निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

  • शुक्रबार, मंसिर १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौँ, १२ मङ्सिरः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी (अस्थायी) प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् । यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई सङ्ख्या बढेकाले एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरी बढाउनुपर्ने आवश्यकता देखिएपछि सम्बद्ध निकाय तयारीमा जुटेका हुन् ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गर्ने बताउनुभयो । नयाँ मतदाताको सङ्ख्यालाई आकलन गरेर म्यादी प्रहरीको सङ्ख्या बढ्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी अतिरिक्त महानिरीक्षक अबिनारायण काफ्लेले निर्वाचन आयोगले मतदान केन्द्र यकिन गरेपछि सुरक्षा संवेदनशीलताका आधारमा शीघ्र जिल्ला सुरक्षा समितिमार्फत म्यादी प्रहरीको भर्ना प्रक्रिया प्रारम्भ हुने जनाउनुभयो । उहाँले एकीकृत सुरक्षा योजना तथा म्यादी प्रहरी छनोटको मापदण्ड प्रदेश र जिल्लास्तरसम्म पुगेकाले थप हुने मतदान केन्द्रका आधारमा जनशक्ति स्पष्ट हुने बताउनुभयो ।

निर्वाचनका क्रममा कूल ४० दिन खटिने म्यादी प्रहरीले प्रहरी जवानले पाउनेसरह आधारभूत तलब, लत्ताकपडा, यातायात खर्चलगायत सुविधा पाउनेछन् । निर्वाचनका लागि नेपाल प्रहरीले ७१ हजारभन्दा बढी प्रहरी खटाउने तयारी गरेको प्रहरीका केन्द्रीय प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।

केन्द्रीय सुरक्षा समितिले निर्वाचनभन्दा पूर्व, निर्वाचनको अवधि र निर्वाचनपछि गरी तीन चरणको सुरक्षा योजना बनाएको छ । निर्वाचनका लागि सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिबाट बिहीबार नेपाली सेना परिचालनको स्वीकृति भइसकेको छ । निर्वाचनको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा सेना रहनेछन् भने म्यादी प्रहरीले नेपाल प्रहरीलाई सघाउनेछन् ।

यही मङ्सिर ५ गते सम्पन्न भएको मतदाता नामावली सङ्कलन कार्यमा फोटो तथा औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स)मार्फत तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार १८० नयाँ मतदाता थपिएका छन् । गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नयाँ मतदाता मतदान नामावलीमा दर्ता भएसँगै कूल मतदाता एक करोड ८१ लाख ६८ हजार २३ पुगेको छ ।

आयोगले विवरणमा त्रुटि सच्याउन वा उजुरी दिन सकिने समय दिएपछि अन्तिम मतदाता नामावली सार्वजनिक गर्नेछ । विसं २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए । त्यसबेला १० हजार ८९२ मतदान स्थलमा २२ हजार २२७ मतदान केन्द्र तथा १४१ अस्थायी मतदान केन्द्र तोकिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