काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले प्रधानमन्त्री बालेन शाह र मन्त्रीहरूको सम्पत्तिको स्रोत खुलाउन माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ।
सरकारले हालै सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण अपारदर्शी भएको भन्दै संगठनले विरोध जनाएको हो। प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारको आलोचना गर्दै विभिन्न व्यङ्ग्यात्मक नाराहरू लेखिएका प्लाकार्डहरू प्रदर्शन गरेका थिए। उनीहरूले प्रदर्शन गरेका केही प्रमुख नाराहरू यस्ता थिए:
“सुनखानी प्रधानमन्त्री, शेयर खानी गृहमन्त्री”
“झन्डा नीलो, मन्त्रिपरिषद् पहेँलो”
“मन्त्रीहरूलाई सुनको बहार, जनतालाई महँगी उपहार”
आइतबार सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेलगत्तै सामाजिक सञ्जालमा त्यसको वैधानिकता र स्रोतलाई लिएर व्यापक बहस र आलोचना भइरहेको छ। सोही पृष्ठभूमिमा अखिल (क्रान्तिकारी) ले सडक प्रदर्शनमार्फत दबाब सृजना गरेको हो।