१५ मंसिर, काठमाडाैं । नेपाली कांग्रेसले पार्टीकाे १५औं महाधिवेशन आगामी पुसमा गर्ने निर्णय गरेकाे छ ।
साेमबार दिउँसाे ललितपुरकाे सानेपास्थित केन्द्रीय कार्यालयमा बसेकाे केन्द्रीय समिति बैठकले महाधिवेशन पुस २६-२८ मा सम्पन्न गर्ने सर्वसम्मतले निर्णय गरेकाे हाे ।
साे कुराकाे जानकारी पार्टीका प्रवक्ता प्रकाशशरण महतले दिए । महाधिवेशन काठमाडौंमा हुने उनले बताए । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुसमा हुने नियमित महाधिवेशन कार्यतालिका प्रस्तुत गरेका थिए ।
महाधिवेशन मितिबारे विषयमा सहमति जुटाउन गत असोज २८ गतेदेखि केन्द्रीय समिति बैठक बस्दै आइरहेकाे छ । यसबिचमा बैठक पटकपटक स्थगित भएकाे थियाे । बैठकमा नेतृत्व पक्षधरले महाधिवेशन टार्ने कसरत गरेपछि बैठक पटकपटक स्थगित भएकाे थियाे ।
स्थगित हुने क्रम नराेकिएपछि पार्टीका महाधिवेशनका कुल प्रतिनिधिमध्ये ५४ प्रतिशतले गएकाे असाेज २९ मा विशेष महाधिवेशनका लागि हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खडकासमक्ष पेश गरेका थिए । ४० प्रतिशत प्रतिनिधिहरूले लिखित रूपमा माग गरेमा ३ महिनाभित्र विशेष महाधिवेशन गर्नै पर्ने बाध्यता पार्टी विधानमा व्यवस्था छ ।
यसबाट नेतृत्व तह दबाबमा रहँदै आएकाे थियाे । आजकाे बैठकले भने नियमित महाधिवेशन गर्ने निर्णय गरेसँगै पार्टी फुटबाट जाेगिएकाे विश्लेषण भएकाे छ ।
भदाै २४ काे जेन जी आन्दाेलनमा सभापति शेरबहादुर देउवा आन्दाेलनकारीबाट व्यापक कुटिएपछि कार्यवाहक सभापतिकाे उपसभापति पूर्णबहादुर खडकालाई दिइएकाे थियाे । त्यसयता खडकामाथि पार्टीमा निर्णय लिन नसकेकाे आराेप लाग्दै आएकाे छ ।
बैठकपछि प्रवक्ता प्रकाशशरण महतले पत्रकारहरूलाई बैठकका निर्णयबारे जानकारी दिँदै नियमित महाधिवेशनकाे मिति ताेकिएसँगै विशेष महाधिवेशनकाे ओैचित्य समाप्त भएकाे बताए । नियमित महाधिवेशन समयमा भएपनि नभएपनि मितिले विशेष महाधिवेशनलाई खारेज गरिदिएकाे आशय महतकाे थियाे ।
विशेष महाधिवेशन टार्न कसरत गर्ने नेतृत्व तहले नियमित महाधिवेशन गर्नेमा अझै शंका गरिएकाे छ । किनकि आजकै बैठकले पार्टी केन्द्रीय समिति (केस)काे म्याद माघसम्मलाई थप गरेकाे छ । विविध कारण झिकेर ताेकिएकाे महाधिवेशन नगरेमा माघसम्म पुर्याउने र साेही अवधिमा केसकाे अवधि थप एक वर्ष लम्ब्याउने चाल नेतृत्व तहबाट हुने शंका विशेष महाधिवेशन पक्षधरले गरेकाे छ ।
साेही कारण विशेष महाधिवेशन मागकाे वैधता सकिनु अगावै नियमित महाधिवेशन गर्ने मिति तय गरिएकाे ठानिएकाे छ । यदि ताेकिएकाे समयमा नियमित महाधिवेशन नभएमा विशेष महाधिवेशन शुरू हुने नेतृत्व इतर पक्षकाे दाबी छ ।
साेही कारण आज केस बैठक बस्नु पहिले कावा सभापतिसहित २ जना महामन्त्रीसहित पदाधिकारी बसेर नियमित महाधिवेशन तालिकाबारे टुंगाे लगाएकाे थियाे । साेही तालिका केस बैठकमा प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएकाे हाे ।
अब निर्वाचन समिति र क्रियाशिल सदस्य छानबिन समितिगठन गरिनेछ । गठनसँगै महाधिवेशनसम्बन्धी कामकारवाही अगाडि बढ्नेछ ।
यसैबीच विशेष महाधिवेशन पक्षधर भने नियमित महाधिवेशन गराउनेमा नेतृत्वप्रति सशंकित बनेका छन् । विशेषकाे माग गर्ने पक्षका नेतृत्व गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शंका गरेका छन् ।
बैठकपछि पत्रकारहरूसँगकाे कुराकानीमा प्रवक्ता महतप्रति लक्षित गर्दै कसैले पार्टी सभापतिसँग नजिक रहेका र पहुँच चलाउन सक्छु भन्नेहरूले नियमित महाधिवेशनकाे मिति तय भइहाल्याे, त्यसमा नसके विस्तारै गर्दा जाउँला जस्ताे गरेमा पुस २९ पहिल्यै विशेष महाधिवेशन हुने कडा प्रतिक्रिया दिए ।