लोकतन्त्रको मूलमर्म जनसत्ता र जनसत्ताको मूर्त अभिव्यक्ति नै जनमत हो। लोकतन्त्रमा जनमतको सार्वभौमिकताले राज्यसत्तालाई जनइच्छाबाट निर्देशित गर्नुपर्छ र शासकहरूलाई जनताप्रति जवाफदेही तथा उत्तरदायी बनाउनुपर्छ। निर्वाचनमार्फत अभिव्यक्त जनमत विवेकपूर्ण र संस्थागत प्रक्रियामा रूपान्तरण भए मात्र लोकतान्त्रिक आत्मा जीवित रहन्छ। डेलिभरीविहीन लोकतन्त्रले जनआक्रोश जन्माउँछ र त्यही आक्रोशको जगमा “जनताको साँचो आवाज” को एकाधिकार दाबी गर्दै पपुलिजम उदाउँछ। जब समाज पपुलिजमबाट प्रभावित हुन्छ तब सामान्यतः लोकतन्त्र नै धरापमा पर्नेगर्छ । परिणाममुखी राजनीति जुनसुकै देशमा पनि विचारद्वारा निर्देशित हुन्छ; तर जब लोकतन्त्रमा पपुलिजम हावी हुन्छ, जटिल समस्याहरूलाई सरल नारामा सीमित गरी जनमतको आवरणमा राज्य संरचनाको संस्थागत गरिमा र प्रभावकारिता अवमूल्यन हुने खतरा बढ्छ। लोकतन्त्रलाई जवाफदेही र उत्तरदायी बनाउने कि जनभावनालाई सिर्फ सत्ता-कब्जाको साधन बनाउन उद्दत पपुलिष्टहरूकाे पक्षपोषण गर्ने ? यो रोजाइ लाेकतन्त्रमा सार्वभौम जनताकै विवेकमा निर्भर हुन्छ।
निर्वाचन वैध प्रक्रिया मात्र होइन; यसमा व्यक्त जनमत सूचित सहमतिको परिणाम पनि हाे । त्यसैले, परिपक्व लोकतन्त्रमा जनमतकाे विवेक, उत्तरदायित्व र दीर्घकालीन सार्वजनिक हित एकअर्कामा अभिन्न रूपमा गाँसिएका हुन्छन ।
डेमोक्रेसीमा सार्वभौम जनताले पलपलमा के बुझ्न जरुरी हुन्छ भने, जनमत केवल हा-हु मा बटुलिएको भीड वा अंकगणितीय परिणाम होइन यो त समाजको संवैधानिक मूल्य, राजनीतिक चेतना र सार्वजनिक सहमतिले निर्मित निर्णय पनि हो । रूसोको “सामान्य इच्छा” (General Will) ले जनसत्तालाई निजी स्वार्थभन्दा माथि राख्दै सामूहिक हितलाई सार्वभौमिकताको आधार ठान्छ भने लिंकनको “of the people, by the people, for the people” ले शासनको स्रोत, प्रक्रिया र उद्देश्यलाई जनताकाे दैनिकीसँग जोड्छ। तथापि, आधुनिक लोकतान्त्रिक सिद्धान्त विशेषतः deliberative democracy ले जनमतलाई तर्क, सार्वजनिक बहस र आलोचनात्मक संवादबाट परिष्कृत हुने प्रक्रियालाई आधार मान्ने गर्दछ । उल्लेखित दृष्टिकोणबाट हेर्दा, निर्वाचन वैध प्रक्रिया मात्र होइन; यसमा व्यक्त जनमत सूचित सहमतिको परिणाम पनि हाे । त्यसैले, परिपक्व लोकतन्त्रमा जनमतकाे विवेक, उत्तरदायित्व र दीर्घकालीन सार्वजनिक हित एकअर्कामा अभिन्न रूपमा गाँसिएका हुन्छन ।
आधुनिक लोकतन्त्रकाे सैद्धान्तिक विश्लेषण अनुसार, पपुलिजमले संवैधानिक प्रक्रिया, बहुलवाद, दीर्घकालीन नीति र राजनीतिक स्थायित्वलाई नै चुनौती दिन्छ।
पपुलिजमलाई जनजीब्राेकाे भाषामा “जनताको नाममा गरिने भावनात्मक राजनीति” पनि भन्ने गरिन्छ जसले “सच्चा जनता” र “भ्रष्ट नेता” काे भाष्य निर्माण गरेर असंगठित र अवैचारिक समुहहरू एकआपसमा जाेडिँदै राजनीतिक वैधता निर्माणकाे प्रयास गर्छन । एकातर्फ, पपुलिजमले राज्यसत्ताप्रतिको जनताको असन्तुष्टि, बेरोजगारी, भ्रष्टाचार र संरचनात्मक असमानतालाई राजनीतिक पुँजी बनाउँछ । अर्कोतर्फ, राजनीतिमा एउटा Charismatic नेतृत्व खडा गरि सामूहिक असन्तोषलाई प्रतीकात्मक स्वर दिन्छ र सामाजिक सञ्जालले ती भावनाहरूलाई अतिरञ्जित प्रचार गर्दै संस्थागत र वैचारिक विमर्शहरूलाई नै ओझेलमा पार्छन । आधुनिक लोकतन्त्रकाे सैद्धान्तिक विश्लेषण अनुसार, पपुलिजमले संवैधानिक प्रक्रिया, बहुलवाद, दीर्घकालीन नीति र राजनीतिक स्थायित्वलाई नै चुनौती दिन्छ। यसरी, लाेकतन्त्रमा पपुलिजमकाे भावनात्मक उर्जाले वैचारिक बहसलाई आेझेलमा पार्दै सार्वभौम जनतालाई भ्रमित पारेर जनमतलाई प्रभावित पार्ने गर्दछ ।
मनोवैज्ञानिक भावबाट आम नागरिकको भावनासँग खेल्ने लोकतन्त्रभित्रकै छद्मभेषीहरूकाे एक्स्ट्रिम पपुलिजममा आम नागरिककाे अस्वाभाविक अग्रसरता र आकर्षण देखिनु भनेको दलहरूप्रतिको विश्वास टुट्नु हो ।
लाेकप्रियताकाे दाैडमा अलाेकतान्त्रिक शैलीमा गरिने अस्वाभाविक, असान्दर्भिक, अपरिपक्व र अराजनीतिक व्यवहारले आमजनतामा भ्रम मात्रै सिर्जना गर्छ । लाेकतन्त्रमा विराेधकाे आवाज सिर्फ तर्कमा भन्दा तथ्य र तथ्यांकमा स्थापित हुनुपर्छ । मनोवैज्ञानिक भावबाट आम नागरिकको भावनासँग खेल्ने लोकतन्त्रभित्रकै छद्मभेषीहरूकाे एक्स्ट्रिम पपुलिजममा आम नागरिककाे अस्वाभाविक अग्रसरता र आकर्षण देखिनु भनेको दलहरूप्रतिको विश्वास टुट्नु हो । दलहरूप्रतिको विश्वास टुट्नु भनेको लाेकतन्त्र धरापमा पर्नु हाे । अन्ततः लाेकतन्त्रकाे चुनाैती लाेकतन्त्र भित्रकै “डेमागग” हरूकाे उदय हाे । लोकतन्त्रभित्रका आंशिक असफल वा विफल शासक भन्दा अलाेकतान्त्रिक र अराजनीतिक छद्मभेषी शासक झन् डरलाग्दा हुन्छन् । त्यसैले त भन्ने गरिन्छ, “डेमागग डिष्टर्ब एण्ड ड्यामेज द डेमोक्रेसी ।”
बेरोजगारी, राज्यबाट प्राप्त हुने अवसर र व्यक्तिगत अभावबाट निराश युवा पुस्ता राजनीतिमा फिल्मि शैलीको नयाँ हिराेकाे खाेजी गर्न, सिस्टम विरोधी अभिव्यक्ति र अभियानमा लाग्न उत्सुक र आकर्षित हुन्छन ।
लाेकतन्त्रमा जनमत र पपुलिजमबीचको संरचनागत द्वन्द्व मूलतः संस्थागत- वैचारिक र व्यक्तिगत-भावनात्मक राजनीतिक अभिव्यक्ति बीचको टकराव हो । जनमत दीर्घकालीन, प्रक्रियागत र सार्वभौम जनताद्वारा मतपत्रमा प्रकट अभिव्यक्ति हो जसले वैचारिक बहस, स्वस्थ आलोचना र माैन सहमतिमार्फत वैधता आर्जन गर्छ। यसको ठिक विपरीत, पपुलिजम व्यक्तिको कुण्ठा र क्षणिक भावनात्मक उछालमा आधारित Plebiscitary प्रवृत्तिसँग निकट हुन्छ । Deliberative Democracy ले तर्कसङ्गत सार्वजनिक विमर्श र सूचित सहमतिलाई प्राथमिकता दिन्छ भने Plebiscitary Democracy ले राजनीतिको जटिल समस्याहरूलाई सिर्फ प्रतिक्रियात्मक राजनीतिमा सीमित गरि तात्कालिक परिणामकाे अनुमोदनमा केन्द्रित हुन्छ। यही अन्तरले निर्वाचनमा सचेत मतदाताको विवेक र भीडको आवेगबीच सीमा कोर्दै लोकतन्त्रको स्थायित्व र अस्तित्व निर्धारण गर्दछ ।
समाजलाई विभाजित र भीड मनोविज्ञानलाई उकास्न AI बाट निर्मित भावनात्मक भिडियोहरू, तथ्यहीन राष्ट्रवाद र पपुलिस्ट नारालाई फोन–फार्मिङमार्फत महामारीझैँ फैलाएर मतदातालाई प्रभावित गरिन्छ। पपुलिजमले निराश समाजलाई अल्पकालीन उर्जा दिएपनि विधीकाे शासन, नीतिगत सुधार र लोकतान्त्रिक स्थायित्वमा दीर्घकालीन जोखिम उत्पन्न गर्छ। त्यसैले, संक्रमणकालीन लोकतन्त्रमा जनमत र संस्थागत परिपक्वताबीच सदा सर्वदा सन्तुलन अपरिहार्य हुन्छ।
संक्रमणकालीन लोकतन्त्रमा राजनीतिक परिवर्तन सम्पन्न भए पनि संस्थागत सुदृढीकरण अधूरो हुन्छ। राजनीतिक दलप्रतिको अविश्वास, शासन- डेलिभरीमा सुस्तता, भ्रष्टाचार र संरचनात्मक असमानताले नागरिककाे अपेक्षा र देशकाे यथार्थता बीच क्रमशः दूरी बढाउँछ । विशेषतः बेरोजगारी, राज्यबाट प्राप्त हुने अवसर र व्यक्तिगत अभावबाट निराश युवा पुस्ता राजनीतिमा फिल्मि शैलीको नयाँ हिराेकाे खाेजी गर्न, सिस्टम विरोधी अभिव्यक्ति र अभियानमा लाग्न उत्सुक र आकर्षित हुन्छन । एकातर्फ, राजनीतिक परिवर्तन पछिकाे संस्थागत सुदृढीकरणकाे क्रममा रहेका राज्य संयन्त्र र अर्काेतर्फ पेसागत सफलताबाट सिर्जित व्यक्तिकेन्द्रित सफलताले संस्थागत उपलब्धिलाई नै ओझेलमा पार्न सक्छ अझ साँघुरिएर भन्दा चुनाैती दिनसक्छ । पपुलिजमले निराश समाजलाई अल्पकालीन उर्जा दिएपनि विधीकाे शासन, नीतिगत सुधार र लोकतान्त्रिक स्थायित्वमा दीर्घकालीन जोखिम उत्पन्न गर्छ। त्यसैले, संक्रमणकालीन लोकतन्त्रमा जनमत र संस्थागत परिपक्वताबीच सदा सर्वदा सन्तुलन अपरिहार्य हुन्छ।
आज, निर्वाचनमा सामाजिक सञ्जाल जनमत निर्माणको निर्णायक माध्यम बनेको छ जहाँ समाज सहि सूचना भन्दा काल्पनिक र AI निर्मित प्रचारात्मक सामग्रीबाट प्रभावित हुनेगर्छन । समाजलाई विभाजित र भीड मनोविज्ञानलाई उकास्न AI बाट निर्मित भावनात्मक भिडियोहरू, तथ्यहीन राष्ट्रवाद र पपुलिस्ट नारालाई फोन–फार्मिङमार्फत महामारीझैँ फैलाएर मतदातालाई प्रभावित गरिन्छ। डिजिटल प्लेटफर्मले वैचारिक बहसको स्थान संकुचित गर्दै पपुलिस्ट रणनीतिलाई सामाजिक सञ्जालमा क्षणिक असामान्य शक्ति दिन सक्छ तर जनताले चाहे बंगलादेश र थाइल्यान्डमा जसरी नै पपुलिजमलाई अस्वीकृत गरि पपुलिष्टहरूकाे राजनीतिक धैर्यता परिक्षण पनि गर्न सक्छन ।
लोकतन्त्र केवल आवधिक र प्राविधिक चुनावी प्रक्रिया मात्रै नभएर सशक्त संस्था, सक्रिय नागरिक समाज, स्वतन्त्र प्रेस र न्यायपालिकाको संयोजन पनि हो । नागरिक शिक्षा र सूचित राजनीतिक चेतनाले मतदातालाई भावनात्मक उन्मादभन्दा बढी विवेकपूर्ण मतदानको निर्णयमा सक्षम बनाउँछ । स्वतन्त्र प्रेस, पारदर्शी नागरिक समाज र तथ्य परीक्षण गर्ने तत्काल एक्सनमा जानसक्ने राज्य संयन्त्र भए पपुलिजम र पपुलिस्ट शक्ति/व्यक्ति दुबैलाई चुनौती थपिन्छ । मतदाता शिक्षा, चेतना र राज्यको संस्थागत मजबुती बलियो भए जनमतलाई पपुलिजमको क्षणिक प्रभावबाट जोगाउने र नीति–निर्माणलाई दीर्घकालीन स्थायित्वमा बाँध्ने काम गर्छ।
लाेकतन्त्रमा पपुलिजलाई निर्विकल्प /पूर्ण विकल्पकाे रूपमा बुझ्नु अगाडि सामाजिक असन्तुष्टि, चल्तीको राजनीति र जनताको अवशेष संवादका चेतावनी संकेतकाे रूपमा बुझ्नुपर्छ ।
विश्वका विभिन्न देशहरूले आ-आफ्ना समयमा पपुलिजमका उतार-चढाव अनुभव नगरेका हैनन। युक्रेनमा लोकप्रियताको लहरमा उदाएका जेलेन्स्कीले परम्परागत राजनीतिक संरचनालाई चुनौती दिएपनि भू-राजनीतिक यथार्थ र क्षेत्रीय शक्ति–सन्तुलनका जटिलताले देशलाई गम्भीर संकटतर्फ धकेलेर युद्धमै पुर्याएकाे तथ्य हाम्रै आँखा अगाडि छ । भर्खरै मात्र बंगलादेशकाे चुनावी अभियानमा सामाजिक सञ्जाल र Charismatic नेतृत्वले डिजिटल प्लाटफर्महरूमा लाेकप्रिय समर्थन जुटाएपनि चुनावी परिणाम हात पार्न सकेनन् । ठिक त्यसैगरी, सामाजिक सञ्जालमा चर्चित अनुहार र युवा नेताहरूले भरिएको थाइल्यान्डकाे पिपुल्स पार्टीकाे परिणामले पनि उमेरको युवा र सामाजिक सञ्जालको लाेकप्रियतालाई अनुमाेदन गरेन । यी उदाहरणहरूले स्पष्ट बताउँछन् कि “Politics is guided not by populism or age, but by policy and agenda.” राजनीतिमा लोकप्रियता आवश्यक हुन्छ तर सामान्य सुझबुझ र परिपक्वता बिनाकाे चटके पपुलिजमले निराशामा अल्पकालीन ऊर्जा भरेपनि लाेकतन्त्रमा दीर्घकालीन जोखिमकै विजाराेपण गर्छ ।
लोकतन्त्रको दीर्घकालीन स्थायित्व भनेको जनमतको विवेकपूर्ण प्रयाेग र संस्थागत मजबुतीको सन्तुलनमै निर्भर हुन्छ । एकातर्फ शिक्षित, सु-सूचित र आलोचनात्मक चेत भएका नागरिकहरूले जनमतलाई भावनात्मक लाेकप्रियताबाट अलग राख्न सक्षम हुन्छन भने अर्काेतर्फ सुधारवादी राजनीति र जवाफदेही नेतृत्वले Deliberative democracy र institutional checks and balances सुनिश्चित गर्दै अल्पकालीन पपुलिस्ट उभारलाई नियन्त्रित गर्न सक्नुपर्छ । लाेकतन्त्रमा क्षणिक लोकप्रियतामा बहकिने मात्रै होइन नीति–निर्माणमा गाम्भिर्यता, विधीकाे शासन, सदाचार, सार्वजनिक जवाफदेहिता र उत्तरदायित्वलाई मतदाताले उत्तिकै प्राथमिकता दिनु अपरिहार्य हुन्छ। लाेकतन्त्रमा वैचारिक बहस, तथ्यपरक संवाद र संस्थागत मजबुतीले नै लोकतान्त्रिक संस्कृतिलाई दीर्घकालीन स्थायित्वमा बाँध्छ।
अन्तमा, लोकतन्त्रको सार संस्थागत जनसत्तामा निहित हुन्छ र जनसत्ताको मूर्त अभिव्यक्ति नै मतपत्रमा प्रकट विवेकशील जनमत हो । लाेकतन्त्रमा पपुलिजलाई निर्विकल्प /पूर्ण विकल्पकाे रूपमा बुझ्नु अगाडि सामाजिक असन्तुष्टि, चल्तीको राजनीति र जनताको अवशेष संवादका चेतावनी संकेतकाे रूपमा बुझ्नुपर्छ । लोकतन्त्र बलियो तब मात्र हुन्छ जब मतदाताको चेतना शिक्षित, आलोचनात्मक र उत्तरदायी अनि राज्य संयन्त्र सुदृढ र पारदर्शी हुन्छन् । पपुलिस्ट प्रवृत्तिले समाजलाई अल्पकालीन उर्जा त प्रदान गर्ला तर दीर्घकालीन स्थायित्वमा खतरापूर्ण नै हुन्छ । तसर्थ, लोकतन्त्र भीडको शासन होइन; चेतनशील नागरिक, जवाफदेही र उत्तरदायित्वको शासन हो जसले सार्वभौमिक जनमत र संस्थागत स्थायित्वबीच सन्तुलन कायम गर्दछ ।