काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङको नाममा पोखराको फेवातालमा रहेको २० रोपनी जग्गा प्रकरणबारे प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो पोस्टमार्फत उनले यस विषयमा ‘नमज्जा’ लागेको उल्लेख गर्दै पत्रकार सम्मेलन गरेर सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन्।
साम्पाङले यसलाई ‘नैतिकताको सवाल’ भन्दै जवाफ नदिए जनताले विश्वास नगर्ने र प्रहरीले समेत टेर्न छोड्ने चेतावनी दिएका छन्। उनले प्रतिपक्षी दलको नेता भएकाले गृहमन्त्रीमाथि टीकाटिप्पणी गर्नु आफ्नो पदीय जिम्मेवारी भएको पनि स्पष्ट पारे।
उनले गृहमन्त्रीले दाबी गरेको जग्गा भाडाको भएको र ५ वर्षदेखि भाडा नतिरेको समाचारलाई पनि उल्लेख गर्दै, यस विषयमा पारदर्शिता आवश्यक रहेको बताए। साथै, साम्पाङले जेनजी आन्दोलनको चैत २३ गतेको घटनाका दोषीहरूलाई पक्राउ गरेकोमा गृहमन्त्रीको प्रशंसा गर्दै न्याय कार्यलाई अझ अघि बढाउन शुभकामना दिएका छन्।
साम्पाङले सदनमा उठाएका मुद्दाहरू — जेनजी आन्दोलनको दोषीको कारबाही र जीबी राई मुद्दा समाधान गरी रवि लामिछानेलाई न्याय दिने कुरा — पनि स्मरण गराएका छन्। उनले लेखेका छन्,
“काम गर्ने मान्छेको खुट्टा तान्छन्, अपजस पाइन्छ नै काम गर्ने क्रममा, तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाइँको नाममा छ रे भन्ने खबरले सामाजिक सञ्जाल तातिँदा नमज्जा लागेको छ। पत्रकार सम्मेलन राखिहाल्नुस्।”
साम्पाङले गृहमन्त्रीलाई दाजुले दिएको सल्लाह सम्झेर आफ्नो कुरा मान्ने आशा व्यक्त गर्दै, एक दिन हृदयदेखि बधाई दिने दिन चाँडै आओस् भन्ने कामना पनि गरेका छन्।