नेपाली कांग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि केन्द्रीय समितिले हालै गरेको कारबाही प्रकरणका सन्दर्भमा यो विचार लेख्दै गर्दा शुरूमै एउटा कुरा स्पष्ट हुनुपर्छ – यो दृष्टिकोण सभापति शेरबहादुर देउवाको बचाउमा वा “देउवालाई सही” ठहर्याउने उद्देश्यले लेखिएको पटक्कै होइन । देउवाका व्यक्तिगत कमी-कमजोरी उनका वरिपरिका स्वार्थ समूहहरूकाे याेजना, राजनीतिक भागबण्डा, निर्णय क्षमताको अभाव र संस्थागत असफलताका उदाहरणहरू प्रशस्त छन् । तर के भ्रममा नपरौँ भने यी तमाम कमी- कमजोरीहरू भन्दा कम गम्भीर छैनन् महामन्त्री द्वयका वैचारिक द्वैधता, पदीय गैरजिम्मेवारी र सुविधाजन्य विद्रोह ।
नेपाली कांग्रेसको विधान र संगठन संरचनाअनुसार महामन्त्रीकाे पद केवल प्रशासनिक जिम्मेवारी मात्रै होइन पार्टीको वैचारिक दिशानिर्देश, संगठनात्मक अनुशासन र राजनीतिक कार्यदिशा निर्धारण गर्ने केन्द्रिय अभिभारा पनि हो । अझ भनाैँ, महामन्त्री पद आफैंमा संस्थापन हाे । तर विडम्बना, महामन्त्रीमा निर्वाचित भइसकेपछि गगन र विश्वप्रकाश शर्माकाे सार्वजनिक बाेली, व्यवहार र कार्यशैलीले महामन्त्री वा संस्थापन पक्षको जिम्मेवारी बोक्ने अभिभावकीय गाम्भीर्यता र उत्तरदायित्व दुवैले कहिल्यै देखाएनन् ।
सत्य नमीठो, निर्मम र कठाेर नै हुन्छ । महामन्त्री पद संस्थापन हाे कि हैन भन्ने सत्यतथ्य नेपाली कांग्रेसका स्वयं महामन्त्रीहरूले कहिल्यै बुझ्न सकेनन् । यदि महामन्त्री पद संस्थापन होइन भने पदाधिकारीको जिम्मेवारी किन स्वीकारेकाे ? अनि हाे भने संस्थापन पक्षको असफलताको नैतिक जिम्मेवारी महामन्त्री द्वयले लिनुपर्छ कि पर्दैन ? यी दुवै प्रश्नको जवाफ महामन्त्री द्वयबाट कहिल्यै पनि आएन । आजसम्म यी यक्ष प्रश्नकाे जवाफ अनुत्तरित छ । यही विराेधाभासले नै गगन-विश्वलाई वैचारिक रूपमा द्वैध र राजनीतिक रूपमा अविश्वसनीय बनाएको हाे । नेतृत्वमा संस्थापनभित्रै बसेर संस्थापनकै आलोचना गरिरहनु विद्रोह नभएर सुविधाजन्य राजनीति हो । यसले न पार्टी बदल्छ, न त वैकल्पिक नेतृत्व निर्माण नै गर्छ । महामन्त्री द्वयकाे पद र भूमिका बीचको खतरनाक बिच्छेद नै नेपाली कांग्रेसको वर्तमान संकटको एक मूल कारण हो, जसको कठोर र निर्मम समीक्षा आवश्यक छ ।
निर्धक्क साथ भन्न सक्नुपर्छ, पार्टीमा देखिएका यावत् समस्याहरूकाे सुधार र रूपान्तरणमा सभापति देउवा जति दाेषी छन् त्योभन्दा कम दाेषी दुबै महामन्त्रीहरू हैनन र छैनन् । एकातर्फ पदीय हैसियतले नीति परिवर्तनको प्रस्ताव, संगठन सुधारको ठोस खाका, कार्यान्वयनकाे तालिका र परिणाम मापनको ठाेस आधार प्रस्तुत गर्नुपर्ने महामन्त्रीहरू सामाजिक सञ्जालमा लगातार स्टाटस, मिडियामा उत्ताउलो अन्तर्वार्ता, मञ्चमा उत्तेजित भाषण र प्रतिक्रियामा आधारित मात्र लोकप्रियतामा केन्द्रित राजनीतिमा सीमित हुँदा पार्टीले संगठनात्मक र संरचनात्मक सुधार ल्याउन नसकेको तीतो सत्य हैन र ?
