अवसरको जनादेश, आक्रोशको छायाँ

अवसरको जनादेश, आक्रोशको छायाँ

  • बुधबार, चैत्र ११, २०८२
  • विजयकुमार

  • 16.9K
    SHARES

सर्वप्रथम, फागुन २१ को निर्वाचन परिणामलाई स्वीकार गर्दै रास्वपालाई आगामी शासनयात्राका लागि बधाई र शुभकामना दिनु नै सम्पूर्ण राजनीतिक दलहरूकाे लोकतान्त्रिक संस्कारको अनिवार्य पक्ष हो। रास्वपा सरकारको “सुनौलो सय दिन” ऐतिहासिक विश्वास निर्माणको आधार बन्न सकोस् भन्ने अपेक्षा अस्वाभाविक हैन । तर , नेपाली जनमत तीव्र गतिको आशामा  प्रकट हुने भएकाले छिट्टै निराशामा रूपान्तरण हुनसक्ने जाेखिम नजरअन्दाज गर्न मिल्दैन । नेपालको मतदान व्यवहार विचारधारा र विवेक भन्दा बढी असन्तोष र तीव्र परिवर्तनको आकांक्षाबाट निर्देशित हुन्छ  त्यसमाथि जेन्जी घटना, सुशिला कार्की नेतृत्वको सरकार, चुनावी खटनपटन र प्रचारमा अदृश्य विदेशी शक्तिको भुमिका छ भन्ने “Conspiracy theory” नै भए पनि समाजमा चर्चामा छ। यस्तो षडयन्त्रमुखि सिद्धान्तको पुष्टि हुनेभन्दा खारेज हुने गरी सरकारको कामकारबाही होला कि नहोला भन्ने पनि सर्वत्र चासो छ ।

यतिबेला माथि उल्लेखित यथार्थतालाई बेवास्ता गर्नु रास्वपाका लागि घातक भ्रम हुन सक्छ। बहुदलीय पुनर्स्थापना पछिको तीन दशकको नेपाली राजनीति मूलतः “निराशाबाट जन्मिएका विकल्पहरूकै” इतिहास हो। २०४६ को आन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य गर्‍यो तर त्यसपछिको शासनले अपेक्षित सुशासन र समावेशिता दिन सकेन। त्यसैको परिणामस्वरूप माओवादी विद्रोह जन्मियो। विद्रोहपछिको गणतान्त्रिक व्यवस्थाले पनि संस्थागत स्थायित्व, आर्थिक अवसर र पारदर्शिता दिन नसक्दा पुराना दलहरूप्रतिको वितृष्णा गहिरिँदै गयो। रास्वपाको उदय यही निरन्तर असन्तोषको नवीन राजनीतिक रूपान्तरण हो – कुनै शुद्ध वैचारिक क्रान्ति होइन। काम गर्दै जाँदा सरकारको इमान र कार्यसम्पादनमा अलिअलि तल-माथि हुँदा पनि त्यसलाई ‘डिफेन्ड’ गर्ने र केहि हदसम्म सम्भावित जनआक्रोषलाई मत्थर पार्ने बलियो, कसिलो र अनुशासित पार्टी संगठन रास्वपाको छैन। एकातर्फ, यस्तो अवस्थामा सुधारको महत्वाकांक्षी अपेक्षा राखेका मतदाताको आक्रोष नै रास्वपा तर्फ खनिन सक्छ। अर्कोतर्फ, पुराना दलका बाँकी रहेका र हारले मुर्मुरिएका लाखौं कार्यकर्ताहरू कतिबेला रास्वपाले राजकाजमा गल्ति गर्ला भनेर पर्ख र हेर कै अवस्थामा छन्।

