सम्वत् २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन र २०६२÷०६३ को ऐतिहासिक दोस्रो जनआन्दोलनसम्म नेपालको लोकतान्त्रिक यात्रामा केन्द्रीय भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेसको राजनीतिक परम्परा केवल सत्ता प्राप्तिमा सीमित नभई लोकतान्त्रिक मूल्य, सभ्य राजनीतिक संवाद र संस्थागत बहसको संस्कारसँग गाँसिएको छ । यही ऐतिहासिक विरासतको पृष्ठभूमिमा, २०८२ साल पौष २७ गतेदेखि काठमाडौंमा नेपाली कांग्रेसका युवा नेता तथा महामन्त्रीद्वयको नेतृत्वमा आव्हान गरिएको विशेष महाधिवेशनको उद्घाटन समारोहमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले व्यक्त गर्नु भएका राजनीतिक मन्तव्यहरूलाई, यसको ठीक एक महिना अगाडि २०८२ साल मंसीर २७, २८ र २९ गते काठमाडौंमा नै सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशनमा व्यक्त गरिएका अभिव्यक्तिसँग तुलना गरेर हेर्नु आजको नेपाली राजनीतिका लागि अर्थपूर्ण अभ्यास बन्न सक्छ ।
यस प्रकारको तुलनात्मक मननले केवल दुई फरक पार्टीका नेताहरूका शब्द र शैलीको भिन्नता मात्र होइन, नेपाली राजनीतिमा सभ्यता, शिष्टता, वैचारिक परिपक्वता र दीर्घकालीन दृष्टिकोण कसको पक्षमा अधिक स्पष्ट र जिम्मेवार रूपमा अभिव्यक्त भइरहेको छ भन्ने प्रश्नमाथि गम्भीर बहसको आधार प्रदान गर्दछ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोहमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरुले व्यक्त गरेका मन्तव्यहरू समकालीन नेपाली राजनीतिमा प्रायः देखिने उत्तेजनात्मक, प्रतिशोधमुखी र अहंकार केन्द्रित राजनीतिक भाषाशैलीबाट स्पष्ट रूपमा भिन्न देखिए । वहाँहरूको अभिव्यक्तिमा न त सत्ता–अहंकारको प्रदर्शन थियो, न त विपक्षीलाई ‘देखाइदिने’ धम्कीपूर्ण शब्दावलीको प्रयोग । सत्तामा पुगेपछि प्रतिशोध लिने, हिसाब–किताब गर्ने वा विपक्षीलाई दण्डित गर्ने जस्ता सङ्केतसमेत वहाँहरुहरूको मन्तव्यमा देख्न र सुन्न पाइएन ।
त्यसैगरी, आफ्ना पक्षधर वा पार्टीसम्बद्ध व्यक्तिमाथि कसैले प्रश्न उठाएमा आक्रामक प्रतिकार गर्ने, बल प्रयोग गर्ने वा हिंसात्मक प्रतिवादको आह्वान गर्ने प्रवृत्तिबाट पनि वहाँहरु टाढा रहनु भयो । बरु, वहाँहरुले विनम्र, शालीन र भद्र भाषामा विगतका राजनीतिक त्रुटिहरू स्वीकार गर्दै सार्वजनिक रूपमा आत्मालोचना गर्न र आवश्यक ठानेका ठाउँमा माफी माग्नसमेत हिचकिचाएको पाइएन । यस्तो आत्मस्वीकारोक्ति नेपाली राजनीतिमा दुर्लभ मानिन्छ र यसले राजनीतिक परिपक्वताको संकेत गर्दछ ।
