सङ्घीयताको जटिलता सुल्झाउन प्रधानमन्त्रीको सक्रियता: मुख्यमन्त्रीहरू भन्छन्– ‘सोचेभन्दा फरक र सकारात्मक छलफल’

सङ्घीयताको जटिलता सुल्झाउन प्रधानमन्त्रीको सक्रियता: मुख्यमन्त्रीहरू भन्छन्– ‘सोचेभन्दा फरक र सकारात्मक छलफल’

  • बिहिबार, बैशाख ३, २०८३
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ, ३ वैशाखः सङ्घीयता कार्यान्वयनका जटिलता सुल्झाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशका मुख्यमन्त्रीहरूसँग करिब तीन घण्टा छलफल गर्नुभएको छ ।

छलफलका क्रममा मुख्यमन्त्रीहरूले प्रदेशगत रुपमा आफ्ना समस्या राख्नुभएको थियो । प्रधानमन्त्री शाहले कुनै पनि विषयमा मुख्यमन्त्रीको जिज्ञासा सुन्ने बित्तिकै थप स्पष्ट पार्न र समाधानका विकल्पबारे अन्तरक्रियात्मक शैलीमा छलफल गर्नुभयो ।

प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूका समस्याबारे कतिपय प्राविधिक र व्यावहारिक समस्यालाई तत्काल समाधान गर्ने उपायसमेत सुझाउनुभयो । नीतिगत जटिलताहरु फुकाउन सङ्घ र प्रदेशको साझा संयन्त्रमार्फत तुरुन्त काम सुरु गर्ने प्रतिबद्धता जनाउँदै उहाँले भन्नुभयो, “सङ्घ र प्रदेशबीचका हरेक अप्ठ्यारा सुल्झाउन मेरो नेतृत्वको सरकार सदैव तयार छ । त्यसैले तपार्इँहरुलाई छलफलका लागि मैले राजधानी बोलाएको हुँ ।”

साथै, प्रधानमन्त्री शाहले प्रदेश सरकार आफैँले तत्काल गर्नसक्ने सुधारहरू ढिला नगरी अघि बढाउन समेत आग्रह गर्नुभयो ।

मुख्यमन्त्रीहरु उत्साहित

प्रधानमन्त्रीसँगको अन्तरक्रियात्मक र सौहार्द व्यवहारसहित भएको छलफलबाट मुख्यमन्त्रीहरु उत्साहित देखिनुभएको छ । सोचेभन्दा बिल्कुलै फरक र सकारात्मक छलफल भएको छलफलपश्चात उहाँहरुले प्रतिक्रिया दिनुभयो ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भन्नुभयो, “प्रधानमन्त्री शाहसँगको पहिलो भेट नै धेरै पुराना साथीहरूबीचको संवाद जस्तै सौहार्द र मित्रतापूर्ण रह्यो । उहाँले हाम्रा कुरा गम्भीरतापूर्वक सुन्नुभयो र बीचबीचमा जिज्ञासा राखेर विषयलाई अझ प्रष्ट पार्नुभयो ।” पाण्डेले प्रधानमन्त्रीसँग स्थानीय तहको नेतृत्व गरिसकेको अनुभवले गर्दा प्रदेशका समस्या बुझ्न सजिलो भएको देखिएकाले आगामी दिनमा सङ्घीयता कार्यान्वयनले सहजता प्राप्त गर्नेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।

वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बानियाँले पनि प्रधानमन्त्रीको व्यक्तित्वले छलफललाई सहज बनाएको टिप्पणी गर्नुभयो । “मैले उहाँकाबारेमा जे सुनेको थिएँ, त्यो होइन रहेछ । प्रधानमन्त्री कम बोल्नुहुन्छ, अरुको कुरा पनि सुन्नुहुन्न भन्ने सुनिन्थ्यो, तर उहाँले त पर्याप्त समय दिएर हाम्रा कुरा सुन्नुभयो, र आफ्नो कुरा राख्नुभयो”, उहाँले भन्नुभयो, “उहाँले आवश्यक सहजीकरणका लागि आजै आफ्नो कार्यालयमार्फत निर्देशन समेत दिनुभएकोमा खुसी लागेको छ ।”

त्यसैगरी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्रीले संविधानको मर्मअनुसार तीन तहका सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वको भावनालाई गहिरोसँग आत्मसात् गरेको महसुस गरेको प्रतिक्रिया दिनुभयो । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र कर्णालीका यामलाल कँडेलले अन्य मुख्यमन्त्रीहरुको प्रतिक्रियामा सहमति जनाउनुभयो ।

छलफलमा मुख्यमन्त्रीहरु वाग्मती प्रदेशका इन्द्रबहादुर बानियाँ, लुम्बिनीका चेतनारायण आचार्य, गण्डकीका सुरेन्द्रराज पाण्डे, कर्णालीका यामलाल कँडेल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थिति थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की भने पारिवारिक कारण र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भने स्वास्थ्य समस्याका कारण सहभागी हुनुभएको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