काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। शुक्रबार प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री नियुक्त गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएको छ। नवनियुक्त दुवै मन्त्री प्रत्यक्ष निर्वाचित सांसद हुन्। गत फागुन २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा गौरी महोत्तरी-४ र रामजी सप्तरी-२ बाट निर्वाचित भएका थिए।
प्रधानमन्त्री शाहले बिहीबार दीपककुमार साहलाई श्रम मन्त्रीबाट पदमुक्त गरेपछि रिक्त रहेको स्थानमा रामजी यादवलाई ल्याइएको हो। यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका थिए।
नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।
यस विस्तारसँगै शाह नेतृत्वको मन्त्रिपरिषद् १६ सदस्यीय पुगेको छ। सरकारले पारित गरेको १०० बुँदे कार्यसूचीमा मन्त्रालयको संख्या घटाएर १७ मा झार्ने उल्लेख गरिएको छ। सोही योजना अनुरूप अब एक जना मन्त्री नियुक्त हुन बाँकी रहेको छ।