अर्कोतर्फ आफ्नो जिम्मेवारी भन्दा व्यक्तिगत लोकप्रियतालाई उच्च प्राथमिकतामा राख्ने तपाईंहरूकाे कार्यशैलीले पार्टीभित्र र बाहिर डरलाग्दो दुईवटा सन्देश प्रवाह गर्याे । पहिलो जिम्मेवारी लिएपछि आलोचक बनिरहेमा आफू चाहिँ उम्किन सकिन्छ भन्ने गलत भाष्य । दोस्रो परिणाममुखी कामले संस्थागत सफलता हासिल गर्नुभन्दा भाषणकाे लाेकप्रियतामा केवल व्यक्तिगत ब्रान्ड ठूलो बनाउने हाेडबाजी निरन्तर चलिरह्याे तपाईंहरूकाे । पार्टीभित्र जल्दाेबल्दाे युवा नेताकै छवि रहेको तपाईंहरूकाे पफमेन्स परिणाममुखी र निकास उन्मुख भन्दा नयाँहरूले तपाईंहरूकाे राजनीतिलाई रक्षात्मक अवस्थामा धकेलेपछि अस्तित्व जाेगाउन नै कठिन भएको वास्तविकता हैन र ? तपाईंहरूले स्थापित गर्नुभएको कार्यशैलीले दिएको परिणाम यतिबेला तपाईंहरूलाई नै घाँडाे भएको छ । जटिल राजनीतिक समस्यालाई केवल सस्तो लोकप्रियतामा सीमित गर्ने प्रवृत्ति राजनीतिक संस्कारको प्रदर्शन नभएर जनता झुक्याउने स्टन्ट, झुट र राजनीतिक बेइमानी मात्र हो । तसर्थ आफ्नो जिम्मेवारी, पद र भूमिका बीच कुनै तालमेल नै नभएको तपाईंहरूकाे कार्यशैली र प्रवृत्ति नैतिक र संस्थागत रूपमा नै गलत र विचलित छन । पदीय जिम्मेवारी र मर्यादामा महामन्त्री हुने अनि सार्वजनिक खपतका लागि “हामीले चाहेर पनि केही गर्न सकेनौँ !” भन्ने तर्क राजनीतिक रूपले हाँस्यास्पद र कायरता हाे । जिम्मेवारी लिएपछि कि परिणामको जिम्मा लिनुपर्छ कि मार्गप्रशस्त गर्नुपर्ने तथ्य सामान्य लोकतान्त्रिक मान्यता भित्रै पर्छ, हैन र ?
यतिबेला महामन्त्रीहरूकाे प्रस्तुति झट्ट हेर्दा लाेकप्रिय र साहसी जस्तो देखिए पनि गहिरिएर हेर्दा याे फुट र विभाजन चरम अवसरवादी, पदलाेलुप र जघन्य अपराध जस्तो प्रष्टै देखिन्छ। जिम्मेवार र सुधारवादी व्यक्तिले त नेतृत्वकाे चर्को आलोचना गर्ने मात्रै हाेइन असफल नीतिहरूको सुधार गर्ने, स्वामित्व लिने र आवश्यक परे पदबाटै राजीनामा दिएर संघर्ष गर्ने नैतिक साहस देखाउनुपर्दर्थ्याे तर त्यो तपाईंहरूबाट देखिएन र भएन । आफ्नो जिम्मेवारी नत्यागी एकाेहाेराे सभापतिलाई धारेहात लगाउने तपाईंहरूकाे प्रवृत्तिले असहमतिलाई नै अविश्वसनीय बनाउँछ भन्नेकुरा तपाईंहरूकाे बाेली र व्यवहारले नै पुष्टि भएको छ ।
यति भन्दै गर्दा नेपाली राजनीतिमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा राजनीतिक क्षमता र प्रभाव भएकै व्यक्ति थिए भन्नेमा कुनै शंका गरेको हैन । तर जति उदारताकाे साथ तपाईंहरूकाे व्यक्तिगत प्रशंसा गर्न सकिन्छ त्यति नै महामन्त्री हुँदा जिम्मेवारी देखाउन नसकेकोमा चाहिँ आलोचना गर्न सकिन्छ र मिल्छ । नेपाली कांग्रेसको विगत, वर्तमान र भाेलीको इतिहासले तपाईंहरूलाई खलनायक महामन्त्रीकै श्रेणीमा राख्ने तथ्यलाई नकार्न सकिँदैन।
