काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र गतिका बलर करण केसीलाई अनुशासनको कारबाही गरेको छ। जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा अम्पायरको निर्णयप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएको भन्दै क्यानले उनलाई एक खेलको प्रतिबन्ध र जरिवाना गरेको हो।
क्यानले करणको अभिव्यक्ति खेल भावनाविपरित भएको ठहर गरेको छ। ‘नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायरप्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ।
उक्त अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गर्दै सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी क्रिकेटर करण केसीलाई प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १००% म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको छ,’ क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।