नयाँ शैलीमा मानव बेचबिखन : सीमानाका जोखिममा

नयाँ शैलीमा मानव बेचबिखन : सीमानाका जोखिममा

  • आइतवार, पुस १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

कञ्चनपुर, १३ पुस : भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ । मुख्य नाका गड्डाचौकीमात्र नभई वैकल्पिक तथा अवैध मार्गको प्रयोग बढ्दै जाँदा बेचबिखन नियन्त्रणमा चुनौती थपिएको छ ।

मानव बेचबिखनको स्वरूप समयक्रमसँगै बदलिँदै गएको र पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन, नक्कली विवाह, पर्यटन तथा अनलाइनमार्फत हुने ‘साइबर ट्राफिकिङ’का घटना बढ्दै गएको माइती नेपालका संयोजक महेश्वरी भट्टले बताउनुभयो ।

गरिबी, बेरोजगारी, सीपको कमी र सामाजिक सञ्जालको दुरुपयोगसँगै आफन्त र चिनजानकै व्यक्तिको संलग्नता बेचबिखनको मुख्य चुनौती बन्दै गएको छ । संयोजक भट्टका अनुसार खुला सीमा, प्रविधिमैत्री निगरानीको कमी, प्रमाण सङ्कलनमा कठिनाइ र मुद्दा प्रक्रियामा ढिलाइ मानव बेचबिखन नियन्त्रणका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

“पीडित र परिवारकै मौनता तथा उजुरी गर्न डराउने प्रवृत्तिले मानव तस्करहरूको मनोबल बढेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय मानव तस्करहरूले बाइक र स्थानीय ट्याक्सीजस्ता निजी सवारीसाधन प्रयोग गरी वैकल्पिक मार्गबाट सीमा पार गराउने नयाँ शैली अपनाएका छन् ।”

उहाँका अनुसार बेचबिखनमा परेकालाई यौन शोषण, बालश्रम, जबर्जस्ती आपराधिक गतिविधि तथा अङ्ग प्रत्यारोपणसम्म प्रयोग गर्ने गरिएको पाइएको छ । जसमा अन्तरराष्ट्रिय अपराध सञ्जालको समेत संलग्नता देखिने गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा पश्चिमी सीमानाका गड्डाचौकी तथा आसपासका क्षेत्रबाट मानव बेचबिखनको जोखिममा परेका २०९ जना महिला तथा बालबालिकालाई सीमाबाटै उद्धार (रोकथाम) गरेको छ ।

संस्थाको वार्षिक कार्यप्रगति प्रतिवेदनअनुसार उद्धार गरिएकामध्ये ९० जना बालबालिका र ११९ जना महिला छन् । उद्धार गरिएका स्थानअनुसार गड्डाचौकी सीमानाकाबाट ८९ जना, महेन्द्रनगर बसपार्क तथा अन्य क्षेत्रबाट ६४, महाकाली चारलेन पुल क्षेत्रबाट ३१ जना र झोलुङ्गे पुल क्षेत्रबाट २९ जना रहेका छन् ।

उद्धार गरिएकामध्ये १८२ जना सुदूरपश्चिम प्रदेशकै नागरिक छन् । जिल्लागत रूपमा कञ्चनपुरका एक सय, कैलालीका ३२, बैतडीका १४, बझाङका १० र डोटीका आठ जना छन् ।

पछिल्लो तीन वर्षमा भारतका विभिन्न सहरबाट ४९ जना महिला तथा बालबालिकाको सकुशल उद्धार गरिएको छ । सन् २०२३ मा २५, सन् २०२४ मा १४ र सन् २०२५ मा १० जनाको उद्धार भएको माइती नेपालले जनाएको छ ।

पछिल्लो एक वर्षमा मात्रै बिहार, चण्डिगढ, मुम्बई, दिल्ली, हैदरावादलगायत सहरबाट आठ बालिका र दुई महिलाको उद्धार गरिएको हो । यसै अवधिमा माइती नेपालमा १८९ वटा खोजतलासका निवेदन दर्ता भएका छन् । तीमध्ये ८१ जनालाई फेला पारेर परिवारको जिम्मा लगाइएको छ । खोजतलासका लागि निवेदन परेकामध्ये सुदूरपश्चिम प्रदेशकै नागरिकको सङ्ख्या १६३ रहेको छ ।

मानव बेचबिखन नियन्त्रणका लागि सीमाक्षेत्रमा १२ हजार ८५८ सवारीसाधन जाँच गरेको छ । यस क्रममा ४४ हजार ५८१ जनालाई सुरक्षित बसाइँसराइ तथा मानव बेचबिखनविरुद्ध परामर्श दिइएको छ । साथै २२७ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छभने २१७ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । ३३ जनालाई सीमाबाटै परामर्श दिएर घर फर्काइएको छ ।

समुदायस्तरमा घरदैलो कार्यक्रम, विद्यालयमा सचेतनामूलक गतिविधि र यातायातकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको माइती नेपालका संयोजक भट्टले बताउनुभयो । प्रहरी प्रशासनसँगको समन्वयमा जबर्जस्ती करणीसम्बन्धी चारवटा र मानव बेचबिखनसम्बन्धी एकवटा मुद्दा दर्ता भई कानुनी प्रक्रियामा रहेका छन् ।

खुला सीमा र बदलिँदो प्रविधिसँगै मानव बेचबिखनको जोखिम बढिरहेकाले सीमास्तरको निगरानी, समुदाय सचेतना र बहुपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको संयोजक भट्टको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी