नयाँ शक्तिहरूको भविष्य संकटमा, विचारबिनाको एकता टिक्दैन: महासचिव पोखरेल

नयाँ शक्तिहरूको भविष्य संकटमा, विचारबिनाको एकता टिक्दैन: महासचिव पोखरेल

  • शनिबार, चैत्र २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौँ | नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गरेका छन्। शनिबार एमाले सम्पर्क विशेष सङ्गठन कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार र सिद्धान्तबिनाको एकता लामो समय नटिक्ने ठोकुवा गरेका हुन्।

महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन शाहबिचको पछिल्लो सम्बन्धलाई सङ्केत गर्दै तीब्र आलोचना गरे। उनले भने, “रवि लामिछानेलाई जेलको झोला बोकाउने बालेनको अभियान थियो, तर चुनावमा स्वार्थका लागि मिले। जहाँ विचार मिल्दैन, त्यहाँ स्वार्थको टकराब सुरु हुनासाथ विग्रह आउँछ।” पपुलिज्मले जनताका समस्या समाधान नगरी केवल भ्रम मात्र छर्ने उनको टिप्पणी थियो।

नयाँ भनिएका शक्तिहरूले लोकतन्त्रको स्पेस खुम्च्याउन खोजेको, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रहार गरेको भन्दै पोखरेलले एमाले अधिनायकवादविरुद्ध चट्टान बनेर उभिने स्पष्ट पारे।

प्रधानमन्त्रीले संसद्मा बोलेर जनतासँग संवाद नगरेकोमा आपत्ति जनाउँदै पोखरेलले प्रश्न गरे, “प्रधानमन्त्री सुरक्षा निकायका कार्यक्रममा घण्टौँ बोल्न सक्ने तर जनताको सार्वभौम थलो संसद्मा बोल्न किन डराउने? यो कस्तो लोकतन्त्र हो?” उनले सरकारका अलोकतान्त्रिक र गैरकानूनी कदमको भण्डाफोर गर्न सांसदहरूलाई आह्वान समेत गरे।

महासचिव पोखरेलले वर्तमान सरकार र नयाँ शक्तिहरूको ‘सुशासन’ को मुकुन्डो उत्रिएको टिप्पणी गरे। सभामुख र मन्त्रीहरूको पारदर्शितामाथि प्रश्न उठाउँदै उनले भने, सभामुखको सम्पत्ति श्रमिकबाट मालिक बन्नु अपराध नभए पनि विदेशमा कमाएको सम्पत्ति कुन च्यानलबाट आयो र राज्यलाई कर तिरियो कि टिरिएन भन्ने जवाफ दिनुपर्छ।

मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोमा उनले आपत्ति जनाए।

एमाले नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार रहेको बताउँदै उनले नयाँ शक्तिहरू त्यसका लागि तयार छन् कि छैनन् भन्दै चुनौती दिए।

कार्यक्रममा पोखरेलले कार्की आयोगलाई ‘प्रतिशोधको हतियार’ बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुःख दिन खोजिएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