काठमाडौँ । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक केन्द्र असन क्षेत्रको प्राचीन मौलिकता र जीवन्तता जोगाउन आज (शनिबार) देखि विधिवत् रूपमा ‘भेहिकल फ्री असन’ कार्यक्रम सुरु भएको छ।
काठमाडौँ महानगरपालिकाले असनको सामाजिक, सांस्कृतिक तथा व्यापारिक गरिमालाई पुनर्जीवित गराउने उद्देश्यले हरेक शनिबार यस क्षेत्रमा सवारी साधन प्रवेशमा पूर्ण रोक लगाएको हो।
सवारी व्यवस्थापन र वैकल्पिक पार्किङ
आज वैशाख ५ गतेदेखि लागू हुने गरी असन प्रवेश गर्ने मुख्य नाकाहरूमा कडाइ गरिएको छ। जमल (कमलाक्षी), भोटाहिटी, महाबौद्ध र इन्द्रचोक बाट असनतर्फ जाने सवारी साधनलाई पूर्ण रूपमा रोक लगाइएको छ। पैदल यात्री र आगन्तुकहरूको सहजताका लागि महानगरले निम्न स्थानमा पार्किङको व्यवस्था मिलाएको छ:
धरहराको भूमिगत पार्किङ
जमल बहाल
दरबार हाईस्कुल क्षेत्र
सांस्कृतिक पुनर्जागरणको थलो बन्दै असन
महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार अब हरेक शनिबार असन कोलाहलमुक्त हुनेछ। सवारी साधन रोकिएसँगै सो क्षेत्रमा रैथाने ज्ञान, सीप र परम्परागत कलाको प्रदर्शनी गरिनेछ। स्थानीय बाजागाजा, परम्परागत गायन तथा नृत्यका कार्यक्रममार्फत पर्यटक र स्थानीयलाई मनोरञ्जन प्रदान गरिने योजना छ। साथै, असनको पुरानो पहिचानका रूपमा रहेका आयुर्वेदिक औषधिहरूको प्रवर्द्धनलाई पनि प्राथमिकता दिइनेछ।
“यो अभियानले असनको वायु प्रदूषण कम गर्ने मात्र नभई बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षित रूपमा हिँडडुल गर्ने वातावरण सुनिश्चित गर्नेछ,” वडा नं. २७ का प्रतिनिधिहरूले बताए।
सर्वसाधारणलाई निःशुल्क ‘वाटर एटीएम’
यसै अभियानको अवसर पारेर आजैदेखि असन लगायत महानगरका ८ विभिन्न स्थानमा ‘वाटर एटीएम’ समेत सञ्चालनमा ल्याइएको छ। काठमाडौँ महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा जडान गरिएका यी एटीएमबाट सर्वसाधारणले निःशुल्क रूपमा शुद्ध पिउने पानी प्राप्त गर्न सक्नेछन्।
स्थानीय क्लब र वडा कार्यालयको सक्रियतामा सुरु भएको यो अभियानले काठमाडौँको कोर सिटीको पर्यटन र मौलिकतालाई नयाँ उचाइ दिने विश्वास गरिएको छ।