प्रसङ्ग सुरू गराैँ जेलेन्स्कीकाे जन्मभूमि युक्रेनबाटै , पेशाले हाँस्य कलाकार, स्क्रिप्ट लेखक, निर्देशक र निर्माता जेलेन्स्की राष्ट्रपति हुनुअघि “Kvartal 95” नामक प्रभावशाली मनोरञ्जन कम्पनीका सह–संस्थापक समेत थिए । तिनै जेलेन्स्की युक्रेनमा चर्चित हुनुमा २०१५ मा प्रसारित टिभि सिरियल “Servant of the People” मा उनले निभाएको एक इमानदार, भ्रष्टाचारविरोधी, साधारण शिक्षक अनायासै राष्ट्रपति बनेको र राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने भूमिका थियोे । यसर्थ, जेलेन्स्की जन्माउन पहिला सिरियल मार्फत कथा बेचियाे, “पुराना सबै खराब” भन्ने न्यारेटिभ निर्माण गरियाे, २०१६ मा दर्ता भएको “Party of Decisive Changes” भन्ने पार्टीलाई नै “Servant of the People” नामकै पार्टी बनाइयो, भावनात्मक घाेषणापत्र लेखियाे, भ्रष्टाचार विरुद्ध चर्काे नारा लगाइयो सँगै म राजनीतिज्ञ होइन तपाईंहरू मध्येकै एक हुँ भन्ने अभिव्यक्ति दिँदै राष्ट्रिय अपमानको नारा बेचियाे । परम्परागत दल र प्रणालीबाट आजित युक्रेनी जनतामा छाएको निराशा र आक्राेसका कारण नेताकाे Expertise भन्दा Authenticity हेर्ने सामाजिक मनाेविज्ञान हावी भयाे । डिजिटल मिडियाकाे लाेकप्रियता , स्मार्ट प्रस्तुति र नयाँ अनुहारकाे आकर्षणमा बहकिएको युक्रेन अन्ततः युद्धको भुमरीमै फस्यो।
चुनावी लाभ र हानिमा आफू अनुकुलका व्याख्या गरेर नेपालकाे इतिहासमै सबैभन्दा त्रासदीपूर्ण र संवेदनशील घटनाकाे रूपमा स्थापित जेन्जी आन्दोलनका बारेमा आग्रह–पूर्वाग्रह प्रेरित व्याख्यामा बरालिनु र बहकिनु सबैभन्दा खतरनाक राजनीतिक भूल हुनेछ ।
ठिक त्यसैगरी, परम्परागत दलका नेतृत्व र प्रणाली असान्दर्भिक र अलाेकप्रिय भएको नेपाली समाजमा भाद्र २३ र २४ गतेकाे घटनालाई कसरी बुझ्ने भन्नेमा सिङ्गो नेपाली समाज विभाजित छ । अझ भनाैँ, जेन्जी आन्दोलनपछि नेपाल भित्रै र संसारभर छरिएका नेपालीहरूकाे सामाजिक सञ्जाल, समाजका अधिकांश बसाइँ, पाँचतारे हाेटेलमा आयाेजित सेमिनार,राजनीतिक दलका सभा सम्मेलन देखि मन्त्रिपरिषद्को मिटिङसम्म जेन्जी आन्दोलनलाई हेर्ने, बुझ्ने र भाेग्नेहरूकाे “आश र त्राश” कै व्याख्याले बजार तातिएकाे छ । तर, साँचोकुरा के हो भने, जेन्जी विद्रोह क्षणिक उत्तेजनामा नभएर संविधान र व्यवस्थासँगै विजाराेपण भएकाे असन्तुष्टि , पुराना दलहरूकाे आचरणसँग जनस्तरबाट टुटेको विश्वास, चरम निराशा र तिनै परम्परागत दलहरूका पुरानै अनुहारबाट आउने वाचा र वचनप्रति टुटेको विश्वासको विस्फोट भनाैँ या थकित मनको नयाँ जागरण थियोे ।
तर, यतिबेला जेन्जी आन्दोलनलाई ठूलो राजनीतिक परिवर्तन ठानेर नेपाली समाजको एउटा वर्ग पुराना दलहरूका विरूद्धमा भावनात्मक जनसमर्थन जुटाएर चुनावी नतिजा आफ्नै ढाेक्सामा पार्न सकिन्छ कि भन्दै आफुपनि भ्रमको भुमरीमा परेका छन् र जनतालाई पनि भ्रमको भुमरीमा पार्न प्रयासरत छन् । चुनावी लाभ र हानिमा आफू अनुकुलका व्याख्या गरेर नेपालकाे इतिहासमै सबैभन्दा त्रासदीपूर्ण र संवेदनशील घटनाकाे रूपमा स्थापित जेन्जी आन्दोलनका बारेमा आग्रह–पूर्वाग्रह प्रेरित व्याख्यामा बरालिनु र बहकिनु सबैभन्दा खतरनाक राजनीतिक भूल हुनेछ ।
जेन्जी भाइबहिनीहरू, तपाईंहरू के भ्रममा नपर्नुहाेस भने भाद्र २३ र २४ काे घटना लगभग तपाईंहरूकाे उमेर सँगैदेखि सुरूभएकाे विकृत नेपाली राजनीतिक अभ्यास विरूद्धकाे जनआक्राेस जेन्जी (तपाईंहरू) मार्फत विष्फोट भएको हाे अर्थात् जेन्जी उमेर समूह माध्यम मात्रै भएको हाे । पत्याउनुहाेस या नपत्याउनुहाेस, एकातर्फ आन्दोलनका बारेमा तपाईंहरूले दाबी गरेजस्तो बुझाइ नेपाली समाजले स्विकारेकै छैन । अर्काेतर्फ, तपाईंहरूकाे बाेली, व्यवहार र दाबीकाे समेत तालमेल पटक्कै मिलेको छैन ।
तपाईहरू कहाँ नबहकिनाेस् भने आन्दोलनमा भावना मात्रै पाेखिएर पुग्दैन विश्वसनीयता र वैधता पनि जाेडिनुपर्छ । आन्दोलनका नाराहरूमा क्रान्तिको उर्जा र उग्रता मात्रै होइन आन्दोलन पछिका अभिव्यक्तिहरूमा विवेकको गहिराइ र व्यवहारिकपन पनि उत्तिकै हुनुपर्छ । हिजोआज, तपाईंहरूकै बाेली र व्यवहारका कारण जेन्जीहरूलाई समाजले शंकाको नजरबाट मात्रै हेरिरहेको छैन जेन्जीहरू भनेका अराजक, उदण्ड, अनुभवहिन र अल्लारे केटाकेटी हुन भन्ने बुझाइ दिनप्रतिदिन समाजमा बलियो हुँदै गएको छ । विकृत राजनीतिलाई सुसंस्कृत बनाउँछाै भनेर अगाडि आउनुभएका जेन्जीका अगुवाहरू र अभियान्ताहरूलाई विनम्र अनुराेध छ राजनीतिमा आएपछि राजकाजकाे आधारभूत सर्तहरूमा सचेत हुनाेस र न्युनतम संयमता अपनाउनुहाेस अझ भनाैँ व्यवहारिक सुझबुझ कायम राख्नाेस् ।
प्रतिक्रियात्मक राजनीतिमार्फत मिडियाबाट भाइरल हुन जति सजिलो थियोे र छ भाइरल पछिकाे सार्वजनिक व्यक्तित्व जाेगाउन र राजकाज सम्हाल्न उत्तिकै जटिल र कठिन छ ।
प्रिय जेन्जी भाइबहिनीहरू, घाेषित निर्वाचन हुन अब ५६ दिन मात्रै बाँकी छ । आजसम्मकाे राजनीतिक माहोल र चुनावी वातावरणलाई हेर्दा ढुक्कसँग भन्न मिल्छ र सकिन्छ फागुन २१ मा चुनाव हुन्न । तर, समय र परिस्थितिले निर्धारित मितिमै चुनाव हुन्छ भन्ने सम्झेर मूलतः तपाईंहरूले निर्वाचन अघि दुईवटा कुरा ख्याल गर्नाेस । पहिलो, नेपाली राजनीतिमा नानीमैँया दाहाल तत्कालीन राजनीतिसँगकाे असन्तोष र आक्राेस प्रकट भएको विशिष्ट बिम्ब हाे कतै तपाईंहरू पनि त्यसैगरी मजाककाे पात्र त हुन लागिरहनुभएकाे छैन ? दाेस्राे, राजनीति भन्दा पेसागत पपुलारिटिबाट उदाएर मिडिया मार्फत लाेकप्रियता हासिल गरेका नयाँ अनुहारहरू, भ्रष्टाचार विरुद्धकाे नाराकाे लय , हामी राजनीतिज्ञ होइनाैँ तपाईंहरू मध्येकै एक हाैँ भन्ने आवरण र अभिव्यक्ति, पुराना सबै खराब भन्ने न्यारेटिभ, उक्त न्यारेटिभकाे भावनामा बनेका पार्टीहरू बीचकाे सिद्धान्तबिहिन एकता र नेताकाे Expertise भन्दा Authenticity हेर्ने सामाजिक मनाेविज्ञान तत्कालीन युक्रेनमा जेलेन्स्की उदय हुँदाका सबै विशेषताहरूसँग मेल खाएकाे हुँदा नेपाली समाजले गरेको शंका संयाेग मात्रै हाे या युक्रेनमा जस्तैः पहिल्यै रचिएको कथाकाे पुनरावृत्ति हाे ? सजग र सचेत रहनुहाेस्
।
पुराना दलहरूकाे कुकृत्यकै कारण नयाँ दलहरूमाथि किन प्रश्न गर्ने भन्ने भाष्य निर्माण गर्नतिर नलाग्नुहाेस । समाजले प्रश्न अवश्य गर्छ र गर्नुपनि पर्छ किनभने स्टन्ट र प्रतिक्रियात्मक राजनीतिको सुरूवात तपाईंहरूले गर्नुभएको हाे । अब तपाईंहरूमाथिकाे भ्रम र भयलाई चिर्दै पुरै पुस्तालाई बदनाम हुनबाट जाेगाउने जिम्मेवारी पनि तपाईंहरूकै हाे । अर्कोतर्फ, के पनि बुझ्नाेस भने प्रतिक्रियात्मक राजनीतिमार्फत मिडियाबाट भाइरल हुन जति सजिलो थियोे र छ भाइरल पछिकाे सार्वजनिक व्यक्तित्व जाेगाउन र राजकाज सम्हाल्न उत्तिकै जटिल र कठिन छ ।
नेपालमा पनि नयाँ नेतृत्व भावनात्मक समर्थन र सामाजिक सञ्जाल उभारकै जगमा अनुमाेदन गर्न खाेजेकाे हाे भने त्यसले व्यक्तिलाई बलियो र संस्थालाई कमजोर पार्ने “जेलेन्स्की कै पुनरावृत्ति गराउँछ ।
ढिलाे चाँडो तपाईंहरूले अवश्य बुझ्नुहुनेछ राजनीतिक पृष्ठभूमि बिना अदृष्य स्पाेन्सरसीप र मेन्टरबाट निर्मित अभियानबाट उदाएका नेतृत्वकाे अर्गानिक ग्राउन्ड कमजोर हुने भएकोले याे धेरै टाढासम्म जाँदैन अर्थात् पुग्दैन । त्यसैले , पलपलमा तपाईंहरू आफ्नो बारेमा क्रिटिकल हुनाेस । जेन्जी पुस्ता अधैर्य स्वभाव भएको परिणाममुखी पुस्ता हाे । अपवादमा बाहेक जेन्जीहरू वैचारिक बहस गर्न सक्दैनन् कि जान्दैनन् या रूचाउँदैनन थाहा छैन तर डेलिभरी चाहिँ डिजिटल स्पिडमै चाहन्छन । अझ भनाैँ, तपाईंहरूकाे सिङ्गै पुस्तालाई प्रक्रिया बाेझ लाग्छ तर राजनीतिक परिणाम नगदानगदी खाेज्ने तपाईंहरूकाे बानीले Charismatic नायकको खोजी गर्छ । तर, राजनीतिमा त्यस्ताे फिल्मि नायक लोकतन्त्रकै लागि खतरा र जोखिमपूर्ण हुन्छ ।
रवि, बालेन र कुलमानकाे प्रेसरसहितकाे प्राविधिक एकतालाई नै अन्तिम उपलब्धि ठानेर जेन्जी पुस्ताले उनिहरूमाथि प्रश्न गर्न छोडे भने इतिहासले फेरि व्यक्तिकेन्द्रित भ्रम दोहोर्याउने निश्चित छ ।
पेसागत सफलता , सामाजिक सञ्जालको लाेकप्रियता र प्रतिक्रियात्मक राजनीतिबाट जन्मिएका व्यक्ति र शक्तिलाई राजनीति गम्भीर परीक्षा हाे । जान अञ्जानमा राजनीतिक मैदानमा प्रवेश गरिसकेपछि अब तपाईंहरूले उक्त परिक्षा एकपटक दिनैपर्छ । त्यसैले अराजनीतिक बनेर नउत्ताउलिनाेस् । तपाईंहरूकाे अहिलेकाे प्रस्तुति हेर्दा लाग्छ उमेरकाे उर्जा र हुटहुटि बाहेक तपाईंहरूसँग केहीपनि छैन । तपाईंहरूले विकसित वैश्विक राजनीति र नेपालको भूराजनीतिक जटिल परिवेशलाई नजिकबाट हेरेकाे , बुझेकाे र जानेकाे महशुस नै हुँदैन । जान्नाेस, जेलेन्स्की जन्माउन निर्माण गरिएको न्यारेटिभ युद्धकालीन असाधारण परिस्थितिका कारण बाध्यात्मक स्विकार्यता रूपान्तरण भयाे र अहिले युक्रेन कहाँ पुग्यो ? ठिक त्यसैगरी, नेपालमा पनि नयाँ नेतृत्व भावनात्मक समर्थन र सामाजिक सञ्जाल उभारकै जगमा अनुमाेदन गर्न खाेजेकाे हाे भने त्यसले व्यक्तिलाई बलियो र संस्थालाई कमजोर पार्ने “जेलेन्स्की कै पुनरावृत्ति गराउँछ । त्यसैले, भावनात्मक समर्थन र सामाजिक सञ्जालकाे उभारकै जगमा बहुलवादी विशेषता बाेकेकाे र भूराजनीतिक दृष्टिकोणले संवेदनशील नेपालले उक्त जोखिम उठाउन हुँदैन र सक्दैन ।
मान्नाेस, कुनैपनि जाेखिम सुरूवातमा जाेखिमकाे रूपमा देखिँदैन । राजनीतिक पृष्ठभूमि बिना राष्ट्रिय टेलिभिजनको कार्यक्रम प्रस्ताेताबाट उदाएका रवि लामिछाने समर्थक र शुभेच्छुकहरूकाे नजरबाट हेर्दा जनआक्रोशलाई राजनीतिक परिणाममा रूपान्तरण गर्न सक्ने क्षमताका प्रतीक हुन भने र्यापरबाट मेयरमा जनअनुमाेदित बालेन प्रशासनिक साहस, प्रक्रिया र पुराना प्रवृत्ति विरोधी अडानको रूपमा स्थापित पात्र हुन । त्यसैगरी,अहिलेकै राज्यसंरचना र राज्यसंयन्त्र भित्र बसेर पनि परिणाम दिन सक्ने विश्वासको अर्को नाम हाे कुलमान घिसिङ । यसरी, फरक फरक पेसागत पृष्ठभूमिबाट उदाएका, अलगअलग स्कुलिङ बाेकेका भिन्न स्वभावकाे साझा बिन्दु परम्परागत राजनीतिक दल र तिनका नेतृत्वप्रतिकाे जनअसन्तुष्टि मात्रै हो ।
पुराना दलहरूकाे वैचारिक पुँजी सहितको विगत त अहिले समस्याग्रस्त अवस्थामा आइपुगेकाे छ अझ भनाैँ नसच्चिए संकटग्रस्त विन्दुमा पुगेका छन् । तपाईंहरूले त वर्तमानमै जग बिनाकाे घर निर्माण गर्दै हुनुहुन्छ । अझ लाजमर्दो कुरा त के छ भने नबनेको घरकाे काेठा नै राेजिसक्नुभयाे । अब भन्नाेस तपाईहरूकाे घरको भविष्य के हाेला ?