नेपाली कांग्रेसलाई यतिबेला ठूलाठूला, उत्तेजित र भीड बटुल्ने भाषण होइन सच्चिने, सुध्रिने र रूपान्तरण ल्याउने साहसिक निर्णय चाहिएको छ । विरोध, आलोचना र विद्रोह होइन विधि र विधानको सफल कार्यान्वयन चाहिएको छ । यदि गगन थापा र विश्वप्रकाश शर्मा साँच्चिकै परिवर्तन चाहन्थे भने आलोचकको भूमिकाबाट बाहिर निस्केर जिम्मेवारीको कठिन बाटो रोज्नुपर्दथ्याे । “विष पिउन तयार छाैँ तर पार्टी कुनैपनि हालतमा फुटाउँदैनाैँ” भनी भाषणमा डिङ हाँक्ने तपाईंहरूकाे भित्री याेजना के थियोे र रहेछ ? अब सबैले थाहा पाएनन् र ? सानेपाले तपाईंहरूलाई समयमै नबुझेका कारण पार्टीलाई याे दुर्गति र दुर्घटनामा लैजाने दुस्साहस गर्नुभएको घाम झैँ छर्लङ्ग भएन र ? अझै कांग्रेस कब्जा गरेर नेतृत्व हत्याउँछु भन्ने तपाईंहरूकाे दिवा सपना साकार हुनेछ भन्ने कहीँ-कतै साेच्नु भएको छ भने त्यो अर्को आफैं माथिको ठट्टा, मजाक र महाभूल बाहेक अरू केही बन्नेछैन ।
यतिबेला नेपाली समाजको मनाेविज्ञान पार्टीभित्र प्रतिपक्ष भूमिकामा देखिएका महामन्त्री द्धयकाे देवत्वकरण र देउवाको दानवीकरणमै बहकिएकाे छ । विशेष अधिवेशनको प्रपञ्च र कारबाही प्रकरणमा काे सही र काे गलत अब निर्वाचन आयोग, सम्मानित सर्वाेच्च अदालत र समयले पुष्टि गर्ला ! तर सभापति देउवाले कस्ता महामन्त्रीहरूलाई सारथी बनाएर आफ्नो कार्यकाल बिताउनु परेकाे रहेछ भन्ने तथ्य भाेग्नेहरूलाई मात्रै हैन अब देख्नेहरूले समेत छर्लङ्गै थाहा पाइसकेका छन् ।
तपाईंहरू के भ्रममा नपर्नुहाेस् भने- पदलाेलुप नेता र तपाईंहरू निकट सानो समूह बाहेक सिङ्गो नेपाली कांग्रेस विभाजित भएको छैन र कांग्रेसको राजनीति तपाईंहरूकाे याेजना, उत्तेजना र भावनामा बहकिँदैन । आन्दोलन भनेको के हाे ? आन्दोलनको स्वरूप कस्तो हुन्छ ? आन्दोलनमा नेतृत्व र एजेन्डाकाे वैधता के हुन्छ ? भन्ने नेपाली कांग्रेसको गर्विलाे इतिहास बिर्सिएर जेन्जी घटनालाई आन्दोलनको वैधता दिने महामन्त्रीज्यूहरूकाे हतारो र साेही घटनाकाे दाेषमा सभापतिलाई करार गरेर प्रक्रिया बिना नै सभापति बन्ने तपाईंहरूकाे च्याँखे दाउ नेपाल र नेपाली जनताले पक्कै नबुझेका छैनन् । देउवाले विधानत: अब म सभापति बन्दिन भनेकाे अवस्थामा सभापतिकाे मर्यादित बहिर्गमन पनि उत्तिकै आवश्यक र महत्त्वपूर्ण थियोे हाेला नि, हैन र ? नियमित महाधिवेशनको बाँकी केही महिना धैर्य गर्न तपाईंहरूलाई के ले राेक्याे ? अहिलेसम्म कांग्रेस बिग्रेको र थप बिग्रिने नियमित अधिबेशन अघिको केही महिनाले नै निर्धारित हाे र ? त्यस्तो हुँदै- हैन जान्नाेस्- तपाईंहरूले निर्माण गरेको पहिलो भाष्य नै कुण्ठा र पुर्वाग्रह र प्रतिशाेधपूर्ण छ । पार्टीको सभापति असफल भए एउटै कार्यकालमा उही सभापतिका दुई सहयोगी महामन्त्रीहरू चाहिँ कसरी सफल हुन सक्छन ? कांग्रेसजन र देश-दुनियाँ मूर्ख छन् भन्ने ठान्नुभएकाे छ ?
प्रिय महामन्त्रीज्युहरू राजनीतिमा माैनताकाे बिष्फाेट चर्को बाेलीकाे भन्दा सधैं एक कदम भएपनि अगाडि हुन्छ । महामन्त्रीहरूले उठाएका आरोप-भ्रष्टाचार-भागबण्डा, राजनीतिक नियुक्ति, चुनावी गठबन्धन लगायत डेलिभरी दिन नसक्नु समस्या हाे भने यी सबैमा पहिला आत्मपरीक्षण अपरीहार्य छ । अहिले नेपाली समाजले खोजेको सुशासन, विकास र रोजगारी सहितको ब्लुप्रिन्ट हो । तपाईंहरूबाट सुशासनको कुरा उठ्दा आफैं निकट व्यापारी र डनहरूलाई तपाईंहरूबाटै भएको राजनीतिक संरक्षणलाई चाहिँ कसरी बुझ्ने ? तपाईंहरू मध्ये महामन्त्री स्वास्थ्यमन्त्री हुँदा नियामावली र कार्यविधि तोडेर गरिएका राजनीतिक नियुक्तिहरू के मा पर्छन् ? आफु मन्त्री हुँदा गरेका नियुक्ति मेरिटका आधारमा थियो कि लेनदेन र दलीय भागबण्डाकै आधारमा ? महामन्त्रीकाे भागमा परेको मन्त्री राजनीतिक भागबण्डाभित्र पर्छ कि पर्दैन ?
सबैलाई थाहा छ- तपाईंहरू समकालीन युवा नेताहरू भित्रबाट हेर्दा तुलनात्मक सुझबुझ राख्ने नेता मध्येमै पर्नुहुन्छ तर के भ्रममा नपर्नुहाेस् भने डेलिभरीको कुरा गर्दा तपाईंहरूका नीति/कार्यक्रम अझै एनजिओका रिपोर्टबाट कपी-पेस्ट गरे जस्ता छन् । चुनावी गठबन्धन गलत थियो भने त्यसको स्ट्याण्ड कहिले लिइयो र लिने हाे ? यी र यस्ता दर्जनौं विषयहरूमा गगनलाई “डार्लिंङ नेता” का रूपमा ब्रान्डिङ गर्न घुँडा धस्तै गरेको नेपाली मिडियाले त प्रश्न सोध्ने कुरै भएन । तथापि आम नागरिकका मनमा भएका यस्ता अनेकौं प्रश्नको इमानदार उत्तर बिना तपाईंहरूकाे आगामी राजनीतिक यात्रा अब त्यति सहज र सजिलो नहोला । आफूले गरेको गल्ती जति सबै बाध्यता हाे भन्ने तपाईंहरूकाे तर्कपछि देउवाले पनि आफूलाई बाध्यता पर्याे भन्न मिल्ने कि नमिल्ने ? चुनावी गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाउँदा परिणाम चाहिँ स्वीकार्ने अनि प्रकियामा देउवालाई मात्र दोष दिने-यो कस्तो राजनीतिक नैतिकता र इमानदारीता हो ? कांग्रेस भित्रका सबै तथ्य र यथार्थहरूलाई गहिरोसँग मुल्यांकन गर्ने हाे भने यहाँ सभापति र महामन्त्रीहरूको कार्यशैलीमा कत्तिपनि फरक देखिँदै देखिँदैन । भ्रममा काेही नपरे हुन्छ, गगन-विश्वकाे माछा देख्याे दुलाभित्र हात, सर्प देख्याे दुला बाहिर हात गर्ने चिन्तन, चरित्र र प्रवृत्तिले नै उनीहरूकाे राजनीतिक अयाेग्यता, असफलता र असक्षमता पुष्टि र प्रमाणित हुन्छ ।
महामन्त्रीमा निर्वाचित भए पश्चात् सभापतिसँग काम गर्ने स्पीड र स्पिरिट नमिलेपछि पहिलो त तत्काल एउटा निर्णय र निष्कर्ष निकाल्नुपर्ने थियोे । दाेस्राे निकास ननिस्किए हामीलाई तपाईंबाट र तपाईंलाई हामीबाट काम गर्न अप्ठेराे भएको हुँदा आफू अनुकुलकाे मान्छे राखेर परिणाम निकाल्नुहाेस भन्दै दुवै जनाले महामन्त्रीबाट राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्ने थियोे हैन र ? महामन्त्रीज्युहरू, राजनीति भ्रम र भय देखाउने अनि भावनामा गुटमुटिएर आवेग र उत्तेजनाका भाषणले मात्र चल्दैन । हेर्दै जानुहाेस् – नेपाली कांग्रेसले आफ्नो भाेलिकाे इतिहासमा दुई महत्वाकांक्षी महामन्त्रीहरूकाे हैसियतमा तपाईंकोहरूकाे दुस्साहस र याे कुकर्म नेपाली कांग्रेस र लाेकतन्त्रकै लागि अभिसाप, नालायकीपन र असक्षमता हाे भनेर अवश्य लेख्नेछ ।
जुन महाधिवेशनले गगन–विश्वलाई महामन्त्री बनायो, त्यही महाधिवेशनले देउवालाई सभापति बनाएको हो कि हैन ? महामन्त्री चयन ठीक, सभापति चयन चाहिँ बेठीक- यो तर्क आफैंमा हाँस्यास्पद छैन र ? पार्टीको नीति र नेतृत्व बदल्न विशेष अधिवेशन आवश्यक थियो भने कि केन्द्रीय समितिबाट मिति पारित गराउन सक्नुपर्थ्यो कि महामन्त्री पदबाटै खुरूक्क राजीनामा दिनुपर्थ्यो । हुन त तपाईंहरू राजनीतिमा झुट बाेलेरै आउनुभयो, हुर्किनुभयाे र झुटमै स्थापित हुनुभयाे तर पनि कम्तिमा यति त इमानदार भएर स्वीकार्नुहाेस् नियमित अधिवेशनकाे पहिलो मिति तपाईंहरूकै उपस्थितिमा केन्द्रीय समितिले ताेकेकाे हाे कि हैन ? फेरि चुनावी मितिकाे दबाबले नियमित अधिवेशनकाे मिति बैशाखमा तपाईंहरूकै उपस्थितिकाे केन्द्रीय समितिले नै सारेकाे हाे कि हैन ? यदि हाे भनेर स्वीकार्नुहुन्छ भने, एकातर्फ नियमित अधिवेशनकाे मिति ताेक्ने अनि अर्कोतर्फ फेरि विशेष अधिवेशन गर्ने कुरा विधि, विधान र राजनीतिक संस्कारको हदैसम्मको अपमान हाे कि हैन ? त्यसैले नेपाली कांग्रेसको विधि-विधान र राजनीतिक संस्कार भन्दा दुई महामन्त्री (तपाईं) हरूलाई मिडिया, अवसरवादी बौद्धिक र आइएनजिओको उक्साहटले बहकाएको मात्र हाे । यसरी नबहकिनाेस् राजनीतिकाे विकल्प राजनीति नै हाे अराजकता र अराजनीति हैन ।
अन्तमा पुरानाे दलकाे नेतृत्वमा गम्भीर समस्या छ भनेर तपाईंहरूले भन्नै पर्दैन पुराना दल र तिनका नेतृत्वमा गम्भीर समस्या भएको नेपाली समाजले नै स्वीकारिसक्याे र नयाँलाई अनुमाेदन पनि गरिसक्याे । तर याे समग्र राजनीतिक समस्याको निकास पुरानो राेगकाे नयाँ भेरियण्ट झैँ तपाईंहरू र तपाईंहरूले प्रदर्शन गरेको भृकुटीमण्डपकाे भद्दा अराजनीति चाहिँ हुँदै-हैन । जेन्जी घटना आफ्नो स्वार्थका लागि आफ्नै सभापतिकाे विरूद्ध प्रयाेग गर्ने तपाईंहरू ! महाधिवेशन प्रतिनिधिहरूलाई नेतृत्वको विरूद्ध हस्ताक्षर संकलन गरी संगठित गर्ने तपाईंहरू !! र आगामी चुनावी नतिजाको भ्रम र भय सिर्जना गरी भावनात्मक मनोविज्ञानको जगमा निर्वाचित सभापतिलाई जबर्जस्त अपदस्त गरी थप राजनीतिक शक्ति आर्जन गर्न लाग्ने तपाईंहरूकाे घाेर अवसरवादी चरित्र अनि पार्टीलाई फुट र विभाजन तर्फ लैजाने आपराधिक कार्य विद्यमान राजनीतिक समस्याकाे समाधान नभएर अर्को जटिल समस्या हाे ।