विशेषतः २०८२ साल भाद्र २३ र २४ गते भएको ‘जेन–जी आन्दोलन’ सम्बन्धमा वहाँहरुले अपनाएको दृष्टिकोण उल्लेखनीय रह्यो । उक्त आन्दोलनलाई केवल अराजकता वा विध्वंसका रूपमा व्याख्या गर्नुको सट्टा, विगतका भ्रष्टाचार, कुशासन, सरकार र यसका अङ्गहरुको असफलताबाट जन्मिएको गम्भीर राजनीतिक असन्तोष र ‘महाविद्रोह’को अभिव्यक्ति भएको स्वीकारोक्ति वहाँहरुको मन्तव्यमा प्रस्ट देखियो । ‘आफ्नै घर जलेपछि खरानी टकटकाउनु परेको अवस्था’ भन्ने प्रतीकात्मक भाष्यले सत्ता–संरचनाको आत्मालोचनात्मक चेतनालाई उजागर पनि वहाँहरुको मन्तव्यले गरेको छ ।
त्यसै क्रममा, भाद्र २३ को घटनामा भएको मानव अधिकार हनन र नागरिकमाथिको दमनलाई मौन रूपमा बेवास्ता गर्दै भाद्र २४ को भौतिक विध्वंसको मात्र निन्दा गर्ने प्रवृत्तिको वहाँहरूले प्रत्यक्ष नभए पनि गम्भीर आलोचनात्मक पुनव्र्याख्या गर्नु भएको छ । संसद भवन र सिंहदरबारका ढोका संवादका लागि खुला हुनुपर्ने, निहत्था नागरिकमाथि गोली चलाउनु होइन जीवन रक्षा राज्यको पहिलो दायित्व हुनुपर्ने भन्ने सन्देशमार्फत वहाँहरूले मानव जीवनको मूल्य भौतिक संरचनाभन्दा माथि रहेको स्पष्ट पार्नु भएको छ । यसै सन्दर्भमा, जेन–जी आन्दोलनमाथि लगाइएका ‘आतंकवादी’ वा ‘विध्वंसकारी’ आरोपहरूलाई अस्वीकार गर्दै युवा पुस्तालाई राजनीतिक विमर्शको वैध हिस्सा मान्ने दृष्टिकोण समेत प्रस्तुत गरिएको छ ।
वहाँहरूको अभिव्यक्तिमा नेपाली राजनीतिमा उदाउँदै गरेका नयाँ शक्ति र नेतृत्वहरूप्रति तुच्छता, व्यंग्य वा घोचपेचको भाषा प्रयोग गरिएको पाइएन । साथै, वर्तमान सरकारप्रति असहमति जनाउँदा पनि अवैधानिक ठहर गर्दै होच्याउने वा व्यक्तिगत आक्रमण गर्ने शैलीभन्दा संस्थागत र विधिसम्मत आलोचनामै वहाँहरु सीमित रहनु भएको छ ।
अझ रोचक पक्ष के छ भने, जुन राजनीतिक नेतृत्वको विरोधमा यति ठूलो विशेष महाधिवेशन आह्वान गरिएको थियो, त्यही नेतृत्व—शेरबहादुर देउवा—प्रति पनि वहाँहरुले अशिष्ट, असभ्य वा अपमानजनक शब्द प्रयोग गर्नु भएन । बरु अत्यन्त शिष्ट, सम्मानजनक र विधिसम्मत भाषामार्फत राजनीतिक असहमति प्रकट गर्दै, व्यक्ति होइन प्रवृति र प्रणालीमाथि प्रश्न उठाउने लोकतान्त्रिक संस्कारको उदाहरण प्रस्तुत गर्नु भएको छ ।
समग्रमा, वहाँहरुले प्रकट गर्नु भएका मन्तव्यहरूले नेपाली राजनीतिमा शक्ति प्रदर्शनभन्दा बढी राजनीतिक शिष्टता, आत्मालोचना, मानवकेन्द्रित दृष्टिकोण र वैचारिक परिपक्वताको आवश्यकता रहेको सन्देश स्पष्ट रूपमा प्रवाह गरेको देखिएको छ ।
