२७ मंसिर, काठमाडौं । नेकपा एमालेले महाधिवेशनका लागि १ सय ८ जना प्रतिनिधि मनोनीत गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार, आज महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरिएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधि छनोट गर्ने बताइएको थियो ।
महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको थियो ।
उता मनोनित १०८ जना प्रतिनिधिको विषयमा अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गम्भीर असमति जनाएका छन् ।
शुक्रबारको सचिवालय बैठकमा १०८ जना प्रतिनिधिहरु अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल बसेर टुंगो लगाउने सहमति भएको थियो ।
तर उक्त सहमति विपरीत एकलौटी ढंगले सूची प्रकाशित गरिएको कमरेड भन्दै पोखरेलले आपत्ति जनाएका हुन् ।
आज प्रकाशित सूची शुक्रबारको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेका नामहरु हुन् । पोखरेलले ओलीको भन्दा फरक सूची पेश गरेका थिए ।
दुवै तर्फबाट पेश सूचीका विषयमा सहमति खोज्ने निर्णय भएकोमा आज एकतर्फी रुपमा नाम प्रकाशित गरिएको भन्दै पोखरेलले आपत्ति जनाएका हुन् ।