काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य नभएको बताएको छ। केन्द्रीय कार्य समायोजन समितिको सातौँ दिनको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता जगन्नाथ खतिवडाले सरकारको यस्तो निर्णयको विरोध गरेका हुन्।
युवा र विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध लगाउने तथा ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने कार्य गलत भएको नेता खतिवडाले बताएका छन्। यसको विरुद्धमा पार्टी सडकमा उत्रिने चेतावनी समेत उनले दिएका छन्।
सातौँ दिनसम्म चलेको बैठकमा ४५ सदस्यीय समितिका ४३ सदस्यले आफ्नो धारणा राखिसकेका छन्। बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, नयाँ सरकारको कार्यदिशा र सांगठनिक समायोजनबारे गहन छलफल भएको जानकारी दिइएको छ।
पार्टीका सम्पूर्ण कमिटीहरूको समायोजन र एकीकृत पार्टीको भविष्यको कार्यदिशाबारे पनि मन्थन भइरहेको छ।
नयाँ वर्ष र आन्तरिक तयारीका लागि समय आवश्यक परेकाले समितिको अर्को बैठक आगामी वैशाख ३ गते बस्ने तय भएको छ।