बुझ्नुपर्ने कुरा के हाे भने, याे एकता राजनीतिक विकल्प हाे कि ? वैकल्पिक राजनीति ? प्रष्ट भइसकेको छैन । चुनावी कार्यतालिकाकाे प्रेसर,शुभेच्छुक र समर्थकहरूकाे दबाबले भएको एकता नै शंकास्पद छ । एकातर्फ, एकता पछि पनि बालेन रास्वपाकाे कुनैपनि आैपचारिक कार्यक्रममा सहभागी मात्रै नभएका हैनन रास्वपाकाे केन्द्रीय कार्यलय समेत गएका छैनन् अर्कोतर्फ एकतामा सक्रिय कुलमानले मन्त्रीबाट राजिनामा दिँदै गर्दासमेत आफूले अहिलेसम्म कुनैपनि दलकाे सदस्यता नलिएकाे र रास्वपाले उनेपासँग एकता गरेकाे भन्दै विराेधाभास अभिव्यक्ति दिएका थिए । अब यस्तो एकता चुनावको मिति परिवर्तन भए के हुन्छ ? भन्न सकिने अवस्था छैन अझ भनाैँ, एकता अधिवेशनबाट अनुमाेदन हुन्छ कि हुँदैन ? हेर्न बाँकी नै छ ।
प्रिय जेन्जी भाइबहिनीहरू, माथि उल्लेखित भय र भनाइ दशकौँदेखि दोहोरिएको विफल दलीय नेतृत्व, असफल शासन सत्ता , पारदर्शिता र जवाफदेहिताको अभावबाट सिर्जित जनअसन्तुष्टिलाई याे बिन्दुमा पुर्याउने नेपालका परम्परागत दलकाे समर्थनमा र तिनको राजनीतिक मनाेबल बढाउने उदेश्यले भनिएको हाेइन । यथास्थितिमा त्याे आत्मविश्वास र मनाेबल बढ्नु पनि हुँदैन । तर, पुराना दलहरूकाे वैचारिक पुँजी सहितको विगत त अहिले समस्याग्रस्त अवस्थामा आइपुगेकाे छ अझ भनाैँ नसच्चिए संकटग्रस्त विन्दुमा पुगेका छन् । तपाईंहरूले त वर्तमानमै जग बिनाकाे घर निर्माण गर्दै हुनुहुन्छ । अझ लाजमर्दो कुरा त के छ भने नबनेको घरकाे काेठा नै राेजिसक्नुभयाे । अब भन्नाेस तपाईहरूकाे घरको भविष्य के हाेला ?
राजनीतिमा आलोचनाप्रति सहिष्णुता, संरचनागत शक्ति सन्तुलन र संस्थागत अनुशासन बिनाकाे नयाँ दल भनेको पुरानै रोगको नयाँ भेरियन्ट मात्रै हाे ।
उदार मनले के स्विकार्नाेस भने, नयाँ दलहरूले पुराना दलहरूले स्थापित गर्दिएकाे राजनीतिको कम्फर्ट जाेनमा बसेर एक किसिमले भन्दा धेरै सजिलाे राजनीति गर्दै छ।यतिबेला एकाेहाेराे गाली गरेर होइन आफ्नो नीति, नेतृत्व, कार्यक्षमता र दक्षताबाट नै पुरानाहरूलाई चुनौती दिन सक्नुपर्छ । पुरानाहरूकाे राजनीतिक अस्तित्व उनिहरूकै कर्म र सार्वभौम जनताकै हातमा छाड्दिनाेस । र, तपाईहरूले के हेक्का राख्नाेस भने, परम्परागत दलहरूकाे असक्षमता र अकर्मण्यताकै कारण नयाँसँग जनताले आशा र अपेक्षा राखेका हुन् । अझ, पुरानाहरूकाे सफलता र असफलताहरूकाे राजनीतिक अनुभव नयाँहरूकाे राजनीतिक सफलता र लोकतान्त्रिक सन्तुलनका लागि अनिवार्य पक्ष हाे ।
त्यसैले , रवि, बालेन र कुलमान एकता प्रथम दृष्टिमा स्वागतयोग्य छ । याे एकताले ल्याएको लहर एउटा आशा र सम्भावना अवश्य हो तर भराेसा र ग्यारेन्टी बनिसकेको अवस्था होइन । अझ चाैतर्फि प्रश्न उठेकाे छ यो एकता विकृत राजनीतिलाई ट्रयाकमा ल्याउने दीर्घकालीन सुधारको बाटो हो कि ? भावनात्मक उभारले निम्त्याउने अर्को दुर्घटनाको अध्याय ? प्रश्नैप्रश्न र सर्वाधिक शंकाको घेरामा रहेको याे एकता र नेतृत्वलाई जेन्जी पुस्ताले कठाेर प्रश्न गरेर सन्तुलनमा राख्नुपर्छ । स्वच्छ आलोचना र सभ्य प्रश्न राजनीतिक संस्कार भित्रै पर्छन त्यसैले नेतृत्वलाई आँखा चिम्लिएर विश्वास र भरोसा गर्ने हैन तपाईंहरूकै भाषामा भन्दा तपाईंहरूले पनि पुराना दलहरूकाे “झाेले प्रवृत्ति” दाेहाेर्याए फेरि नेपाली राजनीतिको याे एउटा आशालाग्दाे अभ्यास व्यवहारिक र परिपक्व हुनेछैन । राजनीतिमा आलोचनाप्रति सहिष्णुता, संरचनागत शक्ति सन्तुलन र संस्थागत अनुशासन बिनाकाे नयाँ दल भनेको पुरानै रोगको नयाँ भेरियन्ट मात्रै हाे ।
यतिबेला, नेपालकाे राजनीति फेरि एकपटक निर्णायक माेडमा उभिएको छ । रवि, बालेन र कुलमानकाे प्रेसरसहितकाे प्राविधिक एकतालाई नै अन्तिम उपलब्धि ठानेर जेन्जी पुस्ताले उनिहरूमाथि प्रश्न गर्न छोडे भने इतिहासले फेरि व्यक्तिकेन्द्रित भ्रम दोहोर्याउने निश्चित छ । राजनीतिकाे विकल्प सिर्फ असन्तुष्टि र अस्वीकार मात्रै हैन मिसन, भिजन, गाेल, अब्जेटिभ समेटिएको साझा संरचनागत खाका हाे जुन अहिलेकाे एकतामा अधुरो र अपूरो दुबै छ । लोकतन्त्र आवेग, उत्तेजना र क्षणिक भावनाले होइन विवेकले बाँच्नुपर्छ । राजकाजकाे ब्लुप्रिन्ट, संस्थागत अनुशासन र प्रतिबद्धताबिना भावनात्मक समर्थन र सामाजिक सञ्जालकाे उभारकै जगमा याे एकता जनअनुमाेदित भए जेलेन्स्की मोडेल पुनरावृत्तिको जोखिम बढेको तथ्यलाई नकार्न सकिँदैन ।
भाद्र २३ र २४, विकृत राजनीति सुधार्ने सुनाैलाे अवसर अवश्य थियो र हाे तर यतिबेला भुइँकाे टिप्न खाेज्दा पाेल्टाकाे पनि गुम्ने अवस्थामा पुगेको छ । देश, जनता र लाेकतन्त्रकाे लागि यथास्थितिमा हुने चुनावकाे कुनैपनि अर्थ र आैचित्य नै छैन ।
तसर्थ, जेन्जी भाइबहिनीहरूकाे विकृत राजनीति सुधार्ने हुटहुटिप्रति उच्च सम्मान व्यक्त गर्दै पुनः एकपटक ठण्डा दिमागले निम्नलिखित प्रश्नहरूकाे उत्तर खाेज्न अनुरोध गर्दछु । जेन्जी आन्दोलन ०८४ काे आवधिक चुनाव ०८२ गर्न थियो र ? नेपाल र नेपालीको लोकतन्त्रिक अभ्यास स्वतन्त्र र विवेवपूर्ण तवरले मतपत्रमा प्रकट हुने अवस्था आइसकेको हाे र ? चुनावी निष्पक्षताकाे लागि डर, त्रास, दबाब र प्रभावमा परेको लाेकतन्त्रलाई विधि र पद्धतिको फर्माभित्र ल्याउन जरुरी छैन र ? पारदर्शि, जवाफदेहि र नीतिमा आधारित आगामी सरकारकाे नेतृत्व अहिलेकै चुनावबाट सम्भव छ र ? यथास्थितिकाे फागुन २१ मा चुनाव हुँदा के हुन्छ र चुनाव के का लागि गर्ने हाे ? ल निर्धारित मितिमै चुनाव सम्पन्न भयाे रे आउने संसदले भाद्र २३ र २४ काे आन्दोलनकाे कुन चाहिँ माग पूरा गर्छ वा गर्ने ग्यारेन्टी छ ? राष्ट्रिय सभाकाे अहिलेकाे स्वरूप र आउने प्रतिनिधि सभा कस्तो हुन्छ अनुमान लगाउनुभएकाे छ ? यी र यस्तै विषयहरूकाे प्रष्टता बिना राजनीतिक समस्याको प्राविधिक समाधानकाे रूपमा हुने फागुन २१ काे चुनाव समाधान नभएर अर्को समस्या बन्ने निश्चित छ ।
त्यसैले, जेन्जी भाइबहिनीहरू भ्रममा नपर्नुहाेस् नजर एकातिर र निशाना अर्कैतिर भएका तपाईंहरूका राजनीतिक मेन्टरहरूले आफ्नो स्वार्थका लागि तपाईंहरूकाे उर्जा र उत्साहलाई केहि त अलपत्र पारिसक्नुभयाे केही पार्दै हुनुहुन्छ । भाद्र २३ र २४, विकृत राजनीति सुधार्ने सुनाैलाे अवसर अवश्य थियो र हाे तर यतिबेला भुइँकाे टिप्न खाेज्दा पाेल्टाकाे पनि गुम्ने अवस्थामा पुगेको छ । देश, जनता र लाेकतन्त्रकाे लागि यथास्थितिमा हुने चुनावकाे कुनैपनि अर्थ र आैचित्य नै छैन । त्यसैले, सर्वपक्षिय माैलिक राजनीतिक सहमति मार्फत फास्ट ट्रयाकबाट संविधान संशोधन, छाेटाे समयकै लागि भएपनि संसद पुनस्थापना, पुनस्थापित संसदबाट सहमति अनुमाेदन, सर्वपक्षीय सरकारकाे नेतृत्व र उक्त सरकारले चुनावकाे नयाँ मिति घाेषणा लगायतका विषयमा गरिने “प्याकेजकै सहमति, सहकार्य र एकता ” अहिलेकाे समस्याको दीर्घकालीन राजनीतिक निकास हो। त्यसका लागि सबैले आ-आफ्नो ठाउँबाट आग्रह, पुर्वाग्रह, कुण्ठा र निषेधकाे राजनीतिबाट माथि उठेर माैलिक राजनीतिक समाधानको संवाद सुरू नगरे राजनितिक परिदृष्यका सम्भावित भाग “दुई र तीन” का घटना नघट्लान भन्न सकिन्न । त्यसपछिको सम्भावित संकटयुक्त राजनीतिक परिस्थिति दलहरूको हातमा पनि नरहने र देशकाे हितमा पनि नहुने निश्चित छ । समयमै चेतना भया !