लाेकतन्त्रमा कुनै पनि जनादेश स्थायी वैचारिक समर्थनको रूपमा हुँदैन यहि राजनीतिक यथार्थलाई बेवास्ता गर्नु नै हरेक राजनीतिक शक्तिहरूको पहिलो रणनीतिक भूल बन्ने गरेकाे छ । त्यसैले फागुन २१ को रास्वपालाई प्राप्त जनमतलाई “जनसमर्थन” भन्दा पहिला “जनआक्राेस” काे मतका रूपमा बुझ्नुपर्छ। यो जनआक्राेसकाे जनादेशले अवसर दिएको छ तर सर्तविहीन विश्वास दिएको छैन। यही सूक्ष्म भिन्नता बुझ्न नसक्दा नेपाली राजनीतिमा पुनरावृत्त हुने चक्र जन्मिन्छ – जहाँ हिजोको आशा आजको निराशामा रूपान्तरण हुन्छ। रास्वपाको वास्तविक परीक्षा लोकप्रियताबाट नीतिगत स्पष्टतातर्फ र नाराबाट संस्थागत रूपान्तरणतर्फको संक्रमण हाे । सुशासनको वाचा बाेलीमा हैन व्यवहारमा, निर्णय प्रक्रिया /कार्यन्वयनमा पारदर्शिता, प्रशासनिक सुधार र सेवा प्रवाहमा देखिने ठोस परिणाममार्फत प्रमाणित हुनुपर्छ। अन्यथा “नयाँ” को ब्रान्डिङ चाँडै नै पुरानै असफलताको अर्को संस्करणमा सीमित हुनेछ। नेपाली मतदाताले केवल मतपत्रमा हैन परिणाममा विकल्प खोजेका हुन । अन्ततः, नेपाली लोकतन्त्रको मूल संकट विकल्पको अभाव होइन-विकल्पको पुनरावृत्ति हो। जबसम्म राजनीतिक परिवर्तन अनुहारको फेरबदलमै सीमित रहन्छ र संस्थागत संस्कार, नीतिगत स्थिरता तथा उत्तरदायित्वको अभ्यासमा रूपान्तरण हुँदैन तबसम्म यो चक्र तोडिँदैन।

फागुन २१ पछि पनि रास्वपा नेपाली मतदाताका लागि स्थायी वैचारिक राजनीतिक शक्ति भन्दा पुरानो संरचनाप्रतिको असन्तोषबाट जन्मिएको संक्रमणकालीन विकल्प हो। कतिपय स्थानमा उम्मेदवारभन्दा दलकाे  नाममा मतदान हुनु नै मतदाता मनोविज्ञानको स्पष्ट संकेत र उदाहरण हो। तर राजनीतिक इतिहास कठोर हुन्छ  आन्दोलनको वेगले उठेका शक्तिहरू संस्थागत क्षमतामा चुक्दा छिट्टै क्षीण हुन्छन्। इटालीको Five Star Movement काे तीव्र उदयपछि दिशाहीन बन्दै कमजोर भयो, फ्रान्सको En Marche व्यक्तिकेन्द्रित सीमाभित्रै अल्झियो भने भारतको आम आदमी पार्टीले पनि आन्दोलनबाट शासनमा रूपान्तरण गर्दा कठोर परीक्षा भोग्यो। रास्वपाको अबको निर्णायक घडी यहीँ हो- आक्रोशलाई नीतिमा र लोकप्रियतालाई परिणाममा रूपान्तरण गर्न नसके अन्तिम सत्य उही रहन्छ- जनताले सरकार होइन, विश्वास बदल्छन्। जब विश्वास बदलिन्छ  तब अवसरको जनमत फेरि आक्रोशमै फर्किन्छ।

एकातर्फ, पेसागत छवि, भाषण र सामाजिक सञ्जालले क्षणिक लोकप्रियता दिन्छ तर नीति उत्पादन गर्दैन भन्दै रास्वपालाई आलोचना गर्नेहरूले रास्वपाले श्रृङ्गारिक राजनीतिकाे पक्षपोषण गरिरहेको तर्क गर्दै रास्वपाकाे जनमत नानीमैयाँ दाहालको विस्तारित रूप भएको र जसकाे भावनात्मक शैलीले तत्काल जनताको ध्यान खिचेपनि दीर्घकालीन परिवर्तन ल्याउन नसक्ने जिकिर गर्दछन् । अर्काेतर्फ, अन्तर्राष्ट्रिय दृष्टान्तले पनि के स्पष्ट पार्छ भने ब्राजिलको Lula र भारतको आम आदमी पार्टीले आन्दोलनात्मक लोकप्रियतामा सीमित रहँदा नीति र संस्थागत क्षमतामा रूपान्तरण नगरी आफ्नो चुनौती झेलिरहेका छन् । तसर्थ, राजनीति केवल भावनाको खेल होइन; दीर्घकालीन सफलता झिलिमिली छवि वा भाषणको चमकमा होइन ठोस नीति, रणनीति र कार्यान्वयन क्षमतामा निर्भर गर्छ। रास्वपाको वास्तविक परीक्षा यहीँ छ; श्रृङ्गारको आगो नीति, निर्माणको चिरागमा परिणत गर्न सक्छ कि सक्दैन ?

विश्वका सफल राजनीतिक मोडल फरक-फरक दिशामा उभिएका छन्। महात्मा गान्धीले सादगीपन, नैतिकता र आन्दोलनबाट शक्ति निर्माण गरे। जवाहरलाल नेहरूले सम्भ्रान्त सोच लिएर राज्य निर्माण र समावेशितामा केन्द्रित भएर राष्ट्रिय एकता खडा गरे। ली क्वान यूले टेक्नोक्र्याटिक दक्षतामार्फत सिंगापुरको विकास सुनिश्चित गरे । महाथिर मोहम्मदले दीर्घकालीन आर्थिक नीति र प्रशासनिक सुधारमार्फत मलेसियामा स्थायित्व स्थापित गरे भने मोदीले व्यक्तिगत लोकप्रियता र आन्दोलनात्मक ऊर्जा मार्फत सत्ता पाएर नीतिगत निर्णय र प्रशासनिक कार्यान्वयनमा दीर्घकालीन परिणाम निर्माण गर्दैछन्। तर, नेपालकाे  राजनीति प्रायः आक्रोश, असन्तोष र विकल्प खोजीबाट जन्मिने भएकाले रास्वपाले अब यही असन्तोषको ज्वाला, नैतिकता र प्रशासनिक दक्षतालाई मिश्रित गरेर कुन मार्ग रोज्छ भन्ने निर्णायक मोडमा छ। यसको उत्तरले केवल राजनीतिक स्थायित्व होइन जनविश्वासको दीर्घकालीन दीप प्रज्वलित गर्नेछ।

कथमकदाचित आशामा प्रकट भएको रास्वपाप्रतिकाे जनमत निराशामा परिणत भयाे भने नेपाली लोकतन्त्रको ढाँचामा निर्णायक धक्का पुग्न सक्छ। जनअपेक्षाअनुसार नीति, प्रशासन र कार्यान्वयनमा सफलता हासिल गर्न नसकिने हो भने असन्तोषले फेरि आन्दोलन, चरमपन्थ र संस्थागत संकटको रूप लिन सक्छ। इतिहासले देखाएको छ कि २०४६ को पहिलो जनआन्दोलन र माओवादी विद्रोहले के पुष्टि गर्याे भने अपेक्षा पूर्ति नहुँदा सामाजिक ज्वाला अपरिहार्य रूपमा राजनीतिक विस्फोटमा परिणत हुन्छ। जनताको विश्वास केवल मतपत्रमा सीमित छैन ठोस परिणाम, पारदर्शिता र दीर्घकालीन सुधारमा निहित छ।

रास्वपाका युवा नेताहरूमा उमेरको उर्जा, देश बनाउने हुटहुटि, आ‍ैपचारिक पढाई-लेखाइ, देश भाेगेकाे र विदेश देखेकै अनुभव छन् । रास्वपाबाट भावी  प्रधानमन्त्री बालेन्द्र शाहमा नेताका रूपमा हुनुपर्ने केहि प्रतिभा र गुण अवश्य छन् तर जति छन ती मात्र पर्याप्त चाहिँ छैनन्। निश्पक्षताका साथ भन्दा डेलिभरीका हिसाबले उनको काठमाडौं महानगरकाे तीन वर्षे कार्यकारी मेयरकाे कार्यकाल त्यत्ति सन्तोषजनक पनि हैन । रास्वपा नेताहरूमा राजनीतिक चरित्र र राज्य सञ्चालनको अनुभवमा कमी छ। रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन बिचको Personal Chemistry कस्तो होला ? त्यो पनि अझै एकिन छैन । राजकाजमा हरेक मन्त्रीहरू पीएचडी डाक्टर हुन जरुरी हुँदैन । राजनीतिमा डाक्टर र डिग्री भन्दा महत्त्वपूर्ण कुरा देशप्रतिकाे निष्ठा, राष्ट्रप्रतिकाे प्रतिबद्धता, जनताप्रतिकाे उत्तरदायित्व र राजनीतिक चरित्र हाे । यी कुराहरू विश्वविद्यालयका ट्रान्सकिप्टमा ग्रेड गरिँदैन । तसर्थ रास्वपाकाे जान्नेलाई छान्ने दाबी सिमित समय शंकाको घेरामै सिमित हुनेछ ।  

यद्यपि , रास्वपाको निर्वाचन सफलता अब केवल पार्टी भविष्यको मापदण्ड होइन यो नेपाली लोकतन्त्रको मेरुदण्ड जाँच्ने निर्णायक क्षण हो, जहाँ जनताको विश्वासको ज्वालामुखी रास्वपा सरकारबाट  दीर्घकालीन दीपमा परिणत हुन्छ कि हुँदैन प्रष्ट हुनेछ। राज्यसञ्चालनमा इमान, ज्ञान, बौद्धिकता, अनुभव, मर्यादा, धैर्यता, टिमवर्क लगायतका सबै पक्षकाे सन्तुलन महत्वपूर्ण हुन्छन्। रास्वपाले यि कुराको व्यवस्थापन कसरी गर्छ ? उसको सफलता यसैले निर्धारण गर्नेछ। सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ अहिले पेचिलो हुँदैगरेको भू-राजनीति र रास्वपाको विदेश नीति हुनेछ । यो विषयमा रास्वपा चुक्न पुग्यो भने यसले नसोचेको परिस्थिति सिर्जना हुनसक्छ।

अन्तमा, रास्वपाकाे निर्वाचन परिणाम केवल नयाँ दलको सफलता होइन जनआकांक्षाको संरचनात्मक विस्फोट हो । २०७९ को निर्वाचनमा स्थानीय सरकारमा स्वतन्त्र उम्मेदवारहरूकाे विजय र संघीय चुनावमा रास्वपाले प्राप्त प्रत्यक्ष र समानुपातिक मत दशकौँ देखिको बेथिति विरूद्धकाे स्पष्ट संकेत थियो जसलाई पुराना दलहरूले आफू सुध्रिने अवसरका रूपमा ठम्याएर परिणाममुखि राजनीतिमा रूपान्तरण गर्न सकेनन् । राजनीतिमा परिणाम बिनाकाे संगठन र व्यक्तिगत लोकप्रियता टिकाउ पूँजी नभएर बालुवामा बनेको महलझैँ क्षणिक हुन सक्छ भन्ने स्थापित मान्यता नै हाे । तसर्थ, अब रास्वपाकाे समय नाराबाट नीतिमा र वाचाबाट परिणाममा रूपान्तरण हो। सेवा–प्रवाह समयसीमा, e-procurement र RTI dashboard जस्ता डिजिटल पारदर्शिता, कडा वित्तीय अनुशासन र भ्रष्टाचार नियन्त्रणमा मापनयोग्य प्रगति बिना जनविश्वास चाँडै क्षय हुन्छ। यदि रास्वपाले ठोस डेलिभरी गरेर फराकिलो विस्वास आर्जन गर्न सकेमा यसले नयाँ राजनीतिक मानक बसाल्न सक्छ असफल भए यही आशा पुनः आक्रोशमा बदलिँदै अस्थिरताको अर्को चक्र जन्मिन सक्छ।  अब फेरि सडकमा आक्रोष पोखिनु पर्ने अवस्थामा त्यो आक्रोषको प्रकृति अझ विध्वंसात्मक हुन सक्छ। अवसरको जनमत जोगाउन नसक्नेले आक्रोशको इतिहास दोहोर्‍याउनुपर्छ । आशा गरौं, त्यो दिन देख्न पर्ने छैन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी