आज २६३औँ सेना दिवस भव्य रुपले मनाईयो ( तस्वीरहरु )

आज २६३औँ सेना दिवस भव्य रुपले मनाईयो ( तस्वीरहरु )

  • आइतवार, फाल्गुन ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 40K
    SHARES

काठमाडौँ, ३ फागुनः नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरियो । उहाँ नेपाली सेनाको परमाधिपति हुनुहुन्छ ।

सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाजलगायत सैनिक कला र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

जङ्गीअङ्डामातहत पृतना, बाहिनी, गण र गुल्म तथा कूटनीतिक नियोग र शान्ति मिसनमा पनि विभिन्न कार्यक्रम गरी सेना दिवस मनाइको छ ।

सेनाको इतिहास र अन्तरराष्ट्रिय छवि

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।

वर्तमान सेनाको साङ्ठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छाड्न सफल छ ।

सैनिक वीरपुर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, ‘चेनअफ कमान्ड’ र राजनीति निरपेक्ष चरित्र र एकताको भावना उच्च संस्कार रहिआएको छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तरराष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । सैनिक सङ्गठनमा समावेशिता बढ्दै गएको छ । पछिल्लो समय महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ६२ हजार ४९६ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ ।

विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ७४ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ७७ सैनिक घाइते भएका छन् । विश्वका १० मिसनमा हाल ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन् । महिला सैनिक खटाउने देशको सूचीमा पनि नेपाल अग्रस्थानमा छ ।

विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक निरन्तर सहभागीले यसलाई पुष्टि गरेको छ ।

सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम भइरहेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै आएको सेनाले जनाएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गराउन नेपाली सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी