मलंगवा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज सर्लाही सदरमुकाम मलंगवामा पत्रकार सम्मेलनमा महामन्त्री थापाले महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।
नयाँ नीति, नयाँ सन्देशका साथ उम्मेदवारी दिने थापाले बताए । ‘पार्टीका साथीहरुसंग छलफल गर्दै छु । नयाँ नेतृत्व चयनका लागि चाडै नै देश दौडाहा गर्छु।’ उनले भने,‘फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अघि नै पार्टीको महाधिवेशनमा जानुपर्ने अवस्था छ । बिचको केही समय छलफल र बहसमा खेर गएको छ । समय छोटो छ । चाडैं नै पार्टीको महाधिवेशन सम्पन्न गरेर फागुन २१ को निर्वाचनमा जानु पर्ने अवस्था छ ।’
अर्को प्रसंगमा उनले फागुन २१ गते हुने निर्वाचनमा सबै दल सहभागी हुने विश्वास व्यक्त गरे। संविधानमाथिको क्षति थप बढ्न नदिन फागुन २१ गते निर्वाचन गर्नुपर्ने थापाले बताए । ‘नेपाली कांग्रेसको तर्फबाट फागुन २१ को निर्वाचनप्रति हामी पूर्ण प्रतिबद्ध छौँ,’ महामन्त्री थापाले भने,‘दलहरु तयार भइसकेकाले सरकार पनि सम्पूर्ण संशय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ ।’