काठमाडौँ, ३१ चैत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको आज महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पित्तथैलीको शल्यक्रिया भइरहेको छ।
अस्पतालका सहनिर्देशक डा. गोपाल सेढाईंका अनुसार अध्यक्ष ओलीको स्वास्थ्य परीक्षणपछि आजका लागि शल्यक्रियाको समय तय गरिएको थियो। अहिले चिकित्सकहरूको टोलीले उनको शल्यक्रिया गरिरहेको छ।
यसअघि, २०८२ चैत १४ गते बिहान प्रहरीले ओलीलाई उनको निजी निवासबाट पक्राउ गरेको थियो। गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको विषयमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको थियो।
पक्राउ परेलत्तै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको गिरफ्तारीविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढाउन परमादेश दिएको थियो।
अदालतको आदेशसँगै उनी हाजिरी जमानीमा रिहा भए पनि स्वास्थ्य उपचारका लागि अस्पतालमै रहँदै आएका थिए। उनको सचिवालयले दिएको जानकारी अनुसार शल्यक्रिया सफल भएपछि केही दिनको आरामपछि उनी निवास फर्कनेछन्।