समग्र विश्लेषणबाट स्पष्ट हुन्छ कि नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोहमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतका वक्ताहरुले प्रस्तुत गर्नु भएको राजनीतिक भाष्य केवल एक औपचारिक मन्तव्यमा सीमित रहेन । बरु त्यसले समकालीन नेपाली राजनीतिमा दीर्घकालदेखि अभाव महसुस हुँदै आएको राजनीतिक शिष्टता, सभ्यता, आत्मालोचना, मानवीय संवेदना र लोकतान्त्रिक परिपक्वताको एउटा सशक्त उदाहरण प्रस्तुत गरेको छ । शक्ति प्रदर्शन, प्रतिशोध र आक्रोशको राजनीतिभन्दा फरक उभिएर वहाँहरूले विचार, संवाद र उत्तरदायित्वलाई प्राथमिकता दिने राजनीतिक संस्कारको पुनस्र्थापना गर्ने प्रयास गर्नु भएको छ, जुन आजको राजनीतिक सङ्कटग्रस्त अवस्थामा अत्यन्तै सान्दर्भिक देखिन्छ ।
देश बहुआयामिक सङ्कटबाट गुज्रिरहेको सन्दर्भमा, जब आम नेपाली नागरिकहरूले नयाँ, जवाफदेही, आदर्श र नैतिक नेतृत्वको खोजी गरिरहेका छन्, यस्तो समयमा गगन–विश्व नेतृत्वले आफूहरू केवल पदाधिकारी मात्र होइन, राजनीतिक संस्कार, चरित्र, स्वभाव, नीति, सिद्धान्त र शिष्टताको अभ्यास गर्ने परिपक्व नेतृत्व हौँ भन्ने कुरा व्यवहार र भाषामार्फत प्रमाणित गरेको स्पष्ट देखिन्छ । यस प्रक्रियामा वहाँहरूले नेपाली कांग्रेसको क्षीण हुँदै गएको साख पुनः जगाउने मात्र होइन, राजनीतिबाट आहत र निराश भएका संसारभर छरिएर रहेका असंख्य नेपाली मनहरूलाई जोड्दै आशा र भरोसाको नयाँ आधार निर्माण गर्न सफल भएको आभास भएको छ ।
यस अर्थमा, गगन–विश्व नेतृत्व अन्य समकालीन राजनीतिक प्रवृत्तिहरूसँग तुलना गर्दा गुणात्मक रूपमा भिन्न र अतुलनीय देखिन्छ । यसले नेपाली राजनीतिमा एउटा महत्वपूर्ण योगदान गरेको छ भन्ने तथ्य किमार्थ अस्वीकार गर्न सकिँदैन । यही सन्दर्भमा, लोकतान्त्रिक आन्दोलनको गौरवशाली इतिहास बोकेको नेपाली कांग्रेसले अब नेपाललाई पुनः ‘महान्’ बनाउने दीर्घकालीन राष्ट्रिय यात्रामा निर्णायक र जिम्मेवार भूमिका निर्वाह गर्न सक्छ भन्ने विश्वासप्रति असहमति जनाउने ठाउँ क्रमशः साँघुरिँदै गएको देखिन्छ ।
अन्त्यमा, गगन–विश्व नेतृत्वप्रति पुनः बधाई तथा धन्यवाद व्यक्त गर्नु सान्दर्भिक हुन्छ । देशका पीडित, निराश र आहत मनहरूमा जागेको यो आशा र भरोसा क्षणिक भावनामा सीमित नरही दीर्घकालीन विश्वास र व्यवहारिक राजनीतिक रूपान्तरणमा रूपान्तरित रहोस्—यही शुभेच्छा ।
यसै सन्दर्भमा, नेपाली कांग्रेस पार्टीप्रति जनविश्वास पुनःस्थापना गर्न आफ्ना कमजोरीहरूको सार्वजनिक आत्मालोचना गर्दै ऐतिहासिक नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका युवा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको यो कठिन प्रयासलाई साथ र सहयोग गर्न, तथा मनोवैज्ञानिक रूपमा कमजोर बनेको नेपाली कांग्रेसलाई पुनः उठाउने साझा सङ्कल्पका साथ विशेष महाधिवेशनमा सहभागी भई भृकुटीमण्डपमा उपस्थित भएर हस्ताक्षर गर्न सम्पूर्ण कांग्रेसी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आग्रह गर्दछु ।