काठमाडौं: अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूलाई अनिवार्य कागजातबाहेक अन्य कुनै पनि अतिरिक्त कागजात नचाहिने स्पष्ट पारेको छ। पछिल्लो समय सञ्चार माध्यममा आएका समाचार र वैदेशिक रोजगार विभागको सूचनाले श्रमिकहरूमा उत्पन्न अन्योललाई चिर्दै विभागले यो जानकारी दिएको हो।
श्रम र राहदानी भए पुग्ने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्दा अब श्रमिकहरूले अनावश्यक बिल, रसिद वा अतिरिक्त कागजात पेश गर्नु पर्ने छैन। विभागका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीका लागि श्रम स्वीकृति र राहदानी जस्ता आधारभूत कानुनी कागजात नै प्रस्थानका लागि पर्याप्त हुनेछन्।
भिजिट भिसाको प्रक्रिया पनि सहज
भिजिट भिसामा विदेश जाने नागरिकका लागि पनि विभागले प्रक्रियालाई थप व्यवस्थित र सहज बनाएको छ। भिजिट भिसामा जाने यात्रीहरूसँग निम्न कागजात हुनुपर्नेछ:
कम्तीमा ६ महिनाको वैधता भएको राहदानी।
गन्तव्य मुलुकसम्मको दुईतर्फी हवाई टिकट।
सम्बन्धित देशको भिसा।
यी कागजात भएमा यात्रुले अध्यागमनमा तोकिएको ‘स्वघोषणा’ फारम भरेर प्रस्थान अनुमति पाउने व्यवस्था गरिएको छ।
गृह मन्त्रालयको पूर्व निर्णय र प्रचलित अध्यागमन कानुनअनुसार नै यो व्यवस्था कार्यान्वयनमा रहेको विभागले जनाएको छ। सामाजिक सञ्चाल र विभिन्न माध्यममा फैलिएका अपुष्ट हल्लाको पछि नलाग्न र आफ्नो यात्रा सम्बन्धी आधिकारिक जानकारी बुझेर निर्धक्कसँग विदेश जान विभागले सबै यात्रुहरूलाई आग्रह गरेको छ।