विदेशबाट फर्केर गाउँमै ‘सस्तोबजार’ सञ्चालन

विदेशबाट फर्केर गाउँमै ‘सस्तोबजार’ सञ्चालन

  • सोमवार, मंसिर १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 38.4K
    SHARES

कञ्चनपुर, १५ मङ्सिरः वैदेशिक रोजगारीमा १६ वर्ष बिताएर स्वदेश फर्किनुभएका यहाँको बेदकोट नगरपालिका–१ सुडाका बसन्तराज भट्टले विदेशमा सिकेका सीप र अनुभवलाई उपयोग गर्दै गाउँमै व्यवसाय सुरु गर्नुभएको छ ।

उहाँले गाउँमै ‘आफ्नो बजार, सस्तोबजार’ नामक किराना तथा दैनिक उपभोग्य सामग्री पसल सञ्चालन गर्न थाल्नुभएको हो । कुवेतमा वर्षौँसम्म पसल तथा आपूर्ति व्यवस्थापनसँग सम्बन्धित काम गर्नुभएका भट्टले त्यही अनुभवलाई आधार बनाउँदै गाउँमै गुणस्तरीय सेवा दिने उद्देश्यले व्यवसाय सुरु गर्नुभएको छ ।

विदेशबाट स्वदेश फर्केर केही उत्पादनमूलक काम गर्ने लक्ष्य रहेको बताउनुहुने उहाँले स्वदेशमै दिगो जीविकाको सम्भावना देखेपछि व्यवसायमा हात हाल्नुभएको बताउनुभयो ।

भट्टले करिब रु १० लाख लगानी गरी घरैमा आधुनिक शैलीको किराना पसल स्थापना गर्नुभएको छ । स्थानीय ग्राहकलाई दैनिक उपभोग्य सामग्रीदेखि तरकारीसम्म एकै स्थानमा सहजै उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्नुभएको हो ।

“कुवेतमा काम गर्दा पसलमा सामान कसरी सजाउने, कसरी मूल्य निर्धारण गर्ने, हिसाब–किताब गर्ने, ग्राहकसँग कसरी व्यवहार गर्ने भन्ने सबै सीप त्यहीँ सिकेँ,” भट्ट भन्नुहुन्छ, “अब त्यही सीप प्रयोग गरी व्यवसाय सुरु गरेको छु ।”

भट्टको पसलले छोटो समयमा स्थानीय ग्राहकको ध्यान तान्न सफल भएको छ । ग्राहकअनुकूल मूल्य, गुणस्तरीय सामान र छरितो सेवा उहाँका प्रमुख आकर्षण बनेका छन् । “थोरै नाफा राखेर सामान बेच्ने गर्छु, ग्राहकको मागका आधारमा आवश्यक वस्तु मात्र राख्छु,” भट्ट भन्नुहुन्छ्, “गुणस्तर राम्रो भएकाले अहिलेसम्म कुनै गुनासो आएको छैन, उल्टै ग्राहकको विश्वास बढ्दै गएको छ ।”

पसलमा तरकारी, फलफुल, ‘ड्राइफ्रुट्स’, मसला, चामल, दाल, चिनी, गेडागुडी, तेल, भान्छाका सामग्री, मिठाइ तथा दैनिक घरायसी सामान उपलब्ध छन् । एउटै छानामुनि आवश्यक वस्तु पाइने भएकाले घरपरिवार, विद्यार्थी तथा कार्यालयका कर्मचारीसम्म भट्टको ‘सस्तोबजार’मा आकर्षित हुने गरेका छन् ।

हाल भट्टको पसलमा दैनिक रु १० हजारदेखि १५ हजार रुपैयाँसम्मको बिक्री हुन्छ । जसबाट रु दुई हजारदेखि तीन हजार बराबरको नाफा आर्जन हुने गरेको उहाँले बताउनुभयो ।

“बढी मार्जिन राखेर सामान बिक्री गरे नाफा बढी हुन्थ्यो”, उहाँले भन्नुभयो, “थोरै मार्जिन राखेर ग्राहकलाई गाउँकै बजारबाट सबै सामान उपलव्ध गराउने सामाजिक सेवा भाव राखेर व्यवसायलाई अगाडि बढाउँदै आएको छु, ग्राहकको माया पाएको छु ।”

विदेशमा पनि उहाँको कमाइ महिनामै रु एक लाखको हाराहारीमा थियो । तर परिवारदेखि टाढा, घरभन्दा धेरै पर रहेकाले अब गाउँमै केही गर्नुपर्छ भन्ने सोचल पसल सुरु गरेको उहाँको भनाइ छ ।

लामो समय विदेशमा बस्दा परिवारजनसँग समय बिताउन नपाउँदा खिन्नता हुने गरेको भट्ट बताउनुहुन्छ । अहिले भने बिहानदेखि बेलुकासम्म आफ्नै पसलमा काम गर्ने, परिवारसँगै बस्ने र गाउँकै मानिससँग घुलमिल हुन पाएकोमा उहाँ खुशी हुनुहुन्छ ।

पसलमा श्रीमती र परिवारका सदस्यले पनि सहयोग गर्दै आएका छन् । “स्वदेशमै बसेर इमान्दारीका साथ व्यापार गर्दा राम्रो कमाइ हुन्छ भन्ने अहिले महसुस भइरहेको छ,” भट्ट भन्नुहुन्छ, “अब बजारलाई अझ विस्तार गर्ने, ग्राहकसेवा सुधार्ने, ग्राहकको अनलाईन अर्डरअनुसार घरमै सामान पुर्याउने र आधुनिक बिलिङ प्रणालीसम्म ल्याउने योजनामा छु ।”

उहाँले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै अवसर खोज्ने युवाका लागि पनि व्यवसायमार्फत प्रेरणा दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी