पश्चिम नवलपरासी, ५ चैत ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवप्रसाद भण्डारी जग्गा कारोबारमा ठगी गरेको गम्भीर आरोपमा मुछिनुभएको छ। आफ्नै व्यावसायिक साझेदारलाई जानकारी नदिई २ करोड बराबरको जग्गा बिक्री गरेको र हिसाब नगरी फरार रहेको आरोप उहाँमाथि लागेको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा पीडित पक्षका झविन्द्र ज्ञवालीले भण्डारीले अनुचित शैली अपनाएर जग्गा बिक्री गरेको र अहिले सम्पर्कविहीन भएर भागिहिँडेको बताउनुभयो। साझेदारलाई कुनै पत्तो नदिई २०८२ फागुन २९ गते १६ कित्ता जग्गा २ करोडमा बिक्री गरियो, ज्ञवालीले भन्नुभयो, अहिले उहाँ प्रत्यक्ष सामना नगरेर भागिहिँड्नुभएको छ, त्यसैले हामीले न्यायका लागि समाज गुहारेका छौँ।
समाजको निर्णय मान्न तयार
पीडित ज्ञवालीले यो विवादलाई सामाजिक रूपमा सुल्झाउन चाहेको संकेत गर्दै भन्नुभयो,समाजले यो विषयमा जे निर्णय गर्छ, म त्यो मान्न तयार छु,उहाँले आफूहरूले सुरुवाती चरणमा भण्डारीको व्यक्तिगत ऋण तिर्न सहयोग पुगोस् भनेर कम रकम बुझेको तर पछि विश्वासघात भएको दाबी गर्नुभयो।
के भन्छन् भण्डारी ?
यता केशव भण्डारीले भने आफूमाथि लागेको आरोपको खण्डन गर्दै ज्ञवाली दम्पती साझेदार नभई केवल कमिसनमा काम गर्ने व्यक्ति भएको जिकिर गर्नुभएको छ। उहाँले काम गरेबापतको रकम दिइसकेको र कुनै कानुनी साझेदारी नरहेको दाबी गर्दै आउनुभएको छ।
नवलपरासीको बर्दघाट-५ मा रहेको २२ कठ्ठा जग्गाको यो विवाद अहिले स्थानीयस्तरमा निकै पेचिलो बनेको छ।