१२ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकीकरणका लागि आफूहरूको ध्यान एमालेतिर पनि रहेको बताएका छन् ।
नेकपाले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको एकता सन्देश सभामा प्रचण्डले १५ भन्दा बढी वाम घटक गोलबद्ध भएर नेपाली कम्युनिस्ट गठन भएको बताउँदै प्रचण्डले एमालेतिर पनि ध्यान रहेको बताए ।
उनले भने, ‘यत्ति भयो पुग्यो भन्नेमा हामी छैनौं, हामी अझै पनि वृहत् वामन्थी एकता हुनुपर्दछ र यो राष्ट्रको रक्षाको निम्ती, जनताको आकांक्षा र आवश्यकता परिपूर्तिको निम्ती हामीले अन्य वामपन्थी शक्तिहरूसँग पनि, हाम्रो ध्यान एमालेतिर पनि त्यत्तिकै छ, एमालेभित्रका सबै देशभक्त, सबै वामपन्थी क्रान्तिकारीहरू पनि यही नेपाली कम्युनिस्ट पार्टीमै नै केन्द्रित हुनुपर्दछ भन्ने हाम्रो जोड छ ।’
धनगढीको एकता सन्देश सभामा एमालेबाट नेकपामा प्रवेश गरेकालाई धन्यवाद दिँदै प्रचण्डले एमालेभित्र रहेका सबै देशभक्त, वामपन्थी नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा आउन आह्वान गरे ।
‘हामीले नेपाली कम्युनिस्ट पार्टी भन्ने नाम त्यत्तिकै राखेका होइनौं, सबैलाई अट्न सक्ने, सबैको अधिकार, सबैको क्षमता प्रयोग हुनसक्ने नेपाली कम्युनिस्ट, सबै अट्न सक्छ, अब यहाँ माओवादी छैन, कोही समाजवादी छैन, कोही के केन्द्र छैन, कोही अर्को छैन सबै नेपाली कम्युनिस्ट, त्यसकारण अब पुच्छर झुण्डाइराख्न पर्ने आवश्यकता छैन, हामी सबै नेपाली कम्युनिस्ट,’ उनले भने ।
प्रचण्डले आफ्ना छोराछोरी र नाति नातिनासँग सबैले घर घरमा अन्तरंग छलफल गर्नु पर्ने र देशको ईतिहासको बारेमा सम्झाउनु पर्ने बताए ।
उनले सुदुरपश्चिमबाट थालिएको एकता सन्देश सभाले नयाँ उर्जा पैदा गर्ने विस्वास व्यक्त गरे ।