२ चैत, काठमाडाैं । रामेछापकाे दाेरम्बा शैलुङ गाउँपालिकाकाे ६ र ७ नं. वडाका स्थानीयकाे घर फाेडेर धन सम्पत्ति चाेरेर क्षति पुर्याएकाे आराेपमा २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
गत हप्ता वडा ७ नं. खापुमा स्थानीय दम्पत्ति डिलकुमारी र बमबहादुर नगरकोटीको घरमा दिउँसाे काेहि नभएकाे मौका छोपी ढोकाको ताल्चा फाेडेर घरभित्र पसेर नगद १५ हजार रुपैयाँ र आधा तोलाको सुनको तिलहरी चोरी गरी फरार भएका २ जनालाई वडाध्यक्ष प्रविणकुमार माेक्तानकाे सशक्त सक्रियता र स्थानीयकाे सहयाेगमा पक्राउ गरिएको हाे ।
पक्राउ पर्नेमा जिल्लाकै सुनापति गाउँपालिका-४ का २९ वर्षीयआटी तामाङ र सोहि स्थानका बस्ने ३७ वर्षीय फेमस तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय मन्थलीले जनाएकाे छ । चाेरीका घटनालगत्तै जिल्लाका नाकामा सुरक्षा बढाई निगरानी र चेकजाँच बढाउँदा उनीहरू पक्राउ परेका हुन् ।
अभियुक्तहरूले सोही गाउँपालिका–६ का रिष्ठेमा सुकदेव गौतमको घरको ढोका फुटाएर एक थान ल्यापटप र ३ हजार रुपैयाँ नगद समेत चोरी गरेकाे खुलेकाे प्रहरीको दाबी छ । पीडित र जनप्रतिनिधिहरूले दिएकाे सूचनाका आधारमा ठूलाे शैलुङ खाेलखर्क सडकमा गत शनिबार चेकजाँच गर्दा तामाङद्वयलाई माेटरसाइकल र निजहरूकाे साथमा रहेकाे झाेलाबाट चाेरीका सामन, गहना बरामद भएकाे थियाे । दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाइएकाे छ ।
यस्तै गएकाे फागुन २८ गते जिल्लाकाे लिखुतामाकोशी गाउँपालिका–६ माथिल्लो खिम्ती बजारमा संचालित स्थानीय बद्रिबहादुर थापाकाे खाजा पसल अपरान्ह फाेडेर नगद र पसलमा रहेका मालसामन चाेरी गरेकाे आराेपमा साेही ठाउँका २१ वर्षीय विनाेद थापालाई प्रकाउ गरी मनथलीमा ल्याई आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
दिउँसाे ताल्चा मारेर मेलापात वा चरूवा गएकाे घर फाेडेर चाेरी हुन थालेपछि स्थानीयलाई सजग बन्न र अपरिचित व्यक्ति देखिएमा निगरानी राख्न भनेकाे वडाध्यक्ष माेक्तानले बताए ।