव जस्ता युवा प्रतिभाहरूलाई आफ्नो क्षमता प्रमाणित गर्ने यो सुनौलो अवसर हो। आज नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले कप्तानी गर्दैछन् ।
हेड टु हेड: नेपाल हाबी
नेपाल र यूएईबीचको पछिल्लो तथ्याङ्क हेर्दा नेपाल केही बलियो देखिएको छ ।
कूल खेल: ११
नेपालको जित: ६
यूएईको जित: ५
यद्यपि, सन् २०२५ अक्टोबरमा भएको त्रिकोणात्मक सिरिजको फाइनलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको थियो। आजको खेल नेपालका लागि उक्त हारको बदला लिने अवसर पनि हो।
नेपाली टोली:
दीपेन्द्र सिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल।