चक्षुबिहिन जेन्जीहरू र टुहुराे जेन्जी आन्दोलन

चक्षुबिहिन जेन्जीहरू र टुहुराे जेन्जी आन्दोलन

  • आइतवार, मंसिर २१, २०८२
  • - विजयकुमार पन्त

  • 69.7K
    SHARES

भाद्र २३, मूलतः ३ वटा माग भ्रष्टाचार, नेपाेकिड / नेपाेबेबि र  सामाजिक सञ्जाल नियन्त्रणकाे विरोध स्वरूप युवा पुस्तामा आएको राजनीतिक चेतना र उक्त चेतनाको  जगमा आह्वान गरिएको शान्तिपूर्ण प्रदर्शन थियो । बिडम्बना, शान्तिपूर्ण प्रदर्शनमै एकाएक १७ जनाको ज्यान लिनेगरि सरकारकाे तर्फबाट चरम दमन भयाे र उक्त दमनका विरूद्धमा आम समाजको भावना र स्वस्फूर्त साथ रह्यो । यद्यपि तत्कालीन सरकारकाे असक्षमता, अहंकारयुक्त अभिव्यक्ति र व्यवहारले जुटाएको जनआक्राेश, जनसमर्थन र जनसहभागिताकाे आवरणमा रचिएको २४ गतेको विध्वंसलाई हेर्ने र बुझ्ने दृष्टिकोण एकै हुनुहुँदैन। २३ गतेकाे शान्तिपूर्ण प्रदर्शनमा सरकारले प्राप्त गर्नुपर्ने सुचना, पूर्वतयारी  र दमन सरकारकै नालायकिपन हाे या २४ गतेकाे विध्वंस रच्न जनसमर्थनकाे लागि गराइएको “ग्राण्ड डिजाइनको घुसपैठ” थियो विविध अड्कलबाजीका बाबजुद शंकाको घेराभित्रै सिमित छ । आशा गराैँ, केहि दिनभित्र गाैरी बहादुर कार्की नेतृत्वको छानबिन आयाेगले यथार्थ बाहिर ल्याउनेछ ।

मुख्यकुरा त भाद्र २३ र २४ काे घटनालाई कसरी बुझ्ने भन्नेमा  राजनीतिक दलहरू र सिङ्गो नेपाली समाज विभाजित छ यतिबेला । समाजका हरेक बसाइँ, सामाजिक सञ्जाल, राजनीतिक दलका सभा सम्मेलन देखि मन्त्रिपरिषद्को मिटिङसम्म जेन्जी आन्दोलनको  बारेमा भइरहेकाे आश र त्रासका कुराहरूबाट के निष्कर्ष निकाल्न सकिन्छ भने याे भयभीत आन्दोलनकाे पछाडि निम्न तीन कारण नै प्रमुख हुन् ।

क्षणिक लाभ र हानिमा आफूअनुकुलका व्याख्या गरेर नेपालकाे इतिहासमै सबैभन्दा त्रासदीपूर्ण घटनाकाे रूपमा स्थापित जेन्जी आन्दोलनका बारेमा बन्ने धारणा आग्रह र पुर्वाग्रह प्रेरित अभिव्यक्तिमा बरालिनु र बहकिनु हुँदैन । 

पहिलो, प्राय कसैको ध्यान नपुगेको तर सबैभन्दा महत्त्वपूर्ण कारण विविध कमिकमजोरीका बाबजुद गर्विलो ऐतिहासिक विरासत निर्माण गरिसकेका प्रमुख राजनीतिक दलहरूकाे लक्ट्रिन संगठन संरचना हाे । नेपाली राजनीतिमा युवाहरू भाषणको विषय र विज्ञहरू अनपेड कन्सलट्यान्ट बन्छन तर निर्णय प्रक्रियामा अदृश्य रहन्छन्। दलभित्रको सांगठनिक संरचना पुरानै फर्मामा छ जहाँ युवाहरूको  उर्जा र प्राज्ञहरूकाे क्षमताले हैन नातावाद र कृपावादकाे  योग्यताले जित्छ । अझै साघुँरियर भन्दा आजसम्म स्थापित कुनैपनि दलकाे  संगठन संरचना भित्र विज्ञ र युवाकाे कुनै भुमिका नै रहन्न ।

