धनगढी, ५ वैशाख – कैलालीको चुरे गाउँपालिकामा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चुरे गाउँपालिका–३ भक्तपुरका ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकार रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) कैलाश विष्टका अनुसार, सहोदर दाजुभाइ रहेका उनीहरूको शुक्रबार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
बिहीबार मरेको कुखुराको मासु खाएका परिवारका अन्य दुई सदस्यको अवस्था पनि गम्भीर रहेको छ।
मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र ३ वर्षीय भाइ दिपेश ताम्राकारको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
घटना बिहीबार भए पनि प्रहरीलाई शुक्रबार मात्रै जानकारी गराइएको थियो। जानकारी पाउनासाथ प्रहरीको समन्वयमा बिरामी चारै जनालाई उपचारका लागि धनगढी ल्याइएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धान र आशंका अनुसार:उनीहरूले स्थानीय विकास पोल्ट्री फार्मबाट मरेको ब्रोइलर कुखुरा खरिद गरी खाएका थिए।
मरेको मासुकै कारण मृत्यु भएको आशंका गरिए पनि आधिकारिक पुष्टि हुन बाँकी छ।
कुखुरा बिक्री गर्ने फार्म सञ्चालक मंगल साउँद आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएका छन्। प्रहरीले उनलाई आवश्यक परेका बेला उपस्थित हुने गरी हाल आफन्तको जिम्मा लगाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।