नुवाकोट । स्थानीय तहमा जनमत गुमाउँदै गएका कतिपय राजनीतिक समूहहरू पछिल्लो समय सरकारी शक्तिको आडमा अराजकता र उच्छृङ्खलताको सहारा लिन थालेका छन्। यसै क्रममा फागुन १७ गते नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) माथि ‘उज्यालो नेपाल पार्टी’ का कार्यकर्ताहरूले योजनाबद्ध रूपमा बाटो छेकेर दुर्व्यवहारको प्रयास गरेका छन्। तर, अध्यक्ष तामाङको उच्च राजनीतिक संस्कार र अदम्य संयमताका कारण पञ्चकन्यामा हुन सक्ने ठूलो झडप र सम्भावित रक्तपात टरेको छ।
दुप्चेश्वरबाट फर्कने क्रममा पञ्चकन्या-४ आइपुग्दा अध्यक्ष तामाङको सवारी साधनलाई उज्यालो पार्टीका कार्यकर्ताहरूले अवरोध गरेका थिए। विगतमा नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका र हाल उज्यालो पार्टीमा प्रवेश गरेका समरसिंह तामाङको नेतृत्वमा आएको एक उच्छृङ्खल समूहले सडक अवरुद्ध गरेको थियो।
प्रत्यक्षदर्शी सोनाम तामाङका अनुसार, ककनी र शिवपुरी क्षेत्रबाट करिब ३० वटा मोटरसाइकलमा आएका अपरिचित युवाहरूको समूहले मादक पदार्थ सेवन गरी बाटो छेकेका थिए। उक्त समूहले गाउँपालिका अध्यक्ष सवार गाडीलाई जबर्जस्ती रोकेर गाडीमा रहेको पार्टीको झण्डा निकाली च्यात्ने र अभद्र व्यवहार गर्ने प्रयास गरेका थिए। पञ्चकन्याको शान्त वातावरणलाई खल्बल्याउन बाहिरबाट आएका ती युवाहरूले सामाजिक सद्भावसमेत बिगार्न खोजेको स्थानीय बिमल तामाङको आरोप छ।
“समरसिंह तामाङसहित औंलामा गन्न सकिने स्थानीयबाहेक अरू सबै बाहिरका युवाहरू थिए। उनीहरूको उद्देश्य नै उत्तेजना फैलाउनु देखिन्थ्यो,” स्थानीय विक्की तामाङले बताए।
यस घटनाको सबैभन्दा गम्भीर र आपत्तिजनक पक्ष भनेको नेपाल सरकारका बहालवाला सहसचिव रुद्रसिंह तामाङको अप्रत्यक्ष संलग्नता र पर्दा पछाडिको भूमिका हो। पञ्चकन्याको शान्त वातावरणलाई बिथोल्न र उज्यालो नेपाल पार्टीको क्याम्पेनिङलाई बल पुर्याउन सहसचिव तामाङले रणनीतिक भूमिका खेलेको स्थानीयको गम्भीर आरोप छ ।
निजामती सेवाको मर्यादा र आचारसंहिता विपरीत सहसचिव तामाङले आफ्नै सहोदर भाइ समरसिंह तामाङलाई अगाडि सारेर गाउँमा राजनीतिक मुठभेडको वातावरण सिर्जना गरेको पाइएको छ। दाजु रुद्रसिंहको बलियो साथ र आड पाएर नै समरसिंहले बाहिरिया गुण्डाहरू परिचालन गरेको चर्चा गाउँमा व्यापक छ। “सरकारको उच्च ओहोदामा बसेर राजनीति गर्ने र आफ्नै गाउँको जनप्रतिनिधि विरुद्ध गुण्डा परिचालन गर्ने कार्य निन्दनीय छ,” एक स्थानीयले आक्रोश पोखे।
अध्यक्ष तामाङ घलेभन्ज्याङ आइपुग्दा घटनाको डढेलो सर्वत्र फैलिसकेको थियो र सयौंको संख्यामा आक्रोशित स्थानीयहरू प्रतिकारका लागि भेला भएका थिए। तर, अध्यक्ष तामाङले भीडलाई सम्जाउँदै कानुन हातमा नलिन र शान्ति कायम राख्न आग्रह गर्नुभयो । उहाँको यो परिपक्वताले एकातिर उज्यालो पार्टीको ‘गुण्डागर्दी शैली’लाई उदाङ्गो पारेको छ भने अर्कोतिर जनप्रतिनिधिको धैर्यता र जनउत्तरदायी चरित्रलाई पुनः पुष्टि गरेको छ ।
आफूमाथि प्रत्यक्ष दुर्व्यवहार हुँदा र पार्टीको झण्डाको अपमान गरिँदा पनि अध्यक्ष तेजबहादुर तामाङले संयमता प्रदर्शन गर्नुभयो। स्थानीय रामबाबु विस्टका अनुसार उहाँले आफ्ना कार्यकर्ता र आक्रोशित स्थानीयलाई “यो समय झैझगडा र प्रतिशोधको होइन, विकास र एकताको हो” भनेर सम्झाउनु भएको थियो।
आफ्नै पालिकाको गरिमा र जनप्रतिनिधिमाथि बाहिरिया मानिस ल्याएर आक्रमण गर्ने उज्यालो पार्टीको यो निकृष्ट कार्यको अहिले जिल्लाभर आलोचना भइरहेको छ। पञ्चकन्याबासीले सरकारी सेवामा रहेर राजनीतिक उच्छृङ्खलता फैलाउन मद्दत गर्ने सहसचिवमाथि समेत छानबिन हुनुपर्ने माग गरेका छन्। “राजनीतिमा विचारको लडाइँ हुनुपर्नेमा भौतिक आक्रमण र अभद्र व्यवहारमा उत्रने प्रवृत्तिले लोकतन्त्रलाई नै कमजोर बनाउँछ,” स्थानीय मिन लामाले बताउनुभयो।
यस घटनाले उज्यालो नेपाल पार्टीको अराजक स्वरूपलाई जनताका माझ उदाङ्गो पारिदिएको छ भने अध्यक्ष तामाङको नेतृत्वदायी भूमिकालाई थप मजबुत बनाएको छ।