दोस्रो, आमजनता आफ्नो आधारभुत आवश्यकताको लागि स्वाभिमान बेच्नुपरेको पीडाको प्रतिनिधित्व गर्ने समुहको भावना अहिलेको व्यवस्था र राज्यसंयन्त्रसँग टुटिसकेकाे यथार्थतालाई अवमूल्यन गरिनु थियोे । स्थानीय चुनाव देखि संघीय चुनावसम्म स्पष्ट बुझिने गरि जनताले आफ्नो मत प्रकट गरिसकेका थिए । पुराना दलहरूकाे आचरणसँग जनस्तरबाट टुटेको विश्वास र त्यसबाट उत्पन्न चरम निराशाबाट बनेका राजनीतिक शक्ति र व्यक्ति माथिको निरन्तरकाे पुर्वाग्रहि व्यवहार पनि जेन्जी आन्दोलनको एक प्रमुख वातावरणीय कारण बन्न पुगेको यथार्थ हाे ।

प्रतिक्रियात्मक राजनीतिमार्फत मिडियाबाट भाइरल हुन जति सजिलो छ भाइरल पछिकाे सार्वजनिक व्यक्तित्व जाेगाउन उति नै कठिन छ ।

अझै महत्वपुर्ण र तेस्रो पक्ष चाहिँ के हो भने,संसदमा प्रतिनिधित्व गर्ने पहिलो र दाेस्राे ठूलो दल (काङ्ग्रेस र एमाले ) को सत्ता समीकरण के का लागि थियो ? लाेकतन्त्रमा संसदमा प्रतिनिधित्व गर्ने पहिलो र दाेस्राे ठूलो दल भनेको गभरमेन्ट एण्ड वेटिङ गभरमेन्ट हुन् । कस्तो अवस्थामा यस्तो सत्ता समिकरण सँगै हुन्छन ? भन्ने कुराकाे आधारभूत ज्ञान नहुनु या बलमिच्याइँ पनि हाे । सत्ता समीकरणकाे सात बुँदे सहमतिमा बनेको आ‍ेली नेतृत्व सरकार उक्त सहमति कार्यन्वयन र सुशासनलाई व्यवहारमा देखाएर दलहरूबीचको सहमतिमा संविधान संशोधन गर्नुकाे सट्टा संसदीय अंकगणितकाे आवरणमा अहंकारयुक्त बाेली, पुर्वाग्रहि व्यवहार र कुटनैतिक विफलता /असक्षमतालाई सत्ता समीकरणकाे उपलब्धि मान्ने भ्रम र कांग्रेसको माैनता थियो ।

यतिबेला, सामाजिक सञ्जाल र समाजका अधिकांश बसाइँमा जेन्जी आन्दोलनलाई “आश र त्राश” कै  दृष्टिकोणबाट हेर्ने, बुझ्ने र भाेग्नेहरूकाे आ-आफ्नै व्याख्याले बजार तातिएकाे छ ।  तर, साँचोकुरा के हो भने जेन्जी आन्दोलनलाई ठूलो राजनीतिक परिवर्तन ठानेर आश राख्नेहरू र जेन्जी आन्दोलनकाे नाममा भावनात्मक जनसमर्थन जुटाएर आवेग र उत्तेजनामा  रचिएको विध्वंस हाे अर्थात्  जेन्जी आन्दोलनलाई त्राश मान्ने दुवै तिरका कुरा सन्तुलित र प्रस्ट छैनन् । क्षणिक लाभ र हानिमा आफूअनुकुलका व्याख्या गरेर नेपालकाे इतिहासमै सबैभन्दा त्रासदीपूर्ण घटनाकाे रूपमा स्थापित जेन्जी आन्दोलनका बारेमा बन्ने धारणा आग्रह र पुर्वाग्रह प्रेरित अभिव्यक्तिमा बरालिनु र बहकिनु हुँदैन ।

प्रतिक्रियात्मक राजनीतिको नेतृत्वविहिन र अनियन्त्रित आन्दोलनको क्षणिक माहोलमा बहकियर आन्दोलन पश्चातका बाेली र व्यवहारहरू दलहरूलाई नै निषेध गर्ने हुनुहुँदैन किनभने लाेकतन्त्रमा दलहरूको उदय र पतन लाेकतान्त्रिक विधिबाट मात्रै सम्भव छ । आन्दोलनमा भावना मात्रै पाेखिएर पुग्दैन विश्वसनीयता र वैधता पनि जाेडिनुपर्छ ।

देश बिग्रेको चिन्ताले नेपालकाे राष्ट्रिय झण्डा काँधमा बेरेर निजी लगानीका व्यापारिक महल लुट्ने र जलाउने, पुलिस चाैकि ताेडफाेड गरेर हतियार लुट्ने र जलाउने , सिंहदरबार र सर्वाेच्च अदालत जलाउने जस्ता कुकृत्य जेन्जीले हैन जाे कसैले गरेपनि गलत हाे । आन्दोलनको नाम नै “जेन्जी आन्दोलन” भनेर नामाकरण भइसकेपछि काे हुन् जेन्जी ? काे हाे जेन्जीकाे आधिकारिक प्रतिनिधि समूह ? के थियो जेन्जीका एजेन्डाहरू ? आन्दोलन सकिसकेपछि आफूलाई जेन्जीकाे प्रतिनिधि हुँ भन्नेहरूले आन्दोलनको जिम्मा लिनुपर्छ कि पर्दैन ? जेन्जी आन्दोलनकाे वैधता के हाे ? भनेर प्रश्न गर्नु नाजायज हाेर ? क्षणिक गालीकाे डर र तालिकाे लाेभले हैन, २३ गतेकाे घटनाको र २४ गतेको विध्वंसकाे दाेषिले कुनैपनि हालतमा उन्मुक्ति पाउनुहुँदैन । नेतृत्वविहिन आन्दोलन पश्चात् आफूलाई जेन्जी र जेन्जीका असली अभिभावक दाबी गर्नेहरू चुनावकाे मिति घाेषणा र नयाँ दल दर्ताको माहोलसँगै चुनावी नतिजा आफ्नो ढाेक्सामा पार्न सकिन्छ कि भनेर यतिबेला आफुपनि भ्रमको भुमरीमा परेका छन् र जनतालाई पनि भ्रमको भुमरीमा पार्दै छन् ।

प्रिय जेन्जी भाइबहिनीहरू, सत्ता सुधारको माग राखेर गरिने कुनैपनि शान्तिपूर्ण प्रदर्शन लाेकतन्त्रकै सुन्दर पक्ष हाे । आन्दोलनका नाराहरूमा क्रान्तिको उग्रता मात्रै होइन आन्दोलन पछिका अभिव्यक्तिहरूमा विवेकको गहिराइ पनि हुनुपर्छ । प्रतिक्रियात्मक राजनीतिको नेतृत्वविहिन र अनियन्त्रित आन्दोलनको क्षणिक माहोलमा बहकियर आन्दोलन पश्चातका बाेली र व्यवहारहरू दलहरूलाई नै निषेध गर्ने हुनुहुँदैन किनभने लाेकतन्त्रमा दलहरूको उदय र पतन लाेकतान्त्रिक विधिबाट मात्रै सम्भव छ । आन्दोलनमा भावना मात्रै पाेखिएर पुग्दैन विश्वसनीयता र वैधता पनि जाेडिनुपर्छ । तपाईंहरूले भाद्र २३ गते तीनवटा मागहरू राखेर गर्नुभएको  शान्तिपूर्ण प्रदर्शनको आह्वानमा काठमाडौंका सडकहरूमा देखिएको युवाहरूको स्वस्फूर्त  सहभागीता नाराको नभएर चेतनाको थियोे । सामाजिक सञ्जालमा  फैलिएको आवाजमा सिर्फ असन्तुष्टि होइन, सचेत नागरिकको उपस्थिति थियोे । अझ भन्दा, पुरानो व्यवस्था, पुराना अनुहार र पुराना वचनप्रति थकित मनको नयाँ जागरण थियो । तर, बिडम्बना यतिबेला तपाईंहरूले उठाउनु भएको तीनवटै राजनीतिक मागहरू अलपत्र परिसके र जेन्जी आन्दोलन टुहुराे भइसक्यो ।

हप्तै पिच्छे उदाउने र अस्ताउने फरक जेन्जी समुहले गर्दा आन्दोलनको तीन महिना नपुग्दै जेन्जीहरूलाई समाजले शंकाको नजरबाट मात्रै हेरिरहेको छैन जेन्जीहरू भनेका अराजक, उदण्ड, अनुभवहिन र अल्लारे हुन भन्ने बुझाइ दिनप्रतिदिन समाजमा स्थापित हुँदै छ ।

जेन्जी भाइबहिनीहरू, कम्तिमा तपाईंहरू के भ्रममा नपर्नुहाेस भने भाद्र २३ र २४ काे घटना विकृत नेपाली राजनीतिकाे बर्षाैँदेखिकाे आक्राेस जेन्जी मार्फत प्रस्फुटन भएको हाे अर्थात् जेन्जी (तपाईंहरू) माध्यम हुनुभएको हाे । पत्याउनुहाेस या नपत्याउनुहाेस, एकातर्फ आन्दोलनका बारेमा तपाईंहरूले दाबी गरेजस्तो बुझाइ नेपाली समाजले स्विकारेकाे छैन ।अर्काेतर्फ, तपाईंहरूकाे व्यवहार र दाबीकाे तालमेल पनि मिलेको छैन । हप्तै पिच्छे उदाउने र अस्ताउने फरक जेन्जी समुहले गर्दा आन्दोलनको तीन महिना नपुग्दै जेन्जीहरूलाई समाजले शंकाको नजरबाट मात्रै हेरिरहेको छैन जेन्जीहरू भनेका अराजक, उदण्ड, अनुभवहिन र अल्लारे हुन भन्ने बुझाइ दिनप्रतिदिन समाजमा स्थापित हुँदै छ । सुझबुझ सहित विकृत राजनीति सुधार्छाैँ भनेर अगाडि आउनुभएका जेन्जीका अगुवा र अभियान्ताहरूलाई विनम्र अनुराेध छ राजनीतिको आधारभूत सर्तहरूमा सचेत हुनाेस र सबभन्दा पहिला दुई कदम पछाडि हटेर संगठित हुनाेस । तपाईंहरूले बुझ्नैपर्ने एउटा तथ्य के हाे भने, नेपाली राजनीतिमा नानीमैँया दाहाल तत्कालीन राजनीतिसँगकाे असन्तोष र आक्राेस प्रकट भएको विशिष्ट बिम्ब हाे कतै तपाईंहरूपनि त्यसैगरी मजाककाे पात्र त हुन लागिरहनुभएकाे छैन ? यतिबेला, तपाईंहरूले ख्याल गर्नुपर्ने मुख्य दुईवटा कुरा के छन भने एउटा तपाईंहरू मार्फत पुरै पुस्ता बदनाम हुनबाट जाेगाउनु छ र अर्काे राजनीतिक पृष्ठभूमि बिना अरूकाे स्पाेन्सर, अभियान र तयारीबाट उदाएको नेतृत्व धेरै टाढा जाँदैन । प्रतिक्रियात्मक राजनीतिमार्फत मिडियाबाट भाइरल हुन जति सजिलो छ भाइरल पछिकाे सार्वजनिक व्यक्तित्व जाेगाउन उति नै कठिन छ ।

स्मरण रहाेस, जेन्जी आन्दोलनले नै तत्कालीन प्रधानमन्त्री केपी आ‍ेलीले राजीनामा दिएको साँचो हाे । अब, प्रष्ट हुनुपर्ने के थियोे र हाे भने अन्तरिम सरकार आन्दोलनबाट बनेको हाेकि ? अहिलेकै संविधानबाट ? कुनैपनि आन्दोलन भनाैँ या विद्राेह त्यो संविधान र सरकार अनुकुल भएर हुँदै हुँदैन । अझै साँघुरिएर भन्दा विद्रोह जहिलेपनि संविधानभन्दा माथि हुन्छ । अब, भन्नाेस् यथास्थितिकाे फागुन २१ मै, चुनाव हुँदा के हुन्छ ? चुनाव के का लागि गर्ने हाे ? चुनाव अघि र चुनावले भाद्र २३ र २४ काे आन्दोलनकाे कुन चाहिँ एउटै मात्र माग पूरा गर्छ वा गर्ने ग्यारेन्टी छ ? ल निर्धारित मितिमै चुनाव सम्पन्न भयाे रे आउने संसद कस्तो हुन्छ ? अनुमान लगाउनुभएकाे छ ? त्यसैले, अहिलेका संविधानमा देखिएको सुधार बिना फागुन २१ मा हुने निर्वाचन राजनीतिक समस्याकाे प्राविधिक समाधान मात्रै हाे यसकाे  रटान नै व्यर्थ छ ।

कुरा प्रष्ट छ, फागुन २१ काे चुनावका बारेमा “जनतामा जान डराएको भाष्य स्थापित हुन नदिन” सबैले चुनाव चुनाव भनेपनि गएको निर्वाचनमा हारेका र नयाँ दर्ता भएका दलहरू बाहेक प्रमुख पुराना दलहरूले  अधिवेशनलाई पहिलो प्राथमिकतामा राखेर राष्ट्रिय चुनावलाई दाेस्रै प्राथमिकतामा राखेको आजको यथार्थ हैन र ?  अझै, अर्काेतिर  दुई प्रमुख दलहरू भित्रको आन्तरिक असन्तुष्टि र भद्रगोलबाट सिर्जित  राजनीतिक परिस्थिति र  महाधिवेशनकाे मितिलाई हेर्दा फागुन २१ मा  राजनीतिक र प्राविधिक दुबै हिसाबले चुनाव सम्भव छ र ? यथास्थितिमा सरकारले निर्धारित मितिमै चुनाव गराउन सक्छ र ? उपर्युक्त परिवेश, भाद्र २३ र २४ काे आन्दोलनको  संवेदनशिलतामा अरू त बहकिए बहकिए इतिहास बनाएका दलहरू, तिनका जिम्मेवार नेताहरू र आफूलाई नागरिक अगुवा भन्न रूचाउनेहरू पनि  क्षणिक लाेकप्रियतामा बरालिएकाे र बहकिएकाे देख्दा चाहिँ उदेक/ ताजुब लागेकाे छ ।

सर्वदलीय गाेलमेच सम्मेलन आयोजना गरि माैलिक राजनीतिक सहमति मार्फत सुशीला कार्की नेतृत्वकाे सरकारको मर्यादित बहिर्गमन, फास्ट ट्रयाकबाट संविधान संशोधन, छाेटाे समयकै लागि भएपनि संसद पुनस्थापना, पुनस्थापित संसदबाट सहमति अनुमाेदन, सर्वदलीय वा  सर्वपक्षीय सरकारकाे नेतृत्व र उक्त सरकारले चुनावकाे नयाँ मिति घाेषणा लगायतकाे विषयमा गरिने “प्याकेजकाे सहमति” अहिलेकाे राजनीतिक समस्याको सर्वाेत्तम निकास हो।

सुन्दा अप्रिय लाग्नसक्छ, राजनीतिक “गुरूत्वबिना” का असल व्यक्तिहरूको यो निर्दलिय सरकार अब कमजोर वैधताको अकर्मण्य हुने जोखिम बढ्दै गएको छ। जेन्जी आन्दोलनको जगमा र जेन्जीहरूकै राेजाइमा संविधानको स्पष्ट प्रावधान बिना राष्ट्रपतिमा अन्तर्निहित संवैधानिक अधिकार प्रयोग गरि असहज र अनिश्चितताको परिवेशमा आवश्यकताको सिद्धान्तको व्याख्या गर्दै छ महिनाभित्र अर्को प्रतिनिधि सभाकाे निर्वाचन सम्पन्न गर्नेगरि बनेको  सुशीला कार्की नेतृत्वको अन्तरिम नागरिक सरकार जति धेरै समय रहन्छ त्यति नै राजनीतिमा उदाएको जेन्जि आन्दोलनको वैधता झन खिईंदै / कमजोर हुँदै जानेछ र तत्पश्चातकाे राजनीति फेरिपनि पुराना दलकै नेतृत्वकाे  वरिपरि झन जब्बर भएर घुम्ने निश्चित छ ।

