काठमाडौँ । विभिन्न सरकारी ठेक्कापट्टा र वित्तीय मामिलामा विवादित रहँदै आएका व्यवसायी दीपक भट्टको राहदानी (पासपोर्ट) विभागले रोक्का गरेको छ। पछिल्लो समय उनीमाथि भइरहेका विभिन्न अनुसन्धानका क्रममा मुलुक बाहिर जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै सम्बन्धित निकायको आग्रहमा पासपोर्ट रोक्का गरिएको हो।
भट्टमाथि पछिल्लो समय कर छली, वैदेशिक मुद्रा अपचलन र केही ठूला परियोजनाका ठेक्कामा अनियमतिता गरेको आरोपमा सरकारी निकायहरूले निगरानी बढाउँदै आएका छन्। विशेषगरी पूर्व अर्थमन्त्रीहरूसँगको निकटता र बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेश गराएको विषयमा पनि उनको नाम मुछिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत उनीमाथि गोप्य रूपमा छानबिन गरिरहेको बुझिएको छ। अनुसन्धानलाई सघाउन र प्रमाण नष्ट हुन नदिनका लागि उनलाई तत्काल विदेश जानबाट रोक लगाइएको स्रोतले जनाएको छ।
यसअघि पनि भट्ट विभिन्न विवादास्पद व्यापारिक सम्झौता र राजनीतिक सेटिङका कारण चर्चामा आइरहने पात्र हुन्। पासपोर्ट रोक्का भएसँगै अब उनले कानुनी प्रक्रिया पूरा नगरी नेपाल छोड्न पाउने छैनन्।