४ माघ, काठमाडाैं । अरनिकाे राजमार्गअन्तर्गत काभ्रेकाे सदरमुकाम धुलिखेलदेखि खावा सडक खण्डमा सडक निर्माण कार्य धमाधम भइरहेकाे छ । सम्झाैताअनुसार तीन वर्षपहिले नै सम्पन्न हुनुपर्ने काम ठेकेदारले पूरा नगर्दा गत वर्षकाे असाेज १०-१२ काे अविरल वर्षाले केही बनेकाे संरचना क्षतविक्षत तुल्याएपछि तारकाे जाली वाल उठाउने र भित्तामा लगाउने काम बन्द थियाे । अहिले ति सबै काम भइरहेकाे छ ।
चिसाेमा पनि विभिन्न ठाउँमा टाेली बनाएर मजदुरहरू निर्माण कार्यमा खटिरहेका छन् । अहिले मुख्यगरी तालजारीमा ढुंगा भरेर सडक फराकिलाे बनाउने र सडकमाथिबाट खस्ने माटाेढुंगा राेक्ने भइरहेकाे ठेकेदार कम्पनीका फिल्ड म्यानेजरले जनाएका छन् ।
चालु आवमै काम सक्नुपर्ने बाध्यता ठेकेदार रहेकाे छ । ताेकिएकै समयमा काम पूरा नगर्दा याे सडक खण्डमा यात्रुले चार वर्षदेखि चरम समस्या व्यहाेर्दै आइरहेका छन् । ठेक्का ताेडेर नयाँ ठेक्का लगाउन समेत यसअघि संसदमा आवाज उठाइएकाे थियाे । तर तालुकदार निकाय र ठेकेदारबीचकाे बिलयाे मिलेमताेका कारण काम लम्बिँदै आएकाे सराेकारवालकाे बुझाइ छ ।
पटकपटक म्याद थप्दा पनि पूरा नहुनुले मिलेमताे रहेकाे स्थानीय बताउँछन् । थाेरै वर्षा हुँदा पनि सडकमा पहिराे खस्ने घटनाले घण्टाैंसम्म सडक अवरूद्ध हुने गर्छ । घाम लाग्दा धुलाेले छपक्कै हुँदा दुर्घटना हुने ट्राफिककाे अनुभव छ । जेन जी आन्दाेलनपछि बनेकाे सरकारमा कुलमान घिसिङ भाैतिक, पूर्वाभार तथा यातायात मन्त्री बनेपछि यहाँ निर्माण कार्यले गति पाएकाे स्थानीय र चालकहरूकाे अनुभव छ । निर्माणाधिन खण्ड करिब ७ किलाेमिटर मात्र हाे ।
धेरै पटक त काठमाडाैं आउने सवारी जिराे किलाेबाट कुन्तावेसी हुँदै नगरकाेट निस्केर जगतीमा जाेडिने गरिएकाे छ । यस्ताे अवस्थामा बसले यात्रुसित जनही दुई सय रूपैयाँसम्म थप भाडा असुल्ने गर्छन् । यात्रुहरू मार खेप्न विवश छन् ।