तसर्थ, प्रिय जेन्जी भाइबहिनीहरू विकृत राजनीति सुधार्ने तपाईहरूकाे हुटहुटिप्रति उच्च सम्मान छ । तर, राजनीतिक परिपक्वता र दुरदर्शिताबिहिन तपाईंहरूकाे बाेली र व्यवहारमा नजर एकातिर र निशाना अर्कैतिर भएका तपाईंहरूका राजनीतिक मेन्टरहरूले तपाईंहरूकाे उर्जा र उत्साहलाई अलपत्र पार्दै हुनुहुन्छ । भाद्र २३ र २४ पछिको विकृत राजनीति सुधार्ने अवसर हाे तर यतिबेला भुइँकाे टिप्न खाेज्दा पाेल्टाकाे पनि गुम्ने अवस्थामा पुगेको छ । देश, जनता र लाेकतन्त्रकाे लागि यथास्थितिमा हुने चुनावकाे कुनैपनि अर्थ र आ‍ैचित्य नै छैन । त्यसैले, सर्वदलीय गाेलमेच सम्मेलन आयोजना गरि माैलिक राजनीतिक सहमति मार्फत सुशीला कार्की नेतृत्वकाे सरकारको मर्यादित बहिर्गमन, फास्ट ट्रयाकबाट संविधान संशोधन, छाेटाे समयकै लागि भएपनि संसद पुनस्थापना, पुनस्थापित संसदबाट सहमति अनुमाेदन, सर्वदलीय वा  सर्वपक्षीय सरकारकाे नेतृत्व र उक्त सरकारले चुनावकाे नयाँ मिति घाेषणा लगायतकाे विषयमा गरिने “प्याकेजकाे सहमति” अहिलेकाे राजनीतिक समस्याको सर्वाेत्तम निकास हो।

सबैले आ-आफ्नो ठाउँबाट आग्रह, पुर्वाग्रह, कुण्ठा र निषेधकाे राजनीतिबाट माथि उठेर माैलिक राजनीतिक समाधानको संवाद सुरू नगरे राजनितिक परिदृष्यका सम्भावित भाग “दुई र तीन” का घटना नघट्लान भन्न सकिन्न । र , त्यसपछिको सम्भावित संकटयुक्त राजनीतिक परिस्थिति दलहरूको हातमा पनि नरहने र देशकाे हितमा पनि नहुने निश्चित छ ।

पुनः एकपटक ठण्डा दिमागले साेचाैँ , के जेन्जी आन्दोलन ०८४ काे चुनाव ०८२ सार्न मात्रै थियो र ? के नेपाल र नेपालीको लोकतन्त्रिक अभ्यास स्वतन्त्र र विवेवपूर्ण तवरले मतपत्रमा प्रकट भएको अवस्था हाे र ? चुनावी निष्पक्षताकाे लागि डर, त्रास, दबाब र प्रभावमा परेको लाेकतन्त्रलाई विधि र पद्धतिको फर्माभित्र ल्याउन जरुरी छैन र ? पारदर्शि, जवाफदेहि र नीतिमा आधारित आगामी  सरकारकाे नेतृत्व अहिलेकै चुनावबाट सम्भव छ र ? लगायतका विषयहरूकाे प्रष्टता बिना हतारमा राजनीतिक समस्याको प्राविधिक समाधान खाेजेमा याे क्षणिक समाधान अर्को समस्या बन्ने निश्चित छ । त्यसका लागि सबैले आ-आफ्नो ठाउँबाट आग्रह, पुर्वाग्रह, कुण्ठा र निषेधकाे राजनीतिबाट माथि उठेर माैलिक राजनीतिक समाधानको संवाद सुरू नगरे राजनितिक परिदृष्यका सम्भावित भाग “दुई र तीन” का घटना नघट्लान भन्न सकिन्न । र , त्यसपछिको सम्भावित संकटयुक्त राजनीतिक परिस्थिति दलहरूको हातमा पनि नरहने र देशकाे हितमा पनि नहुने निश्चित छ । समयमै चेतना भया:

(उल्लेखित विचार लेखककाे निजी विचार हुन ।